+
+

धपेडीमा छन् बालबालिका : उन्मुक्त खेल्ने, स्वादले खाने फुर्सद छैन

अंगद सिंह अंगद सिंह
२०७९ भदौ ३ गते १७:१५

काठमाडौं । बिहान निद्रा खुलेकै हुँदैन, जर्‍याकजुरुक उठ्नुपर्छ । खानामा रुचि होस् वा अरुचि, कपाकप गाँस टिप्नुपर्छ । एकछिन फुर्सद मिलेको हुँदैन, विद्यालयतर्फ दौडिनुपर्छ । कम्ता हतार छैन बालबालिकालाई ।

सहरी क्षेत्रका धेरैजसो बालबालिकाले आफ्नै घरमा पाकेको तात्तातो खानेकुरा खान पाउँदैनन् । उनीहरुलाई ‘टिफिन बक्स’ बोकाइन्छ वा विद्यालयकै क्यान्टिनमा खुवाइन्छ । कक्षाकोठामा घण्टौंसम्म आज्ञाकारी भएर बस्नुपर्छ ।

साँझ घर फर्केलगत्तै गृहकार्य सक्नुपर्ने चटारो हुन्छ । स्वाद लिएर नास्ता वा खाना खान पाउँदैनन् । राति ओछ्यानमा जानुअघिसम्म उनीहरुलाई आराम मिल्दैन । घडीको काँटाझैं एकनासले घुम्ने दिनचर्यामा उनीहरुले उन्मुक्त खेल्ने, उफ्रने, दौडने फुर्सद सायदै पाउँछन् ।

साथीसंगीसँग घुलमिल हुने, परिवारसँग रमाउने, इष्टमित्रसँग भलाकुसारी गर्ने, मनोरञ्जन गर्ने फुर्सद छैन । चाडपर्वमा समेत निर्धक्क रमाउन पाउँदैनन्, गृहकार्यले रिंगाइरहन्छ ।

शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्- बालबालिकालाई सामान्यतया एकपटकमा १५ मिनेटभन्दा बढी पढाउन नहुने सामान्य नियम छ । बढी पढाउँदैमा उनीहरु धेरै जान्ने वा बुझ्ने हुन्छ भन्ने बुझाइ आफैंमा भ्रमित छ ।

अभिभावकको अपेक्षा र विद्यालय सञ्चालकहरुको स्वार्थले गर्दा बालबालिकाको ‘बालापन’ खोसिएको टिप्पणी गर्छन्, शिक्षाविद् विद्यानाथ कोइराला । ‘अभिभावकको अपेक्षा के छ भने आफ्ना बालबच्चा सानै उमेरमा धेरै पढोस्, धेरै जान्ने बुझ्ने होस्,’ कोइराला भन्छन्, ‘यही कारण उनीहरुलाई खान, खेल्न समेत नदिई पढाइमा लगाउने प्रवृत्ति छ ।’

एकातिर विद्यालयले आफ्नो व्यवसायका लागि बालबच्चालाई कलिलै उमेरमा भर्ना गर्ने, बिहान सबेरैदेखि कक्षा सञ्चालन गर्ने, विद्यालयकै क्यान्टिनमा खाना–नास्ताको व्यवस्था गर्ने, यातायात सञ्चालन गर्ने परिपाटी निर्माण गरेका छन् । अर्कोतिर अभिभावकहरु आफ्ना बालबच्चालाई यसैगरी पढाउनैपर्ने समाजिक दबाबमा छन् । यसैको सोझो बोझ बोकिरहेका छन्, अबोध बालबच्चा ।

विद्यालयको परिपाटी र पढाइको दबाबले आजका बालबालिका प्राकृतिक जीवनशैलीबाट विमुख हुँदै गएको बाल मनोचिकित्सक अरुण कुँवर बताउँछन् ।

अघिल्लो पुस्ता भन्दा बढी व्यस्त

‘अहिलेका बालबालिकाको दैनिकी एकदमै व्यस्त बन्दै गइरहेको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उनीहरु स्कुल र होमवर्कका कारण तनावमा हुन्छन्,’ बाल मनोचिकित्सक कुँवर भन्छन्, ‘यस्तो व्यस्तताले उनीहरुलाई तनावग्रस्त बनाउने गरेको छ । जसको नतिजा उनीहरु एकलकाँटे र असामाजिक हुने भय छ ।’

