+
+

माधव नेपाल चुनाव लड्न रौतहट फर्किने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २१:३४

३१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए ।

तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ ।

चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ ।

एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले उहाँलाई रौतहट १ मा आउन अनुरोध गरेका छौं । उहाँले पनि आउनसक्छु भन्नुभएको छ ।’

अध्यक्ष नेपाल उम्मेदवार भए सहज जित्ने उनको दाबी छ । भन्छन्, ‘एक्लै प्रतिस्पर्धा भयो भने पनि उहाँले जित्नुहुन्छ । गठबन्धन भयो भने अझ सहज हुन्छ ।’

स्थानीय तह निर्वाचन–१०७९ को परिणामले पनि रौतहट–१ एकीकृत समाजवादी बलियो देखिएको छ ।

वडाध्यक्षमा पाएको मत जोड्दा रौतहट–१ मा एकीकृत समाजवादीले सबभन्दा धेरै १९ हजार ६९८ मत पाएको छ । १६ हजार ९२८ मतसहित कांग्रेस दोस्रो हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत १२ हजार ६२ छ । जनता समाजवादी पार्टी (जसपा) को ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?