+
+
टिप्पणी :

‘लुट’ रिलिजको दश वर्ष पूरा : ‘संकटकाल’लाई अर्थहीन बनाइदिने त्यो फिल्म

विष्णु शर्मा विष्णु शर्मा
२०७९ साउन २३ गते १२:५७

काठमाडौं । २७ पुस, २०६८ । नेपाली फिल्म क्यालेन्डरमा यो मिति ऐतिहासिक तथ्यको रुपमा स्मरणीय हुनेछ । यो बिन्दुदेखि घरेलु फिल्मको आवरण र आत्मामा अभूतपूर्व ‘क्रान्ति’ नै आयो ।

त्यसबेला ‘लुट’ फिल्म प्रदर्शन मात्र भएन, यसले एकैसाथ नेपाली फिल्मको हार्डवेयर र सफ्टवेयरमा सुनामी ल्यायो । ‘ट्रेन्डसेटर’ फिल्मको रुपमा ‘लुट’ले थालेको पदचाप मेटिएको छैन, बरु दशक बित्दा समेत अरु गाढा बन्दैछ ।

समग्रमा बितेको दशक ‘लुट’ र ‘कबड्डी’को दशक रह्यो । ‘लुट’ले फिल्मको व्याकरणमा परिवर्तन ल्यायो, ‘कबड्डी’ सिरिजले भने सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान ।

‘लुट’ले के मात्र गरेन ? ५० वर्षे नेपाली फिल्मको इतिहासमा पटकथा, अभिनय, क्यामेरा, सम्पादन, बजार र मनोविज्ञानमा बदलाव ल्यायो ।  धन्यवाद- माधव वाग्ले, नरेन्द्र महर्जन, निश्चल बस्नेत, दयाहाङ राई र सौगात मल्लको टिमअपलाई !

जतिबेला लुट रिलिज भएको थियो । उतिबेला समीक्षक मनोज पण्डितले दुई सिरिजमा ‘लुट’को समीक्षा गरेका थिए । उनी लिखित ‘लुट’ समीक्षाको हेडलाइन थियो- लुटले लुट्छ । पण्डितको तर्क थियो- लुटले नेपाली फिल्मको परम्परागत न्यारेसन शैलीलाई परिवर्तन मात्र गरेन विषयवस्तु र कथ्य संरचनामा नयाँपन ल्यायो । रिलिजको ठीक १० वर्षपछि पुनः ‘लुट’को उपलब्धिलाई एकपटक सिंहावलोकन गर्नु सान्दर्भिक हुन आउँछ । सान्दर्भिक यस अर्थमा कि, चलचित्र विकास बोर्डले नेपाली फिल्ममा संकटकाल लगाउने गरिरहँदा ‘लुट’ले त्यसलाई अर्थहीन तुल्याइदिएको थियो ।

नेपाली सौन्दर्यको परिभाषामा नपर्ने चिम्सा आँखा फिल्ममा नायक बने । हाकु काले बनेका सौगात मल्ल, दयाहाङ राईको पेट तथा काठमाडौंको गल्ली निकै हिट रहे । लुट फिल्मकै बिन्दुबाट काठमाडौंको चोभारले आकर्षण गुमाउन थाल्यो । बरु पाटन र बागबजारका गल्लीले आकर्षण गर्न थाले ।

भर्चुअल्ली नै सही, यतिबेला पनि नेपाली बक्स अफिसमा संकटकै स्थिति छ । अब कुन फिल्म ‘लुट’ बनेर नेपाली फिल्मलाई संकटबाट उद्धार गर्छ, त्यो प्रतीक्षाको विषय हो । यतिबेला त संकट अझै सघन छ किनभने नेपाली फिल्मको चुनौती अब व्याकरण मात्र रहेन, यसमा विदेशी फिल्मको दबदबा थपिएको छ ।

२०६८ सालमा ‘लुट’ रिलिज हुने समय नेपालमा मल्टिप्लेक्स हलमा सिभिल र बिग मुभिज मात्र थिए । त्यसअघि सिंगल थिएटरकै जगजगी थियो । जसै लुट रिलिज भयो, मल्टिप्लेक्स व्यापारमा उछाल आयो ।

