+
+

भूमाफियाले जग्गा अर्कैलाई बेचिदिए, घर न घाटका भए किसान

अंगद सिंह अंगद सिंह
२०७९ साउन ३१ गते ७:५५
धर्नामा बसेका जग्गा पीडीत किसानहरू ।

३१ साउन, काठमाडौं । आफूले वर्षौदेखि खनजोत गरेर पेट पाल्दै आएको जग्गा अचानक अर्कैको नाममा नामसारी भएको देख्दा कसलाई अचम्म नलाग्ला ।

त्यस्तै भएको छ नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-६ का रघुनाथ मिश्रलाई । उनको १५ कट्टा जग्गासँगै ओत लाग्ने झुप्रोमाथिसमेत अर्कैले मेरो हो भनेर दाबी गरिरहेको छ ।

अहिले उनी घरबारविहीन जस्तै बनेका छन् । घरबारी छ भनौं आफ्नो नाममा छैन् । छैन भनौं आफ्नै बाजेले किनेको जग्गा, जुन अहिलेसम्म उनले भोगचलन गर्दै आएका छन् ।

‘म त घरजग्गाविहीन भएको छु । मेरो जग्गा हो भनौं भने अर्कैको नाममा गरिसक्या रहेछ । होइन भनौं भने बाजेका पालामा किनेको जग्गा,’ मिश्र भन्छन् ।

बाजे राजाराम मिश्रले साहुजन प्रेमशरण खत्रीबाट १६ कठ्ठा जग्गा किनेका थिए । बाजेले किनेकै जग्गा बुवा वैजनाथ मिश्र र आफूले अहिलेसम्म भोगचलन गर्दै आइरहेको उनी बताउँछन् ।

कुनै जागिर नभएका उनी १६ कठ्ठामै खेतीपाती गरेर गुजरा गर्दै आइरहेका थिए । तर अहिले त्यही खेतबारी उनको नरहने अवस्था आएको छ । भूमाफियाले जालझेल गरेर मिश्रलाई कुनै छनकसमेत नदिई जग्गा अर्कैलाई बेचिदिए ।

भूमाफियाले २०७४ सालमा मिश्रलाई कुनै शंका नहुने गरी उनले भोगचलन गर्दै आइरहेको जग्गा सुटुक्क अर्कैलाई बेचिदिए । मिश्रको जग्गा किन्ने मान्छे अहिले उनलाई बारम्बार खेतबारी र घरबार छोडेर जा भनेर धम्की दिन्छ ।

‘बाजेका पालादेखि गुजारा गर्ने त्यही जग्गा र कच्ची घर त थियो त्यही पनि माफियाले अरुलाई नै बेचिदिए । कुन बेला सडकमा आउनुपर्ने हो पत्तो छैन । सरकारसँग घरबारी बचाइमाग्न काठमाडौं आएको हुँ,’ सोमबार माइतीघर मण्डलाको धर्नामा भेटिएका उनले भने ।

मिश्रको घरसहितको १६ कट्टा जग्गा भूमाफियाले स्युलाल चमारलाई बेचिसकेका रहेछन् । मालपोत विभागका कर्मचारीसँगको मिलेमतोमा भूमाफियाले जग्गा अर्कैको नाममा नामसारी गरिसक्दा पनि मिश्रले कुनै सुइको पाएनन् ।

‘हामी त आफ्नो काम गरिखाने मान्छे । बाजेका पालादेखि खनिखेत गर्दै आएको जग्गामा माफियाको आँखा लाग्छ भनेर सोच्नै सकेनौं । भूमाफियाले घर न घाटको बनाइदिए । अब कसरी परिवार पाल्नु, कसरी छोराछोरी पढाउनु, कहाँ बस्नु ?’ मिश्रले गुनासो गरे ।

त्यसैले उनी अहिले न्याय पाइने आशामा काठमाडौंमा धर्ना दिन आएका छन् । ‘जनताको समस्या र दुःखमा साथ दिने भनेकै सरकार हो । हामी अन्तत कहाँ जाने ? सरकारले हाम्रो परिवारको विचल्ली हुनबाट बचाइदेओस्’ उनी आशावादी सुनिए ।

