+
+

दाङमा राप्ती करिडोर शिलान्यास, लागत १० अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १०:४५

३१ साउन, दाङ । दाङको देउखुरीमा करिब १० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुने भएको छ ।

सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक (एडिबी)को संयुक्त लगानीमा निर्माण हुन लागेको करिडोरको सोमबार सहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका छन् ।

दाङको भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर बन्ने सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार २१ मिटर चौडाइको करिडोर राप्ती नदीको दुवै किनारमा बन्ने छ ।

नदीको उत्तरी अथवा राप्ती गाउँपालिका क्षेत्रमा ६७.५० किलोमिटर र दक्षिणी अथवा गढवा गाउँपालिका क्षेत्रमा ६८.३० किलोमिटर गरेर कुल १ सय ३५ किलोमिटर क्षेत्रमा कोरिडोर बन्ने श्रेष्ठले बताए ।

यस करिडोरसँग चारवटा शहरको परिकल्पना गरिएको छ । हाल रहेको पूर्वको भालुवाङसँगै त्यसको पश्चिम तर्फ क्रमशः गढवा, राजपुर र बाँकेको अगैयामा नयाँ ठूला सहरको विकास गरिने मन्त्रालयका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यतामा आधारित नयाँ सहरको परिकल्पना गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन अनुसार नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ सहर बसाइने छ । दाङको राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ तथा दाङकै गढवा गाउँपालिका वडा नं १, २ र ३ को ४ सय ८० वर्गकिलोमिटर क्षेत्रमा पूर्वाधारहरु बनाइने छ ।

सहरी विकास मन्त्री चौधरीले यो परियोजनाले राप्ती क्षेत्रका जनताको जीवन बदल्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । राप्ती करिडोरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउँदै उनले भने, ‘राप्ती नदी किनारको दुवैतर्फ सडक कालोपत्रेसहित खुला ठाउँमा हरियाली पार्क, नयाँ सहरसहितको बस्ती विकास लगायतको काम हुनेछ । भोलिका दिनमा ठूला व्यवस्थित शहर बनाउन सक्छौं ।’

उनले राप्ती करिडोर निर्माण भएसँगै राप्ती नदीको बाढीबाट हुने कटान र डुबानको समस्या पनि दीर्घकालीन रुपमा समाधान हुने बताए । ‘यो परियोजनाले राप्ती नदीको समस्यालाई सधैंका लागि समाधान गर्नेछ,’ उनले भने, ‘सयौं बिघा जमिन उकास हुनेछ र जनता त्रासमा बच्नु पर्नेछैन ।’

मन्त्री चौधरीले राप्ती करिडोर निर्माणको काम सुरु भएपछि आफूले जनतासँग गरेको एउटा महत्वूर्ण बाचा पूरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?