+
+

प्रधानमन्त्री देउवा र केयूका ग्रीन हाइड्रोजन विज्ञहरूबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १२:०८

२३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं विश्वविद्यालय (केयू) को ग्रीन हाइड्रोजन विज्ञ टोलीबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री देउवा र विज्ञ टोलीबीच छलफल भएको हो । छलफलमा विज्ञ टोलीकातर्फबाट ग्रीन हाइड्रोजन उत्पादनमा हालसम्म नेपालले हासिल गरेको उपलब्धिबारे प्राध्यापक डाक्टर विराज सिं थापाले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाले विज्ञ टोलीलाई नेपालमा हाइड्रोजनबाट मल कारखाना खोल्न सकिन्छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा डाक्टर थापाले ग्रीन हाइड्रोजनबाट नेपाल सरकारले आफ्नै रसायनिक मल कारखाना खोल्न सक्ने र त्यसको प्राविधिक पक्ष थप सबल हुँदै गइरहेको बताएका थिए ।

काठमाडौं विश्विवद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामाले संघीय सरकारको ऊर्जा, अर्थ, कृषिमन्त्री र बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीसंग ग्रीन हाइड्रोजन, एमोनिया उत्पादन र मल कारखाना खोल्नका लागि भइरहेको कामको जानकारी गराउँदै नेपालमै रसायनिक मल कारखाना खोल्ने विषयलाई गम्भीरता पूर्वक लिएर आवश्यक समन्वय र सहकार्य गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

विज्ञ टोलीले ग्रीन हाइड्रोजनको क्षेत्रमा काम गरिरहेकाको हौसलाका लागि हाइड्रोजनबाट चल्ने सवारीसाधन प्रयोग गर्न समेत प्रधानमन्त्री देउवालाई सुझाव दिएको छ ।

हालसम्म काठमाण्डौ विश्वविद्यालयले गरेको अध्ययन र खोजबाट ग्रीन हाइड्रोजनको प्रयोग गरेर मल कारखाना खोल्न सकिने कुरा राख्दै सम्बन्धी मन्त्रालय, विभाग र सरोकारवाला पक्षलाई आवश्यक हाइड्रोजन उत्पादनसँग सम्बन्धित नीति, नियम र कानुन निर्माणका लागि निर्देशन दिन विज्ञ टोलीले विशेष आग्रह गरेको छ ।

नेपालको बिजुली र पानीको प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्ने, हाइड्रोजनबाट उत्पादन हुने एमोनिया अन्तर्राष्ट्रिय स्तरमा निर्यात गरेर नेपालको अर्थतन्त्र बजबुद बनाउन सकिने कुरामा प्रधानमन्त्री देउवालाई विज्ञ टोलीले सुझाव दिएको छ ।

साथै नेपालमा फलामको प्रशोधन गर्नका लागि कोइलाबाट नभइ हाइड्रोजनको प्रयोग गरेर प्रशोधन गर्नुपर्नेमा समेत विज्ञ टोलीले जोड दिएको छ ।

छलफलमा सहभागी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विज्ञको कुरा सुनेर अघि बढ्नुपर्ने बताए । उनले बढ्दो वातावरणीय प्रदूषण रोक्न पनि ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोगमा मुलुकले ठोस योजना, नीति र कानुन बनाएर अघि बढ्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

छलफलमा कांग्रेसका नेता सिंह, केयूका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राध्यापक डाक्टर विराज सिं थापा, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र वातावरण इन्जिनियर लक्ष्मण लामा सहभागी थिए ।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले ग्रीन हाइड्रोजनको उत्पादन र उपयोगितामा नेपाल सरकारले आवश्यक नीति, कानुन बनाएर यथाशीघ्र कार्यान्वयनमा जाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?