+
+

बलिउडका ए ग्रेड फिल्मसँग हामी प्रतिस्पर्धा गर्न सक्छौं : सुदर्शन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १५:४४

काठमाडौं । हरेक फिल्म निर्देशकको निजी गुण हुन्छ । यो हिसाबमा सुदर्शन थापाको नाम रोमान्टिक जनरासँग जोडिन्छ । मेरो एउटा साथी छ, प्रेमगीत, म यस्तो गीत गाउँछु उनी निर्देशित रोमान्टिक फिल्महरु हुन् ।

यो सूचीमा थपिएको छ, ‘सम्हालिन्छ कहिले मन’ । यो लभस्टोरी फिल्म भदौ १७ गतेदेखि प्रदर्शन तयारीमा छ । महंगो बजेटमा बनेको बताइएको फिल्मले आफूलाई बक्स अफिसमा कसरी प्रस्तुत गर्ला ? थापालाई लाग्छ, यो फिल्म रिलिज भएपछि नेपाली फिल्मको लभस्टोरी कथावाचनमा नयाँ प्रयोग हुनेछ । प्रस्तुत छ, निर्देशक थापासँग गरिएको संक्षिप्त संवाद :

सुगम पोखरेलको चर्चित गीतमाथि फिल्म बनेको छ । गीतलाई फिल्मले कसरी न्याय गरेको छ ? 

यो फिल्मसँग दर्शकको भावना जोडिएको छ । हिजो गीतका रुपमा यसले प्रशंसा पायो र सबैको जिब्रोमा झुन्डियो । अहिले ट्रेलर र गीत सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सिनेमा कस्तो होला भन्ने कौतुहलता धेरैमा रहेको पाएको छु । फिल्मलाई ठूलो क्यानभासमा खिचिएको छ, देशकै ठूला स्टार छन् । त्यसमाथि गायक पोखरेल आफैं हाम्रो फिल्मसँग जोडिनुभएकाले पनि मानिसहरुको अपेक्षा धेरै हुन गएको छ ।

फिल्मको कथावस्तु के हो ?

त्रिकोणात्मक प्रेमकथामा आधारित रोमान्टिक फिल्म हो यो । तर प्रस्तुति निकै फरक छ । फिल्म भनेको स्टोरी मात्रै होइन । स्टोरीलाई गरिने दृश्य प्रस्तुतीकरण हो । त्यसैले यसको प्रस्तुतीकरणलार्ई दर्शकले फरक पाउनुहुनेछ । फिल्मलाई स्तरीय बनाउन मेकिङमा मेहनत गरेका छौं । हल पसेपछि कथा बुझ्नमा दर्शकले हाम्रो प्रस्तुति र मेकिङको मज्जा लिन सक्नुहुन्छ ।

पुराना र नयाँ पुस्ताका कलाकारलाई कसरी प्रस्तुत गर्नुभयो ?

कलाकार छनोटसहित सबै पक्षमा मिहिनेत गरेका छौं । राम्रो बनाउन सबैलाई राखेर पटकपटक कार्यशाला गरेका छौं । चर्चित भारतीय कभर गायक सोनाम तोप्देनलाई ल्याएर मुख्य भूमिकामा राख्यौं । यति धेरै स्टार हुँदाहुँदै हामी किन नयाँ कलाकार खोज्न भारत नै गयौं ? किनकि हाम्रो कथाले यस्तै कलाकार मागेको थियो । हामीले कुनै कम्प्रमाइज गर्न चाहेनौं । कुनै हालतमा बलिउडका हिट फिल्मभन्दा हामी कम हुनु हुँदैन भन्नेमा स्पष्ट थियौं । कतिपयले यसलाई हलिउड शैलीकै भनिरहनुभएको छ ।

बेलायतजस्ता महंगा सहरमा फिल्म छायांकन गर्नु कति सहज छ ?

म तपाईंलाई प्रश्न सोध्न चाहन्छु, चुनौती हुँदाहुँदै मानिस किन हिमाल चढ्छ ? किनकि उचाईमा पुग्नुको मज्जा उसलाई थाहा हुन्छ । त्यस्तै, हामीले पनि जोखिम मोलेर नयाँ उचाईमा पुग्ने प्रयास गरेका हांै । फिल्म राम्रो बन्दा नेपाली फिल्मको स्तर र बजारलाई एक कदममाथि उठाउन सकिन्छ भन्नेमा हामी विश्वस्त भएकाले हरेक चुनौती हाँसेरै पूरा गर्‍यौं ।

