
६ भदौ, काठमाडौं । न्युरोड टिम एनआरटीको मातृसंस्था काठमाडौं खेल मण्डल (केकेएम)ले असोजमा राष्ट्रिय खुला टेवलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी केकेएमले असोज ४ देखि ८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
प्रतियोगितामा ११ विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष एकल, महिला एकल, जुनियर छात्र एकल र जुनियर छात्रा एकल (१९ वर्षमूनि), क्याडेट छात्र र छात्रा एकल (१५ वर्षमूनि) विधाका पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
बाँकी पाँच विधा भेट्रान्सहरुबीच प्रतिस्पर्धा हुनेछ । ६० वर्षमाथि पुरुष, ५० वर्षमाथि पुरुष, ४० वर्षमाथि पुरुष र महिला उमेरसमूहमा प्रतिस्पर्धा हुन लागेको छ ।
पुरुष र महिला एकलतर्फका विजेताले ५० हजार, रजत विजेताले २५ हजार र कांस्य विजेता दुई खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । जुनियर र क्याडेटतर्फ स्वर्ण विजेताले १० हजार, रजत विजेताले ५ हजार र कांस्य विजेताले २५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा विदेशी खेलाडीलाई पनि सहभागी गराउन दक्षिण एसियाली देशहरुमा पत्राचार गरिएको आयोजकको भनाइ छ ।
फुटबललाई प्राथमिकता दिएको केकेएमले एनआरटी टिम सबैतिर परिचित छ । तर, सदस्यहरुबाट अरु खेलमा पनि लगानी र सहभागिता बढाउन माग भएबमोजिम टेवलटेनिस प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सुन्दरनरसिंह जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए । केकेएमले यसअघि क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको इतिहास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4