+
+

सामुदायिक विद्यालयको बाध्यता : विद्यार्थी टिकाउन अंग्रेजी माध्यम

धेरैजसो अभिभावक आफ्ना छोराछोरी अंग्रेजीमा चलाख हुन् भन्ने चाहन्छन् । त्यसैले सकेसम्म निजी स्कुल र नसके अंग्रेजी माध्यममा पढाइ हने सामुदायिक विद्यालयमा पढाउने लहर चलेको छ । सामुदायिक विद्यालय पनि अभिभावकको यही चाहनाको दबावमा परेका छन् ।

नुनुता राई नुनुता राई
२०७९ साउन २६ गते १९:४८
मुगुको छायानाथ राराको एक विद्यालय ।

२६ साउन, काठमाडौं । हिजोआज सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न वा भएका विद्यार्थी टिकाउन अपनाउने उपाय हो, अंग्रेजी माध्यममा पढाइ । नेपाली समाजमा अंग्रेजी माध्यमको पढाइलाई उत्कृष्ट मान्ने प्रचलन रहेकाले सामुदायिक विद्यालयहरुले स्रोत साधन अभावका बाबजुद पनि जसोतसो अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरिरहेका छन् ।

सरकारी नीतिकै कुरा गर्ने हो भने साना कक्षाहरुमा नेपाली, सामाजिक अध्ययन र मानव मूल्य शिक्षा नेपाली माध्यममै पढाउन अनिवार्य छ । ९ र १० कक्षामा नेपाली र सामाजिक अध्ययन विषय नेपाली माध्यममा पढाउनुपर्छ । यी बाहेक अरु विषय नेपाली वा अंग्रेजी जुनसुकै माध्यममा पनि पढाउन पाइनेछ ।

धेरैजसो निजी विद्यालयले अंग्रेजी माध्यममा पढाइरहेका छन् र अभिभावक पनि छोराछोरी अंग्रेजीमा चलाख हुन् भनेर निजी विद्यालयतिर आकर्षित छन् । त्यसैले विद्यार्थी टिकाउन र नयाँ विद्यार्थी आकर्षित गर्न पनि अंग्रेजी माध्यम बाध्यता बन्न गएको छ ।

सुर्खेतको अमरज्योति माध्यमिक विद्यालयले नेपाली र अंग्रेजी दुबै माध्यममा पढाइरहेको छ । विद्यालयले बाल कक्षादेखि नै अंग्रेजी माध्यम पढाइ सञ्चालन गरिरहेको छ । तर अर्को नेपाली माध्यमको विद्यालय छाडेर आउने विद्यार्थीका लागि छुट्टै सेक्सनमा नेपाली माध्यममै पढाउने गरेको प्रधानाध्यापक खगेन्द्र थापाले बताए । ‘विद्यार्थीलाई कुन माध्यम सहज लाग्छ त्यही माध्यममा पढ्न पाउँछन् । अंग्रेजीमा पढ्दा पढ्दै नेपालीमा जान्छु अथवा अंग्रेजीमा जान्छु भन्छन् भने जान पाउँछन्’, उनले भने ।

अंग्रेजी माध्यमको पढाइ राम्रो भन्ने बुझाइ भएकाले विद्यालयहरु दबावमा रहेको उनको भनाइ छ । यो एकदम गलत बुझाइ हो । ‘हाम्रो विद्यालयमा पहिलो हुने नेपाली माध्यमका छन् र प्रतियोगिताहरुमा पनि उनीहरु नै अगाडि आउँछन्’, प्रधानाध्यापक थापाले भने ।

हिजोआज शहरी क्षेत्रका अभिभावक आफ्ना छोराछोरी अंग्रेजी माध्यममै पढाउन चाहन्छन् । तर विद्यालयमा उपलब्ध जनशक्तिका कारण अंग्रेजी माध्यमको पढाइ सोचेजति प्रभावकारी हुन नसकेको उनको बुझाइ छ । ‘अंग्रेजी माध्यमबाट पढाउँदा अंग्रेजीमा जत्तिको राम्रो हुनुपर्ने हो त्यति बनाउन गाह्रो छ । शिक्षकको समस्या छँदैछ अरु पनि छ’, प्रधानाध्यापक थापाले भने ।

धरानको पब्लिक हाइस्कुलले बाल कक्षादेखि कक्षा ७ सम्म अंग्रेजी माध्यम र कक्षा ८, ९ र १० मा नेपाली र अंग्रेजी दुबै माध्यममा पढाउँदै आएको छ । नेपाली र अंग्रेजी माध्यमबाट पढाइ हुने अलग अलग सेक्सन छुट्याएको छ । आउने वर्ष कक्षा ८ पनि अंग्रेजी माध्यममा लाने प्रधानाध्यापक झाले बताए ।

