+
+

पहाडबाट बाँदरले लखेट्यो, तराइमा बाढीले

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन २५ गते २०:३३
चन्द्रबहादुर राई परिवारसँग ।

२४ साउन, उदयपुर । खोटाङको जन्तेढुंगा गाउँपालिका– ५ का चन्द्र राई बाँदरले उठिबास लगाएपछि श्रीमती र तीन साना छोरा–छोरी लिएर दुई वर्षअघि मधेश झरे । पहाडको थोरै जमिनको उब्जनीले तीन महिना पनि खान पुग्दैन थियो । त्यसमाथि बाँदरले दुःख दिएपछि गुजाराका लागि उनी उदयपुरको बेलका नगरपालिका ३ को एबीसी टोल (कोसी कटान क्षेत्र) आए ।

आफन्तको साथ लागेर आएका उनी अरुको खेती गरेर गुजारा गर्दै थिए । तर साउन १८ गते बिहान कोसी नदी बस्तीमा पसेपछि उनी विस्थापित भए । बेलका नगरपालिकाले निर्माण गरेको खसी बाख्रा संकलन केन्द्रमा अहिले बसिरहेका उनी भन्छन्,‘पहाडमा बादरले बस्न दिएन्, यहाँ बाढी पस्यो ।’

बाढीले बिस्थापित भएका ८ वर्षमुनिका तीन सन्तान र श्रीमतीसहित बसेका उनी घर फर्कन पाउने हो कि होइन भन्ने तनावमा छन् । ऐलानी जग्गामा बसेका कारण लेखेटिने चिन्ता उनीसहित आश्रयस्थलमा बसेका अन्य बाढी पीडितलाई पनि छ ।

ताप्ली गाउँपालिकाबाट १० वर्षअघि आएका विष्णुबहादुर पुलामी मगरको पीडा पनि उस्तै छ । गाउँमा पहिरो र बाँदरले दुःख दिएपछि मधेश झरेको उनी बताउँछन् । ‘पहाडमा पहिरोले दुःख दियो, बाँदरले मकै कोदो रोपेको सबै खान्थ्यो,’ मगरले भने,‘बाँदर र पहिरोले दुःख दिएपछि यहाँ आएर बस्यौं, यहाँ पनि कोसी पस्यो ।’

पहाडबाट मधेश झर्दा उनले बेलकामा नै दुई बिघा जग्गा किनेका थिए । ऐलानी जग्गा खरिद गरेर बसेका उनले पछिल्लो समय बसोबासको निस्सा पनि पाएका छन् । तर घरमा कोसीको पानी पसेका कारण फर्कन नपाउने हो कि भन्ने चिन्ता पनि छन् । ‘पहिले पनि कोसी हिँडेको ठाउँ हो, पछि आउँछ भन्थे,’ उनले भने,‘हाम्रो गाउँ भन्दा तीन घण्टा माथि फुटेर कोसी पस्यो ।’

बाढी आएपछि गाईवस्तु सबै लिएर आएको उनले बताए । ‘गाईवस्तु सबै लिएर माथि आएका छौं,’ मगरले भने, ‘मान्छेलाई यहाँ राखेको छ, वस्तुहरु अलिक पर छन्, हामी पालो गरेर हेर्छाैं ।’

विष्णुबहादुर पुलामी मगर र उनका साथी ।

दलबहादुर मगरको दुःख पनि उस्तै छ । दलबहादुर र विष्णुबहादुर एउटै गाउँका हुन् । बाँदरले दुःख दिएपछि दलबहादुर १२ वर्षअघि बेलका आएका थिए । छिमेकी आएको केही वर्षपछि विष्णुबहादुर पनि आए ।

बेलका नगरपालिका ३ की अमृता राई पनि बिस्थापित भएर बसेकी छन् । उनको घर डुबेको छैन, खेतबारी बाढी पसेको छ । फेरि कोसी पस्ने डर भएका कारण उनी घर फर्कन सकेकी छैनन् ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार चार सय जना बाढी प्रभावितलाई सुरक्षित स्थानमा राखिएको छ । बाढी प्रभावित १०९ परिवारलाई चार स्थानमा राखिएको उनले बताए ।

बेलका नगरपालिका– ३ को कोसी जनता माध्यमिक विद्यालयमा ५४, श्री आधारभूत विद्यालय १८, पालिकाको खसी बाख्रा संकलन केन्द्रमा २६ र वडा नम्बर २ मा रहेको रेडक्रस भवनमा ११ परिवारलाई राखिएको छ ।

बाढी प्रभावितको खानपानका लागि पालिकाले मेस सञ्चालन गरिरहेको उनले बताए । ‘प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ, हामीसँग पनि सामाग्री छन्,’ उनले भने,‘प्रभावितहरुलाई मेसमा खाना खुवाइरहेका छौं ।’ बाढीको जोखिम कायम नै रहेका कारण अहिले नै प्रभावितहरु प्mर्कन सक्ने अवस्था नरहेको बताए ।

प्रभावितसँग मुख्यमन्त्रीको लञ्च मिटिङ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बाढी प्रभावितसँग लञ्च मिटिङ गरेका छन् । बुधबार कटान क्षेत्रको अवलोकनपछि उनी बाढी प्रभावितसँग लञ्च मिटिङ गरेका हुन् । उनीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की प्रभावितलाई राखिएको स्थानमा पुगेका थिए । मुख्यमन्त्री राईले प्रभावितलाई आवश्यक परे प्रदेश सरकारले थप राहत उपलब्ध गराउने बताए ।

बाढी प्रभावितसँगको भेटपछि उनले कोशीले कटान गरेको क्षेत्रमा बाँध बाध्नका लागि पहल गर्ने बताए । ‘यो क्षेत्रको बाध बाध्न प्रदेश सक्षम छ, तर कोसी सम्झौताका कारण हामीले काम गर्न मिलेन,’ उनले भने, ‘कुटनितिक च्यानलबाट भारतसँग छलफल गर्छाैं ।’

चतरा पुलदेखि करिब दुई किलोमिटर दक्षिणबाट सप्तकोसी नदीले गत वर्ष नै वहाव परिवर्तन गर्ने संकेत दिएको थियो । सरकारले तटबन्ध गर्न चासो नदिएपछि साउन १८ गते बिहान बेलका नगरपालिका–८ डुम्रीबोटबाट बाढी पसेको थियो ।

कोसीमा पानीको बहाब घटेपनि कटान क्षेत्रको भंगालो रोकिएको छैन । ठूलो वर्षा भए कोसीको मुल भङ्गालो नै पश्चिमतर्फ जाने खतरा रहेको मेयर कार्कीले बताए ।

शिविरमा बसिरहेका बाढी पीडित ।
लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?