+
+

६५० एमजीको सिटामोल उत्पादन गर्न ३ कम्पनीले पाए अनुमति, प्रतिट्याब्लेट ३ रुपैयाँ मूल्य तोक्ने तयारी

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ भदौ २ गते २०:४९

२ भदौ, काठमाडौं । औषधि व्यवस्था विभागले ६५० एमजीको सिटामोल उत्पादन गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । औषधि सल्लाहकार समितिको सिफारिसमा नेशनल हेल्थ केयर, मारुती फर्मास्युटिकल्स र रोयल फर्मास्युटिकल्स आर्या फर्मा ल्याबलाई ६५० एमजीको सिटामोल उत्पादन गर्न अनुमति दिइएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

‘सिटामोल उत्पादन अनुमति दिएको १० दिनभन्दा बढी भइसकेको छ । उक्त कम्पनीको अनुमति निवेदन भने दुई बर्षभन्दा अगाडि आएको थियो’, केसीले अनलाइखबरसँग कुराकानीमा भने । उनका अनुसार लोमस फर्मास्युटिकल्स पनि अनुमति पाउने चरणमा छ ।

विभाग स्रोतका अनुसार यी कम्पनीहरुले उत्पादन गरेका ६५० एमजीको सिटामोलको मूल्य तीन रूपैयाँ हाराहारी तोक्न लागिएको छ । तर, विभागका प्रवक्ता केसी औषधिको डोज र अन्तर्राष्ट्रिय मूल्यको आधारमा सिटामोलको नयाँ मूल्य तोकिने बताउँछन् ।

‘५०० एमजीको जति छ, त्यसको अनुपातमा अन्तर्राष्ट्रिय सन्दर्भसमेत हेरेर मूल्य तोकिने छ’, केसीले भने, ‘(स्वास्थ्य) मन्त्रालयका सचिवसँगको सल्लाहमा मूल्य तोक्ने भनिएको छ ।’

तर, उपभोक्ता अधिकारकर्मीले सरकारको यो कदमको विरोध गरेका छन् । परीक्षण नै नगरी औषधि उत्पादकको दबावमा बढी तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको र यसले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उनीहरुको भनाइ छ ।

हाल ५०० एमजीको सिटामोलको मूल्य प्रतिट्याब्लेट १ रुपैयाँ छ । तर उत्पादकले सिटामोलको मूल्य बढाउन सरकारलाई दबाव दिँदै आएका छन् । तर, ५०० एमजीको सिटामोलको मूल्य बढाउन सरकार तयार नभएपछि तौल बढाएरै भए पनि मूल्य बढाउन उत्पादकहरु लागिपरेको विभागकै कर्मचारी बताउँछन् ।

६५० एमजीको सिटामोल उत्पादन अनुपति पछि उत्पादकले ५०० एमजीको सिटामोल उत्पादन गर्न छोड्ने र बजारमा आवश्यक औषधि नै अभाव हुने विभागका कर्मचारीहरुको भनाइ छ ।

‘सरकारले ५ सय एमजीको सिटामोललाई मूल्य बढाएको भए औषधि उत्पादकहरुले वजन थप्ने चाल चल्दैन थिए । उत्पादकले ५ सय एमजीको सिटामोल उत्पादन गर्दा घाटा लाग्ने भएपछि भोलि उत्पादन गर्न छोडछन्’, ती कर्मचारी भन्छन् ।

विज्ञ सल्लाहकारले ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीको सिटामोलले काम नगरेको राय दिएपछि ६५० एमजीको सिटामोललाई उत्पादन अनुमति दिएको विभागका महानिर्देशक भरत भट्टराईले बताए । ‘अहिले उत्पादन अनुज्ञापत्र मात्र दिइएको हो । बजार बिक्रीको लागि अनुमति दिइएको छैन । केही समय लाग्छ । बजार बिक्रीको बेलामा मूल्य तोक्छौं’, भट्टराईले भने ।