सिंगल पर्दामा समेत ‘लुट’ हिट भयो । दर्शकलाई यसरी हलमा तान्यो कि जो प्रायः हलमा जान आनकानी गर्थे या नेपाली फिल्मप्रति रुचि राख्ने थिएनन् । ‘लुट’ कालखण्डपछि नै नेपालमा मल्टिप्लेक्स हल धमाधम खुल्न थाले । फिल्म संस्कृति र मल्टिप्लेक्स कल्चर स्थापना गर्न लुटको योगदान छ । ‘लुट’अघि फिल्म समीक्षकको एउटै आलोचना हुने गर्थ्यो- फिल्मले समाजलाई कहिल्यै पनि स्वीकार गरेन । फिल्मलाई कहिल्यै साहित्यिक उत्पादनको रुपमा लिइएन ।

फिल्मलाई बौद्धिक उत्पादन ठानिएन र नेपाली फिल्मले दृश्यभाषालाई पूर्णतः बेवास्ता गर्‍यो । तर लुटले यी सबै कुरालाई आत्मसात गरेको भन्दै समीक्षकले स्वागत गरे । वास्तवमा लुट द्वन्द्व, कथ्य संरचना, संवाद, चरित्र चित्रण र सन्देशको हिसाबले निकै अब्बल फिल्म हो ।

नेपाली सौन्दर्यको परिभाषामा नपर्ने चिम्सा आँखा फिल्ममा नायक बने । हाकु काले बनेका सौगात मल्ल, दयाहाङ राईको पेट तथा काठमाडौंको गल्ली निकै हिट रहे । लुट फिल्मकै बिन्दुबाट काठमाडौंको चोभारले आकर्षण गुमाउन थाल्यो । बरु पाटन र बागबजारका गल्लीले आकर्षण गर्न थाले । पुरुषोत्तम प्रधान एकाएक ‘टेक्निकल हिरो’ बने । नेपाली नाट्य जगतले यही बिन्दुबाट नेपाली सिनेम्याटिक परम्परामा जगजगी बसालेको हो ।

लुट यस्तो फिल्म थियो जसले विदेशी बजार खोजीको थालनी गर्‍यो । विदेशी बजारमा सर्वाधिक कमाउने पहिलो फिल्म थियो यो । यही पाइला पछ्याउँदै जात्रा, छक्कापञ्जा र कबड्डीले उधुम कमाइ गरे । स्वदेशमा ४ करोडभन्दा बढी ग्रस कमाएको ठानिएको फिल्मलाई निर्माताले निश्चित देशहरुमा ओभरसिज राइट बिक्री गरेका थिए ।

त्यतिबेलाको चार करोड वर्तमान मुद्रा स्फितिको हिसाबमा अहिलेको १५ करोड रुपैयाँ हो । अस्ट्रेलिया, युरोप र अमेरिकी बजारमा ‘लुट’ले तहल्का मच्चायो । त्यसपछि मात्र चपली हाइट लगायतका अन्य फिल्मले ओभरसिज राइटको खोजी थाले । नेपाली फिल्मको इतिहासमा लुटको जस्तो विदेश डिमान्ड अरु फिल्मको भएको थिएन ।

तर लुटको दोस्रो सिक्वेलको भने उतिसारो चर्चा भएन । समीक्षकले अघिल्लो भागजस्तो सौन्दर्य यसमा निहित नभएको भन्दै आलोचना गरे । ओपनिङ भव्य भए पनि दोस्रो सिक्वेल लामो समयसम्म हलमा चलेन ।

यही फिल्मबाट माधव र नरेन्द्र निर्माताको रुपमा स्थापित भए । निश्चल बस्नेत ब्रान्डको रुपमा दरिए । तर पछिल्लो समय कतिपयले उनको कामप्रति असन्तुष्टि जनाइरहेका छन् । ‘लुट’ फिल्म रिलिजको १० वर्षपछि पनि यसले जुन सापेक्षतामा उपलब्धि हासिल गरेको थियो, त्यो यतिबेलाको नेपाली फिल्मलाई अर्थपूर्ण हुनसक्छ ।

समीक्षक यज्ञश भन्छन्, लुटको स्क्रिप्ट ‘वेल-इन्टरटेनिङ’ थियो । मूलधारको फिल्म भए पनि यसले दर्शकलाई इन्गेज गरायो र मनोरञ्जन दियो । एक्टिङदेखि खिचाइसम्म विषयवस्तुलाई ह्यान्डल गर्ने खालको फिल्म थियो । यो दशक लुट र कबड्डीकै दशकको रुपमा मानिन्छ ।’