टिमलाई मानसिक रुपमा पनि त्यसरी नै तयार गरेको थिएँ । अहिले सार्वजनिक भएको ‘हराएँ हराएँ’ बोलको गीतमा पूजा र आकाशको अभिनय हेर्नुभयो होला । त्यो गीत सुटिङ गर्दाको समय स्कटल्यान्डको तापक्रम माइनसमा थियो । जाडोले मुटु नै थर्थर काँप्यो । त्यसमाथि ४०–५० किलोमिटरको रफ्तारमा हावा चल्थ्यो ।  त्यतिबेला पातलो पहिरन लगाएर पहाडमा रोमान्टिक सिन दिन कलाकारलाई कति गाह्रो भयो होला । तर यो पर्दाबाहिरको मेरो व्यक्तिगत अनुभवको कुरा भयो । भिडियोमा त्यस्तो केही महसुस भएको देखिन्न, किनकि उहाँहरु आफ्नो काम शतप्रतिशत दिनुभएको छ । ६५ दिनसम्म बेलायतका महंगा सहरमा ५० हजार सदस्यलाई राखेर फिल्म खिच्न, दुबईका आलिसान भवनमा सुट गर्न, भारतबाट उत्कृष्टभन्दा उत्कृष्ट प्राविधिक बोलाएर काम गर्न, हरेक कुरा महंगै हुन आउँछ ।

महंगो लगानीको फिल्मले नेपाली बजारबाट कसरी लगाउन उठाउन सक्ला ?

कोरोनापछि रिलिज भएका अधिकांश फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका छैनन् । तर यही समय हाम्रो बजारबाटै आरआरआर, पुष्पा, केजीएफ च्याप्टर २ लगायत दक्षिण भारतीय फिल्मले ठूलो रकम लिएर गएका छन्, कन्टेन्ट त हाम्रा फिल्मको पनि कमजोर होइन । तर हामी मेकिङ पक्षमा चुकेकाले दर्शक तान्न सकेनौं । अहिलेका मल्टिप्लेक्स हल पहिलेका सिंगल थिएटरको दाँजोमा निकै स्तरीय भइसकेका छन् । यस तथ्यलाई ध्यानमा राखेर हामीले फिल्म मेकिङ गर्नुको विकल्प छैन ।

पहिले मानिसले पिक्चर मात्रै हेर्थे, त्यो पनि ठिकठिकै आउँथ्यो । अहिले पिक्चर क्वालिटी निकै हाई छ, साथै दर्शकले साउन्ड पनि फिल गर्न थालेका छन् । ठूलो घरमा, ठूलो मासले ठूलो पर्दामा सिनेमा हेर्ने हो । आजका दिनमा मल्टिप्लेक्समा ब्राड पिट, आमिर खान र अक्षय कुमारका फिल्मसँगै नेपाली फिल्म पनि लागिरहेको हुन्छ । टिकट सबैको लगभग तीन सय रुपैयाँ नै पर्ने हो । अब नेपाली फिल्म किन हेर्ने भन्ने प्रश्न त त्यहाँ आउँछ । त्यही प्रश्नलाई ध्यानमा राखेर हामीले यो फिल्म बनाएका छौं ।

बलिउडका ए ग्रेडका फिल्मसँग हाम्रो फिल्मले प्रतिस्पर्धा गर्नसक्छ । अब रह्यो बजार बिस्तारको कुरा, हामीलाई आशा छ नेपाल र विदेशमा ठूलो संख्यामा रहेका नेपालीभाषी, जो विगतमा नेपाली फिल्म हेर्न आउँदैन थिए, उनीहरु यसपटक आउनेछन् । हाम्रो बजार सानो होइन, सोच सानो हो । त्यही कारण हामीले धेरैलाई समेट्न सकेनौं । त्यस कुरालाई यस फिल्मले तोड्नेछ र नयाँ दर्शकलाई हलसम्म तान्ने छ ।

निर्देशकका रुपमा निर्माण महत्वपूर्ण कि विषयवस्तु ?

कन्टेन्ट मात्र पनि फिल्म होइन । स्क्रिप्ट पढ्नका लागि लेखिएको हो अर्थात् साहित्यकै स्वरुप हो । त्यो जब फिल्म बन्छ, तब त्यो हेर्नका लागि बनाइन्छ । फिल्म भनेको निर्देशकको भिजुअल इम्याजिनेसन हो । त्यसैले यसमा कन्टेन्ट, लोकेसन, सिनेम्याटोग्राफी, साउन्डलगायत पक्ष पर्छन् । हामीले कन्टेन्ट मात्रै भनिरहँदा मेकिङ राम्रो गर्न सकेनौं भने त्यसको कुनै अर्थ हुँदैछ । मलाई विश्वास छ भदौ १७ गतेपछि तपाईंले नै भन्नुहुनेछ, अब नेपाली फिल्ममा नयाँ युग सुरु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?