माध्यमका आधारमा विद्यार्थी कमजोर र जेहेन्दार छुट्याउन नमिल्ने उनी बताउँछन् । ‘विद्यार्थी संख्या कम, धेरै र पढ्ने भाषामात्रै फरक हो । अतिरिक्त क्रियाकलापमा समान सहभागी हुन्छन् । विद्यालय तथा शिक्षकले समान व्यवहार गर्ने भएकोले त्यो सोच आउँदैन’, झाले भने ।

ललितपुरको मदन स्मारक विद्यालयमा कक्षा ९ र १० मा नेपाली र अंग्रेजी माध्यमबाट पढाउँदै आइरहेको प्रधानाध्यापक गोविन्द पौडेल बताउँछन् । यहाँ अंग्रेजी र नेपाली माध्यममा पढ्ने विद्यार्थी संख्या बराबर छ । विद्यार्थी र अभिभावकको रुचिका कारण अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरिरहेको पौडेलले बताए । ‘अभिभावक र विद्यार्थीको रुचिको कारण बाध्यता हो । अंग्रेजी नबनाउने विद्यालयले विद्यार्थी पाउनै मुस्किल छ’, उनले भने ।

काठमाडौंको नीलबाराही माविमा पनि नेपाली र अंग्रेजी दुबै माध्यममा पढाइ भइरहेको छ । अभिभावक र विद्यार्थीले रुचि देखाएकोले अंग्रेजी माध्यम सुरु गरेको तर नेपाली पढ्न चाहने विद्यार्थी पनि उत्तिकै रहेको प्रधानाध्यापक डा. जानुका पौडेलले बताइन् ।

‘अंग्रेजी माध्यम सुरु नभएका विद्यालयहरुमा विद्यार्थी संख्या धेरै कम छ । हाम्रो पनि (अंग्रेजी माध्यम) नबनाएको भए त्यस्तै हुन्थ्यो’, उनले भनिन् ।

कलंकीको जनपथ माध्यमिक विद्यालयमा पनि नेपाली र अंग्रेजी दुबै माध्यममा पढाइ भइरहेको छ । कक्षा ८, ९ र १० मा अंग्रेजी र नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुको अलग अलग सेक्स छ । त्यसभन्दा तलका कक्षामा अंग्रेजी माध्यम पढाइरहेको छ । अन्य विद्यालयमा नेपाली माध्यममा पढेकाहरु भर्ना हुन आउने भएकाले ८ र ९ कक्षामा भने नेपाली माध्यमको कक्षा पनि राखेको प्रधानाध्यापक जीतबहादुर लामिछानेले बताए ।

बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले २०६८ सालदेखि अंग्रेजी माध्यमबाट अध्यापन गराइरहेको छ । नेपाली र अंग्रेजी दुबै माध्यममा पढाउँदा विद्यार्थीहरुमा अंग्रेजी पढ्न नसकेको हीनताबोध हुन सक्ने प्रधानाध्यापक नातीकाजी महर्जन बताउँछन् ।

‘शिक्षक सिर्जनात्मक र मिहिनेती हुने हो भने अंग्रेजी बुझ्नकै लागि विद्यालय नै अंग्रेजी माध्यममा जान जरुरी छैन, तर, अंग्रेजी माध्यम नबनाउने हो भने सामुदायिक विद्यालयले विद्यार्थी पाउनै मुस्किल छ ।’

‘अंग्रेजी बुझ्न सकेनन् भनेर वर्गीकरण गरेर नेपालीमा पढाउँदा विद्यार्थीमा हीनताबोध हुन सक्ने जोखिम छ । त्यसैले हामीले सबैमा समान माध्यम बनाएका हौं ।’ अंग्रेजी नबुझ्ने विद्यार्थीलाई सहयोग गरेर एउटै माध्यममा पढाउनुपर्ने प्रधानाध्यापक महर्जनको भनाइ छ ।

अंग्रेजी भाषाप्रतिको लगावको प्रभाव

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम नबनाउने हो भने विद्यार्थी नै नपाउने स्थिति रहेको प्रधानाध्यापकहरु बताउँछन् ।

काठमाडौं त्रिपुरेश्वरको विश्व निकेतन माविमा ०७६ सालदेखि पूर्ण रुपमा अंग्रेजी माध्यममा मात्र पढाइ हुन्छ । प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन्, ‘अंग्रेजी भाषाप्रतिको लगावको प्रभाव हो यो ।’

अंग्रेजी बोल्न जान्नेलाई समाजले हेर्ने, बुझ्ने दृष्टिकोण नै फरक भएका कारण यसप्रति विद्यार्थी र अभिभावकको लगाव रहेको उनी बताउँछन् । ‘अभिभावक र विद्यार्थीको त्यो रुचि र लगावलाई विद्यालयले सम्बोधन नगर्ने सम्भावना कम हुँदै गइरहेको छ’, प्रधानाध्यापक कँडेलले बताए ।

