+
+

काठमाडौंमा छैन बन्दको प्रभाव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १०:५८

७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौं उपत्यकामा सवारी साधनहरु सामान्य रुपमा चलिरहेको र उपत्यकाबाट लामो दुरीका बस पनि चलेको बताए । बिहान अन्य दिनको तुलनामा कम गाडी चले पनि पछि सडकमा गाडी बढ्दै गएका थिए ।

ट्राफिक प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर सवारी साधन चलाउन चालकहरुलाई भनेको छ । बिहानैदेखि प्रमुख चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

यद्यपि सुरक्षाकर्मीको आँखा छलेर बन्दकर्ताले कोटेश्वरमा दुईवटा र थापागाउँमा एउटा बसको सिसा फुटाएका छन् । तर दुबै स्थानका घटनामा ठूलो क्षति नभएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले बताए । केही बन्दकर्ता पक्राउ समेत गरेका छन् ।

काठमाडौं उपत्यकामा बन्दको प्रभाव नभए पनि कैलाली, काभ्रे, रुपन्देही लगायतका जिल्लामा शंकास्पद वस्तु फेला परेका छन् । दाङमा एउटा टिपरमा आगजनी भएको छ ।

सरकारसँग २०७७ सालको फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?