+
+

अनिल झा माधव नेपालसँग भिड्ने, राजेन्द्र महतो के गर्लान् ?

श्रवण देव श्रवण देव
२०७९ भदौ ८ गते ६:५६
माधव नेपाल र अनिल कुमार झा (दायाँ)

८ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाटै दोहोरिन चाहेका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण यादवलाई हराउँदै सांसद निर्वाचित भएका उनी यस पटक क्षेत्र परिवर्तन गर्नेमा मनस्थितिमा छैनन् । ‘म यसै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गर्दैछु’ नेता झाले भने, ‘यो क्षेत्र छाड्ने कुरै भएन ।’

रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि निर्वाचन क्षेत्र हो । उनी पछिल्लो पटक यो क्षेत्रबाट २०७० सालमा निर्वाचित भएका थिए । २०७४ सालमा भने उनी काठमाडौं–२ बाट निर्वाचित भएका थिए । तर ४ मंसिरमा हुने निर्वाचनमा उनी रौतहटबाट उठ्ने तयारीमा रहेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् ।

अनिल झा रौतहट–१ बाट २०७४ सालको निर्वाचनमा २१ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४८४ मत प्राप्त गरेका थिए ।

लोसपाका पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीका क्रममा नेता भण्डारीले भने, ‘म महोत्तरी–२ र अध्यक्ष (महन्थ ठाकुर) पनि पुरानै क्षेत्र महोत्तरी–३ बाट चुनाव लड्ने तयारी गरिरहेका छौं ।’

२०७४ को निर्वाचनमा भण्डारी ३० हजार ७२२ मत ल्याएर महोत्तरी २ बाट निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत प्राप्त गरेकी थिइन् ।

यस्तै, महोत्तरी–३ बाट महन्थ ठाकुर २७ हजार ५ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता विजयकुमार चौधरीले ८ हजार ९७७ मत प्राप्त गरेका थिए ।

राजेन्द्र महतोको अन्योल ?

२०७४ को निर्वाचनमा चर्चित उम्मेदवार मध्येका एक थिए राजेन्द्र महतो । आफ्नो सर्लाहीको निर्वाचन क्षेत्र छाडेर धनुषा–३ बाट उम्मेदवारी दिएका उनले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । महतोले ३० हजार ७४२ मत पाउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए ।

राजेन्द्र महतो

तर महतो यसपटक धनुषा–३ बाट उम्मेदवारी दिने मनस्थितिमा छैनन् । उनले कूटनीतिक भाषामा पार्टीले निर्णय नगरिसकेको बताउने गरेका छन् । ‘पार्टीले जहाँबाट उम्मेदवारी दिने भन्छ, त्यहींको उम्मेदवार बन्ने हो । अहिले त्यस्तो कुनै निर्णय गरिसकेका छैनौं’ उनले भने ।

लोसपा नेता उमाशंकर अरगरिया पनि पुरानै निर्वाचन क्षेत्र धनुषा–२ बाटै उम्मेदवारी दिने तयारीमा छन् । २०७४ सालमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अरगरिया ३२ हजार ४४ मत ल्याएर जित्दा वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झा १८ हजार ७ सय १५ मत ल्याएर दोस्रो भएका थिए । ‘म धनुषा क्षेत्र नम्बर २ बाटै चुनाव लड्छु’ उनी भन्छन्, ‘यस क्षेत्रका जनताले पुनः जिताउनेमा आशावादी छु ।’

लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल २०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

यस पटक कहाँबाट निर्वाचन लड्ने भन्ने निर्क्योल भइनसकेको उनी बताउँछन् । उनले पार्टीले जहाँबाट, जुन तहमा लड्न निर्देशन दिन्छ, आफू त्यसकै निम्ति तयार रहेको बताए ।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताहरु सबैले चुनाव जितेका थिए । त्यतिबेला राजपा अध्यक्ष मंण्डलमा रहेका नेतामध्ये राजकिशोर यादव हाल जनता समाजवादी पार्टी (जसपा)मा र महिन्द्र राय यादव नेपाल समाजवादी पार्टी (नेसपा)मा छन् ।

लोसपाले मधेश प्रदेशलाई आफ्नो आधार क्षेत्र मान्दै आएको छ । नेता अनिल झा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो सिट आउन सक्ने भएपनि आधार क्षेत्र मधेश प्रदेश नै भएको बताउँछन् ।

नेता शरतसिंह भण्डारी पहिलेको निर्वाचनमा भन्दा राम्रो परिणाम ल्याउने गरी तयारी गरेको बताउँछन् । ‘हामी निर्वाचनको तयारीमा लागिपरेका छौं’, उनले भने, ‘अहिलेको अवस्थाभन्दा हामी कमजोर हुँदैनौं । यो भन्दा राम्रो परिणाम पनि आउन सक्छ ।’

गठबन्धनकै भर

२०७४ को निर्वाचनमा सम्पूर्ण शीर्षस्थ नेताले जित्नुको प्रमुख आधार थियो गठबन्धन । तत्कालिन राजपा र संघीय समाजवादी फोरमबीच चुनावी गठबन्धन बनेको थियो । यो गठबन्धनले सार्थकता पाउँदा दुबै पार्टीका शीर्ष नेताहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे ।

२०७४ को निर्वाचनमा गठबन्धन बनाएका यी दुई दल अहिले दुईतिर छन् । तत्कालिन संघीय समाजवादी फोरम (अहिलेको जनता समाजवादी पार्टी) सत्तारुढ गठबन्धनमा छ भने अहिलेसम्म लोसपा एक्लै छ । एक वर्षअघिसम्म यी दुई दलको एकता भएर नै जसपा बनेको थियो । पछि पूर्व राजपाका नेताहरु बाहिरिएर लोसपा बनाएका छन् । लोसपाका नेता गजेन्द्र