धेरैजसो अभिभावक आफ्ना छोराछोरी अंग्रेजीमा चलाख हुन् भन्ने चाहन्छन् । त्यसैले सकेसम्म निजी स्कुल र नसके अंग्रेजी माध्यममा पढाइ हने सामुदायिक विद्यालयमा पढाउने लहर नै चलेको शिक्षक रामेश श्रेष्ठ बताउँछन् । सामुदायिक विद्यालय पनि अभिभावकको यही चाहनाको दबावमा परेको उनको बुझाइ छ ।

उनले पढाउने नमुना विद्यालयले चार वर्षअघि अंग्रेजी माध्यम सुरु गरेपछि हरेक वर्ष पढ्न आउने विद्यार्थीको संख्या बढेको छ । विद्यालय तहबाटै विभिन्न प्राविधिक विषयहरु अध्ययन गर्नुपर्ने भएकोले अंग्रेजी बुझ्न जरुरी भए पनि सबै विषय अंग्रेजी माध्यममै पढाउन जरुरी नभएको श्रेष्ठ बताउँछन् । ‘अंग्रेजी माध्यम बनाउन जति इफोर्ट खर्च भइरहेको छ त्यति शैक्षिक गुणस्तर उकास्नका लागि हुने हो भने धेरै माथि हुन्थ्यो’ शिक्षक श्रेष्ठ भन्छन् ।

अहिलेको पाठ्यक्रम अनुसार शिक्षक सिर्जनात्मक हुने हो भने अंग्रेजी माध्यम नै रोज्नुनपर्ने बाध्यता नरहेको ललिपुरकी एक शिक्षिका हरिप्रभा जोशी जिकिर गर्छिन् । अहिले आवश्यकता भन्दा पनि बाध्यताले अंग्रेजी माध्यम बनाउनु परिरहेको उनको भनाइ छ ।

उनी भन्छिन् ‘शिक्षक सिर्जनात्मक र मिहिनेती हुने हो भने अंग्रेजी बुझ्नकै लागि विद्यालय नै अंग्रेजी माध्यममा जान जरुरी छैन’, उनी भन्छिन्, ‘तर, अंग्रेजी माध्यम नबनाउने हो भने सामुदायिक विद्यालयले विद्यार्थी पाउनै मुस्किल छ ।’
बाध्यताले अंग्रेजी माध्यममा गएका विद्यालयका बालबालिका न अंग्रेजीमा प्रखर हुने न नेपालीमा हुने स्थिति बन्दै गइरहेको शिक्षक जोशी बताउँछिन् । उनले पढाउने विद्यालयमा पाँच वर्षअघि अंग्रेजी माध्यममा गएको छ । विद्यालयले अंग्रेजी पढाउने केही शिक्षक आन्तरिक स्रोतबाट राखेको छ ।

बाँकी त्यही नेपाली माध्यमबाटै पढाउने शिक्षकहरुले कनीकुथी अंग्रेजी माध्यममा पढाइरहेका छन् । उनी भन्छिन्, ‘शिक्षक आफैं अंग्रेजीमा पर्फेक्ट नभएपछि कसरी विद्यार्थीलाई पर्फेक्ट रुपमा सिकाउने, त्यसैले नाम मात्रको अंग्रेजी माध्यम भइरहेको यथार्थ हो ।’

बालुवाटारको पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक बिनिता रञ्जित पनि सामाजिक दबावका कारण अंग्रेजी माध्यम रोज्नुपर्ने बाध्यता रहेको बताउँछिन् । ‘अंग्रेजी माध्यम नहुनेबित्तिकै अभिभावकले बच्चाहरु झिकेर लैजान्छन् । विद्यार्थी टिकाउन र आकर्षित गर्नुपर्ने अवस्था छ’, उनी भन्छिन् ।

माथिल्लो तहको पढाइ हुने विद्यालय अंग्रेजी माध्यमको हुने भएकाले पनि आधारभूत विद्यालयलाई अंग्रेजी माध्यममै पढाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक रञ्जित बताउँछिन् ।

कलंकीको जनपथ माविका प्रधानाध्यापक लामिछाने अंग्रेजी शिक्षा समयको माग भएको पनि बताउँछन् । विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउनको लागि पनि अंग्रेजी माध्यम आवश्यक भएको उनको दावी छ ।

‘विद्यार्थी, अभिभावकको रुचि र माग मात्रै नभएर आवश्यकता पनि हो । हाम्रो विद्यार्थीहरु अंग्रेजी माध्यमबाट निजी विद्यालयमा पढेकाहरुसँग, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाको लागि योग्य बनाउनको लागि पनि अंग्रेजी माध्यम आवश्यकता हो’, उनले भने ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?