+
+

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १८:४९

३० साउन, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चका विषयमा दिएको अभिव्यक्तिमाथि थप विवरण माग गरेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

केही दिनअघि अध्यक्ष प्रचण्डले गाउँपालिका अध्यक्ष जित्न उम्मेदवारहरुले १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको अभिव्यक्ति दिएका थिए । आयोगले प्रचण्डको सोही अभिव्यक्तिलाई स्पष्ट पार्न आग्रह गरेर पत्र लेखेको एक अधिकारीले जानकारी दिए ।

आयोगका ती अधिकारीका अनुसार, त्यसरी अभिव्यक्ति दिनुको आधार के हो र कुन गाउँपालिकाका अध्यक्षले रकम खर्चेका हुन्, विवरण उपलब्ध गराइदिन अनुरोध गरी पत्राचार भएको हो ।

स्पष्टिकरण सोध्ने भनी निर्णय भए पनि आयोगले दाहाललाई पठाएको पत्रमा ‘सूचना उपलब्ध गराई सहयोग गरिदिने सम्बन्धमा’ भन्ने व्यहोरा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेद्‍वारका लागि साढे ३ लाख रुपैयाँको अधिकतम हद तोकिएको थियो । अहिले जिल्ला तहमा प्राप्त निर्वाचन खर्चको विवरण संकलन र अध्ययन भइरहेको भन्दै आयोगले अधिकतम हदभन्दा बढी खर्च गर्नेहरुको सूचना माग गरेको हो ।

देशको पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका नेताले गाउँपालिकाका अध्यक्षको उम्मेद्‍वारले १० करोड रुपैयाँभन्दा बढी खर्च भएको भनी दिएको अभिव्यक्तिले थप सूचना प्राप्त हुनसक्ने र निर्वाचन खर्चबारे अनुगमन गर्न सहज हुने भन्दै आयोगले पत्राचारमार्फत थप विवरण मागेको हो ।

प्रचण्डले के भनेका थिए ?

प्रचण्डले ९ साउनमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसको कार्यक्रममा गाउँपालिकाको चुनावमा १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको बताएका थिए । उनको भनाइको अंश यस्तो छ :

साथीहरुले थोरै रिपोर्ट सुनाउनुभएको छ । गाउँपालिकाको चुनावमा १० करोड खर्च गरेर जितेको देखियो ठाउँ ठाउँमा । १० करोड बाफरे !

एउटा गाउँपालिकाको चुनावमा १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त उनीहरुले ५० औं करोड खर्च गर्ने भए अरबतिर जाने भयो । भनेपछि श्रमजीवि जनताले, क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको त सपनाजस्तो हुने भयो । आउने को भए दलाल पुँजीपति, नोकरसाह पुँजीपतिहरु आउने भए, भ्रष्टहरु आउने भए । त्यो खतरा दिन प्रतिदिन बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?