+
+

युवालाई ओलीले भने : मैदान पस्नासाथ मेसी भइँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १६:२५

३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबल मैदानमा पस्नासाथ मेस्सी बन्ने सपना देख्न नहुने बताएका छन् ।

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले ‘राजनीति र युवा-महिला’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘फुटबलको मैदानमा पुग्दासाथ रोनाल्डो मेस्सी सेस्सी सबै आउट गोल्डेन बुट म ल्याउँछु भनेर गफ दिएर हुन्छ ? अनावश्यक गफ दिएर हुँदैन ।’

पुरानो पुस्तालाई विस्थापित गर्न भन्दै चलाइएको अभियानतर्फ संकेत गर्दै ओलीले युवालाई हतार नगर्न आग्रह गरे । ‘हामी चलाउँछौं देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो,’ उनले भने, ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो । एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’

युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर नहुने बताउँदै ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गरे । ‘बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन’, उनले भने, ‘पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’

महिला आन्दोलनको नाममा विकृतितिर जान नहुनेमा जोड दिँदै ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गरे । ‘यसो टिकटक हेर्दा हेर्न नसक्ने हुन्छ’, उनले भने, ‘हामी सबैलाई सम्मान गर्छौं तर आफ्नो सम्मान आफैंले गर्न नसक्ने अवस्था बनेपछि त्यसलाई बन्द गर्नुपर्ने हुन्छ । त्यसबाट भाग्नुपर्ने हुन्छ ।’

महिला आन्दोलन, जागरण र सशक्तिकरणलाई गलत बाटोमा जान दिन नदिन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?