उस्तै समस्या छ रामदेव केवटको । १३ कट्टा ५ धुर जग्गा उनी बाजेको पालादेखि भोगचलन गर्दै आइरहेका थिए । उनीसँग बाजेले साहु प्रेमशरण खत्रीलाई जग्गा किन्दा तिरेको पैसाको कागजसमेत छ ।

तर उनको जग्गा भूमाफियाले अर्कैलाई बेचिसकेका रहेछन् । उनको सम्पूर्ण जग्गा र घर अहिले प्रदीप सुनारको नाममा छ ।

‘थाहा नदिई जग्गा बेचेका माफियाहरू अहिले तेरो घरजग्गा मेरो नाममा छ, निस्केर जा छोडेर जा भन्छन् । हामी कहाँ जानु, आफ्नो जग्गा कसरी छोड्नु ?’ उनले भने ।

तातो दूध निल्नु न अकेल्नु जस्तै भएको छ रामरामदेवलाई । आफ्नो हो भनौं किन्नेले प्रमाण देखाउँछ । होइन भनौं आफूले बाजेका पालादेखि बनिबुतो गर्दै आएको छ । उनीसँग जग्गा धनी खत्रीलाई तिरेको पैसाको बिलसमेत छ ।

रामदेवका अनुसार माफियाले सरकार, राजस्व कार्यालय र मालपोत विभागबाट बच्नका लागि किसानको जग्गालाई थोरैथोरै गरि आफ्ना छोराछोरीको नाममा नामसारी गरी बिक्री गरेको छ ।
खगेन कहारको १५ कट्टा जग्गा अहिले असकुमार सैतवार र प्रदीप सुनारको नाममा छ ।

७५ वर्षीय खगेन कहारलाई बुढेसकाल सुख दुःख जे भए पनि घरमै बिताउन मन थियो । तर घरमा बस्दा उनलाई माफियाले बेलाबेला तर्साइरहन्छ । घरखेत छाडेर जा भनिरहन्छ । तर जाने कहाँ ? उनको भएको सम्पत्ति त्यही १५ कट्टा जग्गा र सानो घर हो ।

उनी घरबारी बचाउने आशाको पोका बोकेर काठमाडौं आएका हुन् । ‘भूमाफियाले एकातिर घर जग्गा छोड भनेर धम्की दिइरहन्छ । अर्कातिर तेरो बाली काटेर लैजान्छु भनेर तर्साइरहन्छ । भोकै परिने घरबारविहीन हुने कुराले निद चैन सबै हराएको छ’ माइतीघर मण्डलामा धर्नामा बसेका उनले सुनाए ।

रती कहारको पीडा पनि उस्तै छ । ‘स-साना छोराछोरीलाई छोडेर काठमाडौं आउन कुन आमाको रहर हुन्छ र ? हामी त बाध्य भएर घरखेत नरहने भएपनि आउन बाध्य भएका हौं,’ उनले सुरुमै सुनाइन् । रती कहरको पाल्हीनन्दन गाउँपालिका- ६ मा ५ कठ्ठा जग्गा थियो । तर अहिले त्यो जग्गा अर्कैको नाममा छ । भूमाफियाले उनको जग्गा अर्कैलाई बेचिसकेका छन् ।

‘न श्रीमानको जागिर छ न घरबारी रहन्छ । मैले कसरी छोराछोरी पाल्ने कहाँ बस्ने ?’ उनले गुनासो गरिन । नक्कली जग्गा धनी खडा गरेर भूमाफियाले जग्गा बेचेपछि उनीहरु आक्रोशित र निराश बनेका छन् । पाल्हीनन्दन गाउँपालिका-६ का अध्यक्ष किशोरचन्द्र यादवसहित ६५ जना पीडित काठमाडौं आएका छन् ।

जग्गा पीडित किसान संघर्ष समितिको आयोजनामा ६५ पीडित परिवार नक्कली जग्गाधनी खडा गर्ने भूमाफिया र भ्रष्ट कर्मचारी विरुद्ध धर्ना दिन आइतबार काठमाडौं आएका हुन् ।

उनीहरुले किसानको जग्गा फिर्ता नपाएसम्म घर नफर्किने बताएका छन् ।

के हो समस्या ?

