+
+

आरजू म्याडमको हाईहुकुम

हुन त ‘फर्स्ट लेडी’ अर्थात् मुलुकको कार्यकारीकी पत्नीका रूपमा उनका निश्चित भूमिका र योगदान नहुने होइन । तर, उनी प्रधानमन्त्री पत्नीका रूपमा राज्य सञ्चालन र पार्टीको निर्णय प्रक्रियामा हावी भएको घटनाक्रमले देखाउँछ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ साउन २४ गते २०:०४

२४ साउन, काठमाडौं । नेपाली कांग्रेसमा शक्तिशाली नेताको सहारा लिएर आफ्नो राजनीति अगाडि बढाउन खोज्नेहरू पछिल्लो समय कमजोर हुँदै गएका छन् । बीपी कोइराला पुत्र शशांक, गिरिजाप्रसाद कोइराला पुत्री सुजाता, गणेशमान सिंह पुत्र प्रकाशमान, प्रकाशमान पत्नी सिर्जना– यस्ता उदाहरण धेरै छन् ।

हालका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणा भने यसमा अपवाद बन्ने कोसिसमा छिन् । सरकारका तौरतरिका नियालेर हेर्दा उनको हालीमुहाली प्रष्टै बढेको देखिन्छ ।

हुन त ‘फर्स्ट लेडी’ अर्थात् मुलुकको कार्यकारीकी पत्नीका रूपमा उनका निश्चित भूमिका र योगदान नहुने होइन । अझ उनी आफैं संविधानसभामा रहिसकेकी, पढे–लेखेकी अभियन्ता भएकोले आफ्ना सोच र सक्रियताबाट प्रभाव पार्नु स्वाभाविकै हो ।

तर, उनी प्रधानमन्त्री पत्नीका रूपमा राज्य सञ्चालन र पार्टीको निर्णय प्रक्रियामा हावी भएको घटनाक्रमले देखाउँछ ।

‘सरकार र पार्टीमा आरजूको नाजायज प्रभुत्व विरुद्ध बोल्न सक्ने अवस्था छैन’ कांग्रेसका एक नेता दिक्क मान्दै भन्छन्, ‘राजा वीरेन्द्रका पालामा रानी ऐश्वर्यको जस्तो अहिले आरजूको डर छ । उनले सरकार र पार्टीभित्र आफ्नो नेटवर्क झन् झन् बलियो बनाउँदै लगेकी छन् ।’

देउवाले १० साउन २०७८ मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका उमेश श्रेष्ठ पनि आरजू निकट हुन् । श्रेष्ठ राज्यमन्त्री भएका बेला मन्त्रालय मातहतमा भएको सरुवा–बढुवामा आरजू नै हावी भएकी थिइन् ।

आरजूलाई सरकार र पार्टीमा प्रभाव बढाउन कांग्रेस निकट उद्योगपति, ठेकेदार र व्यापारीले दह्रो साथ दिएको बताउँदै ती नेता भन्छन्, ‘त्यसैले, आर्थिक पाटोमा उनको खास चासो देखिन्छ ।’ उनका अनुसार, उद्योगपति विनोद चौधरी र अनिल रुँगटा तथा राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेसको वागमती प्रदेश सभापति इन्द्र बानियाँ, संखुवासभा जिल्ला सभापति व्यवसायी दीपक खड्का आरजूका ‘खास उत्प्रेरक’ हुन् ।

देउवा प्रधानमन्त्री भएको केही दिनमै आरजूले प्रशासनिक संयन्त्रलाई ‘कन्ट्रोल’ गरेको कांग्रेसका अर्का एक नेता बताउँछन् । ‘उनले सुरुमै कर्मचारी संयन्त्रलाई बालुवाटारको हर्ताकर्ता म हो भन्ने सन्देश प्रवाह गरिन्’ उनी भन्छन्, ‘त्यसको सुरुवात योजना आयोगबाट भयो ।’

देउवाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउन भनेर अमेरिकामा रहेका डा. शंकर शर्मालाई बोलाएका थिए । तर आरजूको जोडबलमा डा. विश्व पौडेल भए । काठमाडौं विश्वविद्यालयमा अध्यापन गर्दै आएका डा. पौडेल कांग्रेसकै छनोटमा पनि योजना आयोगको उपाध्यक्ष बन्न सक्ने क्षमतावान अर्थशास्त्री हुन् । तर उनी आइदिए, पछिल्लो ढोकाबाट । आरजू युलेन्स स्कुलकी अध्यक्ष र डा. पौडेल बोर्ड सदस्य हुन् । त्यही गठजोडमा विश्वले नियुक्ति पाए ।

उपाध्यक्ष विश्व पौडेल निकटवर्तीहरु भने उनी प्रधानमन्त्री देउवाको पनि रोजाइ भएको बताउँछन् । प्रधानमन्त्री भएको दुई दिनमै देउवाले फोन गरेर योजना आयोगको उपाध्यक्ष बनाउने वचन दिएको भन्दै पौडेल निकट स्रोत भन्छ, ‘प्रधानमन्त्रीले अरुको कुरा सुन्नुहुन्छ, तर, निर्णय आफैं गर्नुहुन्छ । आरजुले दबाव दिएर विश्वजी योजना आयोगको उपाध्यक्ष बनेकै होइन ।’

