+
+

श्रममन्त्रीसँग श्रमिकको गुनासो : विदेश जाँदा लाखभन्दा बढी असुल्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १६:०५

५ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं रकम लिएको गुनासो सुनाए ।

सरकारले शून्य लागतमा नै खाडीका देश र मलेसियामा श्रमिक पठाउने नीति लिएको छ । अहिले म्यानपावर कम्पनीले मलेसिया जान नै २ लाख भन्दा बढी असुल्ने गरेका छन् ।

श्रममन्त्रीसँग एक श्रमिकका परिवारले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका परिवारका सदस्यको शव ल्याउन नसकेको लगायतका गुनासो पनि पोखे ।

प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार मन्त्री कुँवरले पहिलो दिन ६ जना श्रमिकका गुनासो सुने । श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने आश्वासन दिए । उनले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयका लागि राम्रो भएपनि अन्त्यमा कानुनको कठघरामा ल्याउने अश्वासन दिए ।

मन्त्री कुँवरले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताए । श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानुनी जटिलताहरु रहेको उनको भनाइ थियो । त्यो जटिलता समाधान गर्नका लागि मन्त्रालय कानुन निर्माणमा पनि लागेको उनले बताए ।

नेपालबाट श्रम स्वीकृत गरेर विदेशमा गएर मुत्यु भएका श्रमिकलाई नेपाल ल्याउन कुनै समस्या नरहेको उनले बताए । तर श्रम स्वीकृत नभई विदेशमा पुगेका र त्यहीं मृत्यु भएकालाई नेपाल ल्याउन केही कानुनी जटिलताहरु रहेको उनले बताए ।

‘अहिले सरकारको डाटा अनुसार ४६ लाख नेपाली नागरिकहरु विदेशमा रहनुभएको छ । विदेश जाँदा बुझेर मात्रै जान भन्दै आएका छौं । कामको प्रकृति हेरेर मात्रै विदेश जान बाटो तय गरौं । धेरै कुरा नबुझी जाँदा पनि समस्या आइरहेका छन्’ उनले भने ।

मन्त्रालयमा कलसेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २०० बढि गुनासाहरु आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?