पढाइको वा जुनसुकै कुराको बोझ भए पनि त्यसले बालबालिका छिटो रिसाउने, झर्किने, मनको कुरा खोल्न नसक्ने, आत्तिने र बेहोस हुने जस्ता समस्या देखिने उनको भनाइ छ ।

अघिल्ला पुस्ता भन्दा अहिलेका बालबालिका बढी घपेडीमा रहेको स्वीकार्छन् काव्या स्कुलका प्रिन्सिपल नवराज बास्कोटा । ‘बिहान बालकालिकालाई जबरजस्ती उठाएर स्कुल पठाउनुपर्छ, दिनभर स्कुलमा बसेर पढेका बालबालिकालाई फेरि साँझ होमवर्कको भारी बोकाएर घर पठाइन्छ,’ उनी भन्छन्, ‘स्कुल, होमवर्क, अभिभावकको चाहना र शिक्षा नीतिका कारण अहिलेका बालबालिका निकै धपेडीमा छन् ।’ यस किसिमको धपेडीबाट  बालबच्चालाई मुक्त गर्नुपर्ने उनी बताउँछन् ।

धेरै पढाउँदा धेरै जान्ने हुने होइन

बालबालिकालाई सामान्यतया एकपटकमा १५ मिनेटभन्दा बढी पढाउन नहुने सामान्य नियम रहेको बताउँछन् शिक्षाविद् डा. विद्यानाथ कोइराला । बालबालिकामा धैर्यता नहुने र बेलाबेला उनीहरुलाई चलिरहनुपर्ने, खेलिरहनुपर्ने र रमाइलो गरिरहनुपर्ने भएकाले एकपटकमा १५ मिनेटभन्दा बढी पढाउन नहुने उनको तर्क छ । बढी पढाउँदैमा उनीहरु धेरै जान्ने वा बुझ्ने हुन्छ भन्ने बुझाइ आफैंमा भ्रमित रहेको उनको भनाइ छ ।

बालबालिकाको बौद्धिक क्षमता र मनोविज्ञान अनुरुप उनीहरुलाई कति समय पढाउने, कति समय अनुशासनमा राख्ने र कति समय स्वच्छन्द भएर खेल्न तथा रमाउन दिने भन्ने कुरा तय भएको छ । तर हामीकहाँ बालमनोविज्ञान अनुसार विद्यालय प्रणाली विकास गरिएको छैन ।

‘बालबच्चालाई कक्षाकोठामा ९ बजेदेखि साढे १ बजेसम्म राख्नुपर्ने हुन्छ, तर नेपालमा बालबालिकालाई सात घण्टा भन्दा बढी स्कुलमा राखिन्छ,’ शिक्षाविद् कोइराला भन्छन्, ‘बालबालिकालाई स्कुलमा स्वस्फुर्त रुपमा खेल्ने, सुत्ने, उफ्रिने वातावरण मिलाउनुपर्छ । स्कुलमा बालबालिकाले भन्दा शिक्षकले शिक्षण कला परिवर्तन गरे बालबालिकाको सिकाइ प्रभावकारी र दीर्घकालीन हुन्छ ।’

बालबालिकालाई शारीरिक तथा मानसिक समस्याबाट अलग राख्न स्कुल र घरमा उनीहरुका लागि खेल्ने, उफ्रिने तथा मनोरञ्जन गर्ने वातावरण मिलाउनुपर्ने मनोचिकित्सक अरुण कुँवर बताउँछन् ।

मानसिक बोझ, शारीरिक पीडा

अहिलेका बालबच्चाको दैनिकी नै गोलमाल छ । सुत्ने, उठ्ने, खाने, शौच गर्ने र खेल्ने तालिका साँघुरिएको छ ।

चिकित्सकका अनुसार साना बालबच्चालाई कम्तीमा १० घण्टा मस्त निद्रा आवश्यक हुन्छ । तर पढाइ छुट्ने हतारोले उनीहरु पर्याप्त निदाउन पाइरहेका छैनन् । अधिकांश बालबच्चाले आफ्नै घरमा पाकेको ताजा खाना समेत पाएका छैनन् । भोक नलाग्दै जबरजस्ती खानुपर्ने वा टिफिन बोक्नुपर्ने बाध्यतामा छन् । कतिपयले घरको होइन, विद्यालयको क्यान्टिनको खाजा–नास्ताले भोक मेटिरहेका छन् ।

पढाइको चक्करमा शारीरिक गतिविधि कम भएको छ । यस किसिमको जीवनशैलीले उनीहरुलाई रोगी बनाउने जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।

हतारमा र मन नलागी नलागी खाना खाँदा र खानाको मात्रा तलमाथि भएपछि बालबालिकाको पाचन प्रणालीका साथै स्वास्थ्यमा समस्या देखिने गरेको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ  डा. ज्योतिरत्न  धाख्वा बताउँछन् ।

‘अधिकांश स्कुल बिहानै खुल्छन् । बालबालिकालाई बिहानै उठाउनु पर्दा निद्रा पुगेको हँुदैन । न निद्रा पुगुन्जेल सुत्न पाएका छन्, न त समयमा खान,’ डा. धाख्वा भन्छन्, ‘हतारमा खाना खाँदा खानाको मात्रामा तलमाथि हुँदा र सन्तुलित खाना नपाउँदा बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ ।’

स्कुल जाँदा बालबालिकालाई दिनभर भोक लाग्छ भनेर बढी खुवाउनु र हतार भयो भन्दै कम खुवाउनु दुवै स्वस्थकर नभएको उनको भनाइ छ । बालबालिकाले घरमा पकाएको खाना खाँदैनन् भनेर प्याकेटका खानेकुरा खान दिन नहुने डा. धाख्वा बताउँछन् । प्याकेटका खानेकुराले खानाप्रति रुचि घटाउँदै लैजाने र यसले भविष्यमा अन्य समस्या निम्तिने उनको भनाइ छ ।

स्कुल जाने उमेरका बालबालिकाका लागि १० देखि १२ घण्टा निद्रा आवश्यक रहेको डा. धाख्वा बताउँछन् । तर व्यवहारमा अहिलेको पुस्ताका बालबालिकाले राम्ररी सुत्न समेत पाइरहेका छैनन् ।

‘अपर्याप्त निन्द्राले बालबालिकाको शारीरिक र मानसिक विकासमा समस्या ल्याउँछ । बालबालिकाको समग्र विकास र स्वस्थ शरीरका लागि समयमै  र पर्याप्त मात्रामा सुत्नुपर्छ,’ उनी भन्छन् ।

बालबालिकालाई शारीरिक तथा मानसिक समस्याबाट अलग राख्न स्कुल र घरमा उनीहरुका लागि खेल्ने, उफ्रिने तथा मनोरञ्जन गर्ने वातावरण मिलाउनुपर्ने मनोचिकित्सक अरुण कुँवर बताउँछन् ।

‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरुको इच्छा, चाहना अुनसार शारीरिक व्यायामदेखि खेल्न र रमाइलो गर्न दिनुपर्छ । यस्तो गर्दा मस्तिष्क नयाँ नयाँ कुरा सिक्न आतुर हुन्छ । यसले उनीहरुको तनाव कम गरी ताजापन महसुस गराउँछ,’ उनले भने ।

अहिलेका बालबालिकालाई प्राकृतिक जीवनशैलीबाट विमुख गरिंदैछ । ‘बालबालिकालाई स्कुल पढाउनुपर्छ । तर त्यसका लागि उनीहरुको रुचि, चाहना र इच्छा आकांक्षा अनुसारको पढनशैली अपनाउनु पर्छ,’ कुँवर भन्छन्, ‘जसले भविष्यमा गएर उसलाई फाइदा पुगोस् । जीवनयापनका साथै यो सिकाइले उसलाई समाज र जीवनचक्रलाई महसुस गर्न सकोस् ।’

स्कुल समयको आधा समय बालबालिकालाई स्वस्फुर्त र प्राकृतिक रुपमा हाँस्न, बोल्न, खेल्न र उफ्रिन दिनुपर्ने विज्ञहरुको भनाइ छ । पाठ्यक्रमभन्दा बाहिरका कुराले बालबालिकामा जीवन बुझन र सामाजिक हुन सिकाउँछ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?