+
+
आम निर्वाचन २०७९ :

सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते ७:४२

१ भदौ, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।

कार्यदलका एकजना सदस्य हिमलाल पुरीले भने, ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनुभएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल हुन्छ ।’

गत २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो ।

अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?