७० वर्षीय गोरखनाथ कहारका अनुसार वडानम्बर ५ मा ३४ विघा जग्गा छ । जुन पहिले साहु प्रेमशरण खत्रीको नाममा थियो । खत्रीको जन्म नेपालमा भएको बताइए पनि उनको बसोबास भारततिरै थियो । नेपालमा धेरै जग्गा रहेको चाल पाएपछि प्रेमशरणको नक्कली छोरा बने अनुप मेहरा ।

गोरखनाथका अनुसार अनुप मेहराको खत्रीसँग कुनै सम्बन्ध छैन । उसले जग्गाको लोभमा परेर मालपोतका कर्मचारी मिलाएर आफ्नो नाममा जग्गा पास गरेको हो । अनुप भारतमा मेहरा थर लेख्छन् भने नेपालमा खत्री लेखाएका छन्  ।

पैसाको भरमा अनुपले नेपालमा आई प्रेम खत्रीलाई बुवा बनाई मृत्यु दर्ता गराएको र छोरा भएको प्रमाणपत्र लिएको गोरखनााथको भनाइ छ ।

३४ विघा जग्गा कब्जा गर्ने उद्देश्यले मालपोतका कर्मचारीको मिलेमतोमा दीपेन्द्र सैतवार, अस कुमार सैतवार, प्रदीप सुनार, तेजस सुनार र पियंका बर्मा लागिपरेको उनले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रदीप, तेजस र प्रियंका बर्मा भारतीय नागरिक हुन ।

पाल्हीनन्दनका ६५ घरपरिवारका पीडितसँग पाल्हीनन्दन गाउँपालिका-६ का वडाध्यक्ष किशोरचन्द्र यादवसमेत पीडित किसानसँग काठमाडौं आएका छन् । यादव पनि दिनभर न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् ।

‘अनुप मेहरा लगायतका अन्य भूमाफिया मालपोतका कर्मचारीसँग मिलेर किसानलाई घरबारविहीन बनाएका छन् । बाजेको पालादेखि खनिखेत गर्दै आएको र साहुबाट किनेको जमीन अर्कैको नाममा राख्दा सर्वसाधारण घरबारविहीन हुने अवस्थामा पुगेका छन् । हामी सरकारसँग न्याय माग्न आएका हौं’ उनले अनलाइनखबरसँग भने ।

भूमाफियाले गैरकानुनी तरिकाले नियोजित र गलत नियतले किसानको जग्गा बेचेको उनको भनाइ छ । सरकारले भूमाफियाको नाममा रहेको जग्गा बदर गरी आफ्नो नाममा ल्याई भोग चलन गर्दै आएका किसानलाई दिनुपर्ने उनको माग छ ।

किसानसँग साहुलाई तिरेको पैसाको कागजात र बिलसमेत रहेको भन्दै कतिपयले नगदसमेत पैसा बुझाएको उनको भनाइ छ । ३४ विघाका साहु भनिनेहरू तीन पुस्तादेखि नेपाल नआए पनि बिचौलिया तथा भूमाफियाले आफ्नो नाममा नामसारी गरेर पीडित किसानको बिचल्ली पारेको उनले बताए ।

घर जग्गा बचाइदिनका लागि पाल्हीनन्दन गाउँपालिका-६ का किसानले जिल्ला अदालत नवलपरासीका साथै वुटवलको उच्च अदालत गुहारे ।

तर उच्च अदालतबाट न्याय पाउने आशा नभएको भन्दै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन् । आयोगले अनुसन्धान गरी जग्गा रोक्का गरेको छ ।

अहिले काठमाडौं विशेष अदालतमा मुद्दा चलिरहेको छ । मंगलबार मुद्दाको पेसी तोकिएको छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?