+
+

माओवादीको अन्तर्घात छानबिन समितिको प्रतिवेदनमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १५:३१

६ भदौ, काठमाडौं । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भएका अन्तर्घात छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको छानबिन समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टी कार्यालय परेसिडाँडमा आयोजित कार्यक्रममा संयोजक टंक राईले प्रतिवेदन बुझाएका हुन् । माओवादी केन्द्रको २५ असारको स्थायी समिति बैठकले राई नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

प्रतिवेदन बुझ्दै प्रचण्डल प्रतिवेदनमाथि पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताए । ‘पदाधिकारीका बीचमा पनि छलफल गर्नेछौं’, उनले भने, ‘जरुरी प¥यो भने स्थायी समितिमा पनि छलफल गरेर निर्णयमा पुग्छौं ।’

१५ दिन समय पाएको समितिले केही जिल्लामा स्थलगत अध्ययनमा जानुपर्ने भएका कारण समयमा प्रतिवेदन तयार पार्न नसकेको बताएको छ । छानबिन समितिले प्रदेश १ को उदयपुर र ताप्लेजुङ, मधेशको महोत्तरी र सिरहा, लुम्बिनीको बर्दिया लगायतका जिल्लामा स्थलगत अध्ययन गरेको थियो ।

के छ प्रतिवेदनमा ?

छानबिन समितिका संयोजक राईंले कसैलाई खेद्नका लागि नभई पार्टीलाई अनुशासित बनाउने गरी छानबिन गरेर प्रतिवेदन बुझाएको बताए ।

‘पार्टी हितलाई, कम्युनिष्ट आन्दोलनलाई केन्द्रविन्दुमा राखेर छानबिन गरेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘मान्छेहरुलाई पार्टीबाट खेद्नका लागि होइन । पार्टीप्रति प्रतिवद्ध बनाउन, पार्टीमा अनुशासित ढंगले लाग्ने बनाउने दृष्टिकोणबाट हाम्रो छानबिन र निष्कर्षहरु केन्द्रित छ ।’

गल्ती गर्ने ठूला नेतालाई पनि कारबाहीको सिफारिस गरेको उनको भनाइ छ । ‘हामीले भएको यथार्थ तथ्यलाई राख्ने कोसिस गरेका छौं’, उनले भने, ‘नेताहरुले उन्मुक्ति पाउने, कार्यकर्ता दण्डित हुने स्थिति हुँदैन । गल्ती गरेका ठूला नेता पनि कारबाहीको सिफारिसमा छन् ।’

पार्टी कमिटीहरु विधिसम्मत नचलेको, उम्मेदवार छान्दा व्यापक छलफल नभएको लगायतका कारणले अन्तर्घात भएको पाएको संयोजक राईले बताए ।

‘विधिसम्मत ढंगले कतिपय पार्टी कमिटीहरु नचेको, व्यापक छलफल र अन्तर्क्रिया नभएको यसले गर्दा व्यापक शंकाले समस्या उत्पन्न भएको देखियो’, उनले भने, ‘हामीले पार्टी कमिटी र पार्टी पंक्तिमा चुनाव अगावै यथेष्ट छलफल गर्नुपर्छ, उम्मेदवार बनाउँदा र उम्मेदवार बनाइसकेपछि पनि राम्रो संयोजन गर्नुपर्छ भन्ने सुझाव दिएका छौं ।’

माओवादी केन्द्रले स्थानीय चुनावका बेला विशेष गरी मधेश प्रदेशमा धेरै अन्तर्घात भएको बताउने गरेको छ । अन्तर्घातकै कारण देशभर ५० स्थानीय पालिकामा पराजय व्यहोर्नु परेको माअ‍ोवादीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?