प्रधानमन्त्री देउवाले डा. शंकर शर्मालाई योजना आयोगको उपाध्यक्ष बनाउन नसकेपछि राजदूत बनाएर भारत पठाएका छन् । राजदूत नियुक्तिमा पनि आरजू नै हावी भइन् । अमेरिकाका लागि नेपाली राजदूत बनेका श्रीधर खत्री र जापानका लागि नियुक्ति पाएका दुर्गाबहादुर सुवेदी उनकै रोजाइ हुन् । एक नेता भन्छन्, ‘उनीहरूको क्षमतामाथि प्रश्न हैन, तर जुन ढंगले काम भइरहेको छ, त्यसले कुनै थितिको संकेत गर्दैन ।’

देउवाले १० साउन २०७८ मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका उमेश श्रेष्ठ पनि आरजू निकट हुन् । श्रेष्ठ राज्यमन्त्री भएका बेला मन्त्रालय मातहतमा भएको सरुवा–बढुवामा आरजू नै हावी भएकी थिइन् ।

सत्तारुढ दलहरू बीचको भागबन्डामा स्वास्थ्य मन्त्रालय नेकपा (एकीकृत समाजवादी)को भागमा परेपछि देउवाले राज्यमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिए ।

यसपछि आरजूले कांग्रेसबाट मन्त्री भएकाहरूको मन्त्रालय मातहतका सरुवा–बढुवामा चासो राख्न थालिन् । ‘आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडल, नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडल, नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी त्यसका प्रमाण हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा रहेका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतमा पनि आरजूको सक्रियता बढ्दो छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशकले सामान्यतः आफ्नो कामकारबाहीको नियमित ब्रिफिङ मुख्यसचिवलाई गर्छन् । ‘प्रधानमन्त्रीबाट कहिलेकाहीं मात्रै बोलावट हुने चलन छ’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘तर अचेल महानिर्देशकको दौडधुप मुख्य सचिवकहाँ भन्दा आरजू म्याडमकहाँ बढी हुन्छ ।’

राजस्वमा परेका उजुरी र मुद्दा–मामिलामा आरजूका साथै भाइ भूषण राणाको समेत रुचि रहने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार, एउटा बहुराष्ट्रिय कम्पनी विरुद्धको अनुसन्धानमा प्रधानमन्त्री पत्नी आरजूले हस्तक्षेप नै गर्न खोजेकी थिइन् । यद्यपि आफूहरूले त्यसलाई अस्वीकार गरेको राजस्व अनुसन्धान विभागका एक अधिकारी बताउँछन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि आरजूको हस्तक्षेपले केही मुद्दा अघि बढ्न नसकेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘अमेरिकाबाट अवैध रकम भित्र्याएका पृथ्वीबहादुर शाहको फाइल त्यसमध्ये एउटा हो ।’

राष्ट्रिय अनुसन्धान विभागमा अवकाश पाउन ६ दिन बाँकी रहेका कुलदेव थापा आरजूकै जोडबलमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरहको पदमा ३१ असारमा बढुवा भएका उनले जिम्मेवारी सम्हाल्न पाएनन्, राज्यलाई व्ययभार मात्र थपेर ५ साउनमा विदा भए ।

विदेश मामिला पनि हावी

देउवा सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्का हुन्, तर विशेषतः अमेरिका र भारतसँगको सम्बन्धमा प्रधानमन्त्री पत्नी आरजू हावी भएको देखिन्छ ।

नेपालले नयाँ नक्सा जारी गरेपछि असन्तुष्ट भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध सुधारका लागि आरजू आफैं अघि सरिन् । गत वर्षको जनैपूर्णिमामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई राखी बाँधिदिएकी उनको दिल्ली दौड त्यसयता निकै बढेको छ ।

प्रधानमन्त्री पत्नीले परराष्ट्रमन्त्रीलाई ‘वाइपास’ गरेको, प्रोटोकल ख्याल नगरेको भनेर कांग्रेसभित्रै असन्तुष्टि छ । ‘उनी न प्रधानमन्त्री हुन् न त मन्त्री’ एक नेता भन्छन्, ‘यसरी आफूखुसी भारतीयहरूलाई भेट्दै हिंड्दा नेपालको प्रतिष्ठामा लाभ भइरहेको छ कि हानि ?’

‘मलाई त त्यस्तो लाग्दैन’

२०७८ मंसिरमा सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन्, आरजू । यस हिसाबले हेर्दा पार्टी राजनीतिमा उनको सुरुवात मात्र हो ।

तर उनी महाधिवेशनमा संस्थापन प्यानलबाट उम्मेदवार छनोटमै हावी थिइन् । ‘हाम्रो प्यानलबाट तपाइँ केन्द्रीय सदस्य बन्दै हुनुहुन्छ, तयारी गर्नुस् भनेर फोन, म्यासेज पठाउने आरजू म्याडम नै थिइन्’ कांग्रेस एक नेता भन्छन्, ‘उनैको माध्यमबाट धेरै जना उम्मेदवार बनेर जिते पनि ।’

आरजूलाई भावी प्रधानमन्त्री भनेर चर्चा गर्ने कांग्रेस नेताहरूले उनलाई पार्टीको ‘भावी महामन्त्री’का रूपमा समेत प्रस्तुत गर्न थालेका छन् । त्यसका लागि आरजूले धमाधम आधार बनाउँदै लगेको उनीहरू बताउँछन् ।

कांग्रेसको १४८ सदस्यीय केन्द्रीय समितिमा संस्थापन पक्षका ८२ प्रतिशत छन् । केन्द्रीय सदस्य संख्या बढाइएकाले नयाँ धेरै अनुहारले अवसर पाए । संस्थापन समूहबाट आएका अधिकांश नयाँ अनुहार आरजू निकटका छन् । ‘उनीहरू आरजू म्याडमले बस् भने बस्ने र उठ् भने उठ्ने खालका छन्’ एक नेता भन्छन्, ‘अहिले त कांग्रेसमा को ठीक भनेर भोट हाल्ने हो भने आरजूकै मत बढी आउन बेर छैन ।’

केन्द्रीय सदस्य राजीव ढुंगाना भने आरजूका विषयमा नचाहिंदो हौवा पिटिएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘उहाँले कसैलाई भेट्दा पनि पार्टी र सरकारसँग जोडेर हेर्नु भनेको त विरोधका लागि विरोध मात्र हो ।’

अर्का केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन्, ‘हल्ला त धेरै चलाउँछन्, तर प्रधानमन्त्रीले पत्नीको सबै कुरा सुनेर निर्णय गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।’

प्रधानमन्त्री र महामन्त्रीको चर्चा

कतिपय कांग्रेस नेताले केन्द्रीय सदस्य आरजू राणा देउवालाई ‘भावी प्रधानमन्त्री’ भन्न थालेका छन् । ४ मंसिरको चुनावपछि कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्रीमा सहमति भए आरजूको पालो आउने उनीहरू बताउँछन् ।

१९ साउनको एक सार्वजनिक कार्यक्रममा केन्द्रीय सदस्य मीन विश्वकर्माले भनेका थिए, ‘आरजू उदीयमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने हुन्छ र ?’

प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्य हुनुपर्छ । आरजू २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नेकपाका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ र आरजूले २२ हजार ३२२ मत पाएका थिए ।

यो पटक आरजू कहाँबाट चुनाव लड्छिन् भन्ने प्रष्ट भइसकेको छैन । कैलाली ५ को ‘डोटेली फ्याक्टर’ अहिले पनि उनका लागि प्रतिकूल नै रहेको कैलाली कांग्रेसका एक नेता बताउँछन् । कैलाली ५ मा डोटेली समुदायको अगुवाई पुष्करनाथ ओझाले गरेका छन्, जसलाई गत निर्वाचनमा आफ्नै पार्टीलार्ई हराउने भूमिका खेलेको आरोपमा कांग्रेसले अनुशासनको कारबाही गरेको छ ।

कैलालीमा कांग्रेस पार्टीको प्रभाव कायमै रहेको तर, आरजू स्वीकृत हुन नसकेको स्थानीय तह निर्वाचन–२०७९ को नजिताले देखाउँछ । आरजूको जोडबलमा धनगढी उपमहानगरपालिकाको मेयरमा लडेका नृपबहादुर वडलाई पुष्कर ओझाले समर्थन गरेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले हराएका थिए ।

‘ओझा वा हमाललाई आफूतिर नपारेसम्म आरजू म्याडमलाई यहाँ निकै गाह्रो छ’, कैलाली कांग्रेसका एक नेता भन्छन् । कैलाली–५ मा धनगढी उपमहानगर र कैलारी गाउँपालिकाको ६ र ९ वडा पर्दछन् । राना (थारू) समुदायको बाहुल्य रहेको स्थानमा आफू बलियो हुन आरजूले त्यही समुदायबाट जीवन रानालाई केन्द्रीय सदस्य बनाएकी छन् । तर, संस्थापन समूहकै जिल्ला नेता प्रकाश बम अर्को चुनौती बनेको स्थानीय नेताहरू बताउँछन् ।

‘यी कारणले गर्दा आरजू समानुपातिकमा बसिन् भने अनौठो हुने छैन’, एक नेता भन्छन् ।

आरजूलाई भावी प्रधानमन्त्री भनेर चर्चा गर्ने कांग्रेस नेताहरूले उनलाई पार्टीको ‘भावी महामन्त्री’का रूपमा समेत प्रस्तुत गर्न थालेका छन् । त्यसका लागि आरजूले धमाधम आधार बनाउँदै लगेको उनीहरू बताउँछन् ।

केन्द्रीय सदस्य रामहरि खतिवडा क्षमतावान् नेता महामन्त्री हुने बाटो पार्टीमा खुला रहेको बताउँछन् । ‘यो पटक केन्द्रीय सदस्य भएर अर्कोपटक महामन्त्री दाबी गर्ने नेता पार्टीमा अरू पनि छन्’, उनले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?