+
+

पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई   

रासस रासस
२०७९ साउन २५ गते १६:१६

२५ साउन, राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ ।

राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं ५ बिनौना र वडा नं २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।

पुल नहुँदा वर्षाद्को समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अव अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताए ।

राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षाद्को समयमा कठिन हुने गर्दथ्यो । अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उनको भनाइ छ । पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारी साधनमार्फत नदी वारपार गर्न करिब २५ किलोमिटर टाढा अगैया पुग्नुपर्ने बाध्यता रहेको थियो ।

पुलको निर्माणकार्य सम्पन्न भएर सवारीसाधन चल्न थालेपछि कचनापुर र बिनौना क्षेत्रका हजारौं सर्वसाधारणले राहात महसुस गरेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्र वलीले बताए । विसं २०७४ बाट निर्माण सुरु भएको उक्त पक्की पुल ५ वर्षभित्र गत असार मसान्तमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरुप कम्पनीले पुलको निर्माणकार्य सम्पन्न गरेको छ ।

तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीले रु ७३ करोडको लागतमा सो पुलको निर्माणको ठेक्का पाएको थियो । ११ वटा पिल्लर रहेको उक्त पक्की पुल ७.५ मिटर चौडाइ पिच र पुलको दुवै साइडमा १:७५ मिटरको पैदल यात्रुका लागि बाटो गरी जम्मा ११ मिटर पुलको चौडाइ रहेको छ । पुलको निर्माणकार्य समयमै पूरा भई सञ्चालनमा आएपछि आवागमनमा जनतालाई निकै सहज भएको राप्तीसोनारीका नागरिक अगुवा रामदास थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?