संकट र अवसरको बीचमा अघि बढिरहेको नेपाली फिल्मले ‘लुट’ रिलिजको १० वर्षपछि पनि अब नयाँ दशकलाई कसरी अघि बढाउला ? दशकपछि अहिले आएर भन्न सकिन्छ- लुट फिल्म मात्र थिएन, एउटा सिनेम्याटिक आन्दोलन थियो ।

संकट झन् सघन

‘लुट’ रिलिजको बेला परम्परागत कथावस्तु र मनोविज्ञानमा आधारित फिल्म हलमा चलेनन् । सयवटा फिल्म रिलिज हुँदा एउटा मात्र हिट हुने विडम्बना थियो । तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी संकटकाल लगाएरै अब फिल्म क्षेत्रलाई अघि बढाउने योजना बुन्दै थिए । लुट रिलिजको पूर्वसन्ध्यासम्म फिल्म चल्छ वा चल्दैन भन्ने कुरामा स्वयं निर्माता वाग्ले ढुक्क थिएनन् ।

लुट रिलिजको एक दिनअघि निर्माता वाग्ले कालोपुलस्थित तत्कालीन हिरारत्न हलमा नयाँ फिल्म ‘मिसन पैसा रिलोेडेड’को छायांकन गर्दै थिए । जसै लुट रिलिज भयो, विस्फोटक भयो । यसले इतिहास रच्यो । तर त्यसपछि जति फिल्म बने ती सबै ‘लुट’ शैलीका थिए । त्यसपछि बन्ने फिल्मले लुटको आवरणलाई त पछ्याए, तर आत्मालाई पछ्याउन सकेनन् अनि सुरु भयो पुनः फ्लप हुने सिलसिला । त्यसपछि छक्कापञ्जा र कबड्डी सिरिजले उद्योगलाई संकटबाट उद्धार गरे ।

जुन सापेक्षतामा ‘लुट’ रिलिज भयो, यतिबेलाको सापेक्षतामा संकटको आयतन निकै फराकिलो र सघन छ । त्यतिबेला घरेलु फिल्मको मौलिक सिनेम्याटिक पहिचान र दृश्यभाषाको बहस उत्कर्षमा थियो । यतिबेला चुनौतीको आकार अब त्यो मात्र रहेन, चुनौतीको आयाम चौतर्फी छ । यो बिन्दुसम्म आइपुग्दा विदेशी फिल्मको प्रभुत्व, फिल्म निर्माण महंगो बन्दै जानु, दर्शकको बदलिंदो रुचि, ओटीटी प्लेटफर्मजस्ता चुनौती थपिएका छन् ।

घरेलु फिल्मले के चुनौतीको वैतरणी नदी पार गर्ला ? अभूतपूर्व संकटको बीचमा अध्यक्ष बनेका भुवन केसीले लिने केही नीतिगत सवालमा नेपाली फिल्मको निकट भविष्य निहित रहनेछ । कुरा चुनौतीको मात्र हैन, लुट रिलिजपछिको १० वर्षमा केही सकारात्मक पहल पनि भएका छन् ।

लुटले खनेको बक्स अफिसको गोरेटो अब विश्वभर पुगेको छ । एकैदिन फिल्म संसारभर रिलिज हुने अवस्था बनेको छ । बक्स अफिसको आकार ५ करोडबाट सुरु भएर ५० करोड रुपैयाँसम्म पुग्ने स्थिति निर्माण भएको छ । फिल्मलाई गम्भीर विधा र व्यवसायको रुपमा लिने ट्रेन्ड सुरु भएको छ । यी अवसरले नेपाली फिल्मको भविष्य उज्वल हुनसक्छ ।

संकट र अवसरको बीचमा अघि बढिरहेको नेपाली फिल्मले ‘लुट’ रिलिजको १० वर्षपछि पनि अब नयाँ दशकलाई कसरी अघि बढाउला ? दशकपछि अहिले आएर भन्न सकिन्छ- लुट फिल्म मात्र थिएन, एउटा सिनेम्याटिक आन्दोलन थियो । के नेपाली फिल्म अर्को ‘लुट’ जन्माउन तयार छ ?

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?