+
+

जब वीर अस्पतालमै गरियो एउटा जटिल शल्यक्रिया

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ ३ गते १९:२२

काठमाडौं । नुवाकोटका १९ वर्षीय आशिष गहतराज २०७८ पुस १७ गते साथीहरूसँग चितवन घुम्न गएका थिए । यात्राका क्रममा दुर्घटना भएर उनको टाउकोमा गम्भीर चोट लाग्यो । उनलाई तुरुन्तै भरतपुर अस्पताल पुर्‍याइयो ।

त्यहाँ ११ दिनको उपचारपछि काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल ल्याइयो । त्यहाँ एक महिना उपचारपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो । शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर दुई महिनासम्म उपचार गरियो । यस क्रममा उनको टाउकोमा जमेको रगतको समस्या निको भयो । तर अर्को समस्या थपियो ।

करिब तीन महिनासम्म भेन्टिलेटरमा राखिएका उनलाई सास फेर्न सजिलो होस् भनेर घाँटीमा प्वाल पारिएको थियो । भेन्टिलेटरबाट हटाइएपछि उनलाई घाँटीबाट सास फेर्न, बोल्न र खाना निल्न गाह्रो भयो ।

‘बाबुलाई सास फेर्न एकदमै गाह्रो भएपछि हामीले डाक्टरलाई यसको के उपचार गर्न सक्छौं भनेर सोध्यौं,’ आशिषकी आमा राधिका गहतराजले भनिन्, ‘डाक्टरले सधैं यसरी नै घाँटीबाट सास फेर्नुपर्ने पनि हुन सक्छ भन्नुभयो ।’

१९ वर्षको मान्छे जिन्दगीभरि घाँटीबाट सास फेरेर त सम्भव हुँदैन भनेर राधिकाले शिक्षण अस्पतालका चिकित्सकहरुलाई के उपाय गर्न सकिन्छ भनी सोधीखोजी गरिन् । त्यहाँका चिकित्सकले भने, ‘यहाँ त उपचार हुँदैन । यसका लागि भारत जानुपर्छ वा वीर अस्पतालमा डा. अरुण केसीलाई भेट्नुपर्छ ।’

उनीहरुले बिरामीलाई वीर अस्पताल पुर्‍याए । गहतराजको समस्या हेरेपछि डा. केसीले शल्यक्रिया गर्नुपर्ने बताए । बिरामीको श्वासनली एकदमै धेरै खुम्चिएर सास फेर्न नै कठिन अवस्थामा थियो ।

‘यो निकै नाजुक अवस्थामा थियो,’ डा. केसीले सुनाए, ‘एक त बिरामी त्यस्तो हालतमा थिए भने उनको समस्या जटिल थियो ।’ डा. केसीले उनको स्थितिबारे मिहिन रुपमा अध्ययन गरे । त्यसलाई कसरी शल्यक्रिया गर्ने भनी विमर्श गरे । अन्ततः ७-८ घण्टाको सफल शल्यक्रिया  गरियो । शल्यक्रियाको दुई हप्तापछि उनको स्वास्थ्यमा धेरै सुधार भएको छ । अहिले नाक, मुखबाट नै सास फेर्न, बोल्न र खाना खान सक्ने भएका छन् ।

कसरी हुन्छ श्वासनलीमा समस्या ?

यस्तो समस्या अलि जटिल र दुर्लभ नै हुन्छ । यस किसिमको समस्या भएर आउने ९० प्रतिशत बिरामी लामो समय भेन्टिलेसनमा बसेको पाइन्छ । श्वास फेर्ने नलीको कुनै भाग एकदमै धेरै खुम्चिएर त्यो भागबाट सास पनि वारपार नहुनु भनेको गम्भीर समस्या हो । लामो समय भेन्टिलेटरमा राखेर कृत्रिम सास फेराइएको बिरामीमा यो समस्या देखा पर्छ ।

लामो समय भेन्टिलेटरमा बस्दा सास फेर्न गाह्रो नहोस् भनेर घाँटीमा प्वाल पारेर त्यहाँबाट सास फेर्ने व्यवस्था गरिएको हुन्छ । पछि त्यो बिरामी निको भएपछि त्यो प्वाल टालिन्छ र बिरामीले नाक, मुखबाट नै सास फेर्न सक्छन् । तर केही बिरामीहरूमा भने सास नलीमा इन्फेक्सन, मासु पलाउने वा अन्य समस्याका कारण नली खुम्चिएर यो समस्या हुन सक्छ ।

सास फेर्ने नली घाँटीदेखि फोक्सोसम्म जोडिएको हुन्छ । सास फेर्ने नली खुम्चिएर सास फेर्न नसक्ने यो समस्याको बेलैमा उपचार गरिएन भने ज्यानै जाने खतरा हुन्छ ।

नेपालमै हुन्छ उपचार

श्वासनली बन्द हुने समस्याको पनि स्टेज हुने गर्छ, पहिलो, दोस्रो, तेस्रो र चौथो । पहिलो दोस्रो चरणमै हो भने चाहिं पाइपको प्रयोग गरेर सुकेको श्वासनलीलाई फुकाउन पनि सकिन्छ । तर तेस्रो र चौथो स्टेजमा भने यसको एक मात्र उपचार भनेको शल्यक्रिया नै हो । तेस्रो र चौथो स्टेजमा शल्यक्रिया गरेर सुकेको भागलाई हटाएर फुकेको भागलाई जोड्नुपर्ने डा. केसी बताउँछन् ।

‘यो निकै जटिल शल्यक्रियामा पर्छ । एउटा शल्यक्रिया गर्न नै ७ देखि ८ घण्टा लाग्छ,’ उनी भन्छन् ।

गहतराजलाई जस्तो समस्या नेपालमा धेरैलाई हुन्छ । तर नेपालमा नै यसको उपचार हुन्छ भन्ने कुरा भने सर्वसाधारण तथा धेरै डाक्टरहरूलाई पनि थाहा नभएको उनी बताउँछन् ।

नेपालमा यसको उपचार सम्भव छ भन्ने कुरा थाहा नपाएर धेरै बिरामी उपचारको लागि भारत जाने गर्छन् । भारतमा यसको उपचार गर्न लगभग १० लाख भारु खर्च हुन्छ । नेपालमा यसको उपचार एकदमै सहज र सस्तो पनि छ । शल्यक्रिया चार्ज, बेडको खर्च र औषधि खर्च सबै गरेर लगभग २ लाख ५० हजार रुपैयाँ खर्च भएको गहतराज बताउँछिन् ।

श्वासनली खुम्चिने समस्याको उपचारका लागि वीर अस्पतालमा दक्ष जनशक्ति भएको केसी बताउँछन् । ‘तीन हप्ताको समयमा अस्पतालमा दुईवटा यस्ता बिरामीको सफल शल्यक्रिया भइसकेको छ । घाँटीमा प्वाल पारेर घाँटीबाट सास फेरिरहेका बिरामीहरूको पनि उपचार सम्भव छ । र, उपचारको लागि विदेश जानुपर्ने बाध्यता पनि छैन ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?