+
+

राष्ट्र बैंकको हस्तक्षेपले एकल अंकमा झर्‍यो ट्रेजरी बिलको ब्याजदर

३० अर्ब २० करोडमध्ये २८ अर्ब ५ करोडको बिल राष्ट्र बैंकले नै किन्यो

नेपाल राष्ट्र बैंकले हस्ताक्षेप गरेपछि छोटो अवधिको सरकारी ऋणपत्र (ट्रेजरी बिल) को ब्याजदर एक अंकमा झरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:३७

३१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्ताक्षेप गरेपछि छोटो अवधिको सरकारी ऋणपत्र (ट्रेजरी बिल) को ब्याजदर एक अंकमा झरेको छ । बैंक तथा वित्तीय संस्थाले छोटो अवधिको सरकारी ऋण (ट्रेजरी बिल) मा मुद्दती निक्षेपको भन्दा उच्च ब्याजदर कबोल गर्न लागेपछि राष्ट्र बैंकले आफैंले धमाधम खरिद गर्दै गएको छ ।

पछिल्लो तीन सातामा राष्ट्र बैकले ३० अर्ब २० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेकोमा २८ अर्ब ५ करोड ५० लाखको ट्रेजरी बिल आफैंले खरिद गरेको हो ।

सोमबार राष्ट्र बैंकले क्रमशः २८ दिन, ९१ दिन र १८४ दिन अवधिको ५ अर्ब, २ अर्ब र ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो । कुल १३ अर्बको ट्रेजरी बिल बोलकबोलमा ल्याएकोमा बैंकहरुले ३० अर्ब २४ करोडको बोलकबोल पेश गरेका थिए ।

तर, राष्ट्र बैंकले १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ११ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल आफैंले खरिद गरेको छ ।

सोमबार राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल खुला गरेको थियो । जसमा १६ बैंक तथा वित्तीय संस्थाले ६१ बोलपत्रमार्फत ११ अर्ब ८२ करोड रुपैयाँ माग गरेका थिए ।

जसमध्ये सबैभन्दा न्यूनतम ब्याजदर ८.९९९४ प्रतिशत प्रस्ताव गर्नेलाई १ अर्बको ट्रेजरी बिल दिएर ४ अर्ब रुपैयाँको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम, अधिकतम र औसत ब्याजदर ८.९९९४ प्रतिशत नै कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै ९१ दिन अवधि भएको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याउँदा २० वटा बैंक तथा वित्तीय संस्थाले ६२ बोलपत्रमार्फत ७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ लगानी गर्न बोलपत्र पेश गरेका थिए । जसमध्ये ७ करोड ५० लाख रुपैयाँको बैंकहरुलाई दिएर १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैल खरिद गरेको छ ।

उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम, अधिकतम र औसत ब्याजदर ९.५००४ प्रतिशत नै तय भएको छ । सोमबार नै १८२ दिनको ६ अर्ब बराबरको ट्रेजरी बिल नवीकरणमा ल्याएको थियो ।

जसमा १६ बैंक तथा वित्तीय संस्थाले ६२ बोलपत्रमार्फत १० अर्ब ९६ करोड ५० लाख रुपैयाँको बोलकबोल गरेको थिए । उक्त ट्रेजरी बिलमा २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई दिएर ५ अर्ब ७४ करोड राष्ट्र बैंक आफैंले खरिद गरेको छ ।

उक्त ट्रेजरी बिलको डिस्काउन्ट रेट न्यूनतम ९.८ प्रतिशत, अधिकतम ९.९९९१ प्रतिशत र औसत व्याजदर ९.८९५३ प्रतिशत तय भएको छ ।

यसअघि २३ साउनमा ९१ दिन अवधिको ७ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दा ५९ करोड बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो । जसको औसत ब्याजदर १०.४७७९ प्रतिशत तय भएको थियो ।

१६ साउनमा पनि राष्ट्र बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोलमा लैजाँदा १२ करोड बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड राष्ट्र बैंक्ले नै खरिद गरेको थियो । जसको औसत ब्याजदर ११.६९४६ प्रतिशत तय भयो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदा ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेर १० करोड मात्रै बैंकहरुलाई दिएको छ ।

त्यस्तै ९ साउनमा बोलकबोल भएको ९१ दिन अवधिको ट्रजरी बिलमा १४ प्रतिशतसम्म ब्याजदर राष्ट्र बैंकले स्वीकार गरेपछि त्यसको आलोचना भएको थियो । त्यसपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेर ब्याजदर एकल अंकमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?