सल्लाहकार समितिको निर्णयले अन्ततः औषधिको मूल्य बढ्ने र त्यसको असर उपभोक्तामा पर्नेछ ।े क्लिनिकल परीक्षण नै नगरी औषधि उत्पादकको दबावमा मूल्य बढाउने उद्देश्यले थप तौलको सिटामोल उत्पादन गरिएको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ अहिलेसम्म नेपालमा ६५० एमजी सिटामोलको क्लिनिकल परीक्षण नभएको बताउँछन् । ‘सीमित उत्पादकले बढी मूूूल्य लिन पाउने स्वार्थमा गरिएको यस्तो गलत, अनुचित, उपभोक्ताको जीवनमाथि हुने गम्भीर खेलबाड गर्ने निर्णय हो’ उनले भने, ‘उपभोक्ता ठग्ने नियतले गरिएको दीर्घकालीन प्रभाव पार्ने निर्णय देखादेखि नीतिगत भ्रष्ट्राचार हो ।’

राष्ट्रिय सर्तकता केन्द्रले पनि ६५० एमजीको सिटामोल प्रयोगमा ल्याउनु अगाडि मानव शरीरमा पार्न सक्ने सम्भावित प्रभाव यकिन गरेर मात्रै उत्पादन तथा प्रयोग अनुमति दिन उचित हुने औंल्याएको छ । ६५० एमजीको सिटामोल अति आवश्यक अवस्थामा चिकित्सकको निगरानीमा प्रयोग गर्नका लागि मात्रै स्वीकृत दिन केन्द्रले आग्रह गरेको छ ।

भारतीय फार्माकोपिया औषधि स्तर नियमावली २०४३ मा ६५० एमजीको औषधी उत्पादन गर्न सक्ने व्यवस्था छ । औषधि व्यवस्था विभागले भारतको सोही नियमावलीलाई टेकेर विज्ञ सल्लाहकारको राय अनुसार वजन थप गरिएको कारण देखाएको छ ।

‘भारतीय फार्माकोपियामा ६५० एमजीको सिटमोल दर्ता भई प्रयोगमा आएको र कोरोना महामारीमा बढी वजनको सिटामोल अत्याधिक प्रयोग भएकाले पनि वजन बढाउनुपरेको हो’ विभागका प्रवक्ता केसीले भने ।

नेपाल औषधि उत्पादक संघको तथ्यांक अनुसार नेपाली बजारमा वार्षिक करिब ७ करोड रुपैयाँ चक्की सिटामोलको माग हुने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. रविन हमाल सिटामोलको डोज मानिसको तौल अनुसार निर्धारण गरिने बताउँछन् ।

‘प्राय जसो हामीले बिरामीलाई ५ सय एमजीकै सिटामोल दिइरहेका छौं । तर, ५० बर्षभन्दा माथिकालाई एक पटकमा आवश्यकता अनुसार ३५० एमजीदेखि १ ग्रामसम्म दिन मिल्छ, साइड इफेक्टको हिसाबले जति औषधि कम ग¥यो उति राम्रो हुन्छ’, डा. हमाल भन्छन् ।

हाल बजारमा उपलब्ध भएका सिटामोल सजिलै उपलब्ध हुने र यसको तुरुन्त साइड इफेक्ट नहुने भन्ने ठानेर पनि मानिसहरु सिटामोललाई रोग निको पार्ने सजिलो उपायको रुपमा प्रयोग गर्छन् ।

तर कम समयको लागि प्रयोग गरिने यस्तो औषधिको निरन्तर सेवनले गम्भीर समस्या समेत निम्त्याउने चिकित्सकहरु बताउँछन् । अत्याधिक प्रयोग, बढी डोज भएको सिटामोलका कारण मिर्गौला, कलेजो लगायत शरीरका विभिन्न अंगहरुमा गम्भीर असर पुग्ने गर्छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?