+
+

रानीबारी हत्याकाण्डका ‘कन्ट्र्याक्ट किलर’ बने भद्र बन्दीगृहका चौकीदार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते २१:१४

३० साउन, काठमाडौं । दुई दशकअघिको चर्चित रानीबारी हत्याकाण्डका मुख्य आरोपी मनराज गुरुङ केन्द्रीय कारागार सुन्धारास्थित ‘भद्र बन्दी गृह’मा चौकीदार नियुक्त भएका छन् ।

कारागार व्यवस्थापन विभागले साउनदेखि लागू हुने गरी उनलाई चौकीदारमा नियुक्त गरेको हो । केन्द्रीय कारागारका जेलर उपसचिव डोलेन्द्र निरौलाले सह–नाइके, नाइके, मुख्य नाइके हुँदै उनी अहिले चौकीदार बनेको अनलाइनखबरसँग पुष्टि गरे ।

‘केन्द्रीय कारागारमा आन्तरिक प्रशासनको विभिन्न तहमा काम गरेपछि मात्रै चौकीदार हुन पाउने व्यवस्था छ’, उनले भने, ‘त्यही अनुसार विभिन्न भूमिका निर्वाह गरेर उनी चौकीदार बनेका हुन् ।’

अघिल्लो वर्ष चौकीदार रहेका विष्णुबहादुर तामाङ चाहिँ एक तह घटुवा भएर मूल नाइकेमा बसेका छन् । कानूनतः एक वर्षसम्म चौकीदार हुन पाइन्छ, त्यसपछि सम्बन्धितले चाहे एक तहमुनिको मूल नाइकेमा बस्न दिने चलन केन्द्रीय कारागारमा छ ।

चौकीदार नियुक्त भएका गुरुङले अब एक वर्षलाई आन्तरिक प्रशासनको नेतृत्व गर्नेछन् । उनलाई अन्य नाइके र सह–नाइके नियुक्त गर्ने अधिकार पनि हुन्छ । चौकीदार नियुक्त भएवापत गुरुङ प्रतिदिन अतिरिक्त भत्ता र सजायमा छुट पनि पाउँछन् ।

उनले कारागारमा चाहिने सामग्री खरिदका लागि जेल बाहिर जाने सुविधा पनि पाउनेछन् भने टेलिफोनको नियमित प्रयोगमा पनि छेकबार हुने छैन ।

गुरुङ ३१ असार २०५९ मा भएको इञ्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको खुकुरी प्रहार गरी भएको हत्यामा संलग्न भएको पुष्टि भएपछि कैद जीवन बिताइरहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २०७२ चैतमा पक्राउ गरेको थियो ।

घरबेटीको सुपारी, डेरावालको हत्या !

प्रहरीका अनुसार गुण्डा नाइकेका रुपमा चिनिएका गुरुङले त्यसबेला घटना भएको घरका मालिक एवं म्यानपावर व्यवसायी गीता खड्काको हत्या गर्ने ‘कन्ट्र्याक’ पाएका थिए ।

योजना अनुरुप घटनाको एक साताअघि मनराज गुरुङ र उनका साथी प्रमेश चौहान कोठा खोज्न भन्दै खड्काको घरमा पुगेका थिए । त्यतिबेला उनीहरुको भेट भुइँतलामा बस्ने अञ्जनासँग भएको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुले आफूहरु विद्यार्थी भएको भन्दै डेरा मागेका थिए ।

प्रहरीका अनुसार ३१ असार २०५९ मा मनराज र प्रमेश हत्या योजनासहित खुकुरी बोकेर घरमा पुगेका थिए । तर खड्का कहाँ पुग्नुअघि श्रेष्ठ दम्पतीको कोठा पार गरेर जानुपर्थ्यो । उनीहरुले अञ्जनालाई घरबेटी बोलाइदिन भनेका थिए ।

त्यतिबेला आफूहरुलाई चिनेको भन्दै मनराज र प्रमेशले हेमन्त र अञ्जनालाई खुकुरी प्रहार गरेका थिए । त्यतिबेला छोरीलाई पनि खुकुरी प्रहार गरिए पनि उनी भागेर शौचालयमा लुकेकी थिइन् । प्रहरीले लामो समयसम्म श्रेष्ठ दम्पतीमाथि नै केन्द्रित भएर अनुसन्धान गर्दा रानीबारी हत्या काण्डको पर्दा खुल्न सकेको थिएन ।

श्रेष्ठ दम्पतीकी छोरीले शौचालयबाटै छिमेकीलाई गुहार मागेपछि उनीहरु खड्काको हत्या नगरी भागेका थिए । गुरुङ रानीबारी हत्याकाण्डको ९ महिनापछि गोलढुंगामा भएको म्यानपावर व्यवसायी लीला गिरीको हत्यामा पनि संलग्न रहेको खुलेको थियो ।

अनुसन्धानका क्रममा उनका पतिले नै गिरीको हत्याका लागि ६ लाख रुपैयाँमा ‘कन्ट्र्याक’ दिएको खुलेको थियो । गुरुङलाई त्यसबेलै अदालतले जन्मकैद सुनाएको थियो । तर १३ महिनामै उनी छुटेका थिए ।

पछि फेरि रानीबारी हत्याकाण्डमा सीआईबीले पक्राउ गरेको थियो । हाल गुरुङ चालचलन राम्रो भएको भन्दै कारागारको आन्तरिक प्रशासनको नेतृत्व गर्ने पदमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?