+
+

२५ वर्षपछि फिल्म निर्देशनमा फर्किंदै जोनी डीप

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:५६

काठमाडौं । विवाद र अनेक लफडाबीच हलिउड अभिनेता जोनी डीपको जीवन लयमा फर्किने संकेत देखिएको छ । आगामी वर्ष उनी २५ वर्षपछि निर्देशकको कुर्सीमा फर्किंदैछन् ।

यी लोकप्रिय अभिनेताले इटालीका कलाकार अमेदियो मोदिग्लानीको जीवनमाथि आधारित हुने फिल्मलाई निर्देशन गर्नेछन् । फिल्मको शीर्षक ‘मोदिग्लानी’ राखिएको छ ।

साथै, जोनीले भेट्रान एक्टर अल पचिनोसँग मिलेर फिल्म समेत निर्माण गर्दैछन् । तर कलाकारबारे केही टुंगो भने लागेको छैन । जोनी स्वयंले अभिनय गर्छन् वा गर्दैनन् भन्नेबारे पनि टुंगो छैन ।

अमेदियो मोदिग्लानी इटालीका चित्रकार हुन् जो मरणोपरान्त चर्चित रहे । उनको शैलीले जीवनभर प्रसिद्धि पाएन र उनले आफूलाई आलोचनात्मक र व्यावसायिक रुपमा असफल ठान्थे । सन् १९२० मा मृत्यु भएपछि युरोपमा उनका सिर्जनाको व्यापक खोजी भयो ।

हलिउड रिपोर्टर म्यागजिनका अनुसार यो फिल्म डेनिस म्याकइन्टायरको नाटकमा आधारित हुनेछ, जसलाई जेर्जी र मेरी क्रोमोलोस्कीले नाट्य रुपान्तरण गर्नेछन् ।

यो फिल्मले २० औं शताब्दीको सुरुवातमा पेरिसमा बस्ने प्रसिद्ध चित्रकारको जीवनकथालाई पुनः वर्णन गर्नेछ । ‘मोदिग्लानीको गाथालाई ठूलो पर्दामा ल्याउन लाग्दा म आफूलाई सम्मानित र गर्विलो महसुस गर्छु,’ फिल्ममा सहभागिताबारे जोनीले भने ।

विवरण अनुसार जोनीले आफ्नो निर्माण कम्पनी इन्फिनिटम निहिलको युरोपेली शाखा आइएन टुको लागि फिल्म निर्माण गर्नेछन् । अल पचिनो र ब्यारी निभिडी सहनिर्माता छन् ।

आगामी वर्षको वसन्तयामदेखि फिल्म निर्माण सुरु हुनेछ भने कलाकारको घोषणा पनि सोही समय हुनेछ । जोनीले यसअघि सन् १९७७ मा रिलिज भएको फिल्म ‘द ब्रेभ’ निर्देशन गरेका थिए ।

उनले बक्स अफिसमा सफल फिल्म ‘हयुगो’सहित ११ फिल्म निर्माण गरेका छन् । अभिनेताको रुपमा उनले फ्रान्सेली राजा लुइस चौधौंमाथि बन्ने फिल्म जिन डु बेरीमा अभिनय गर्दैछन् । पूर्वपत्नी एम्बर हर्डसँग कानुनी लडाइँ जितेपछि रिलिज हुने यो पहिलो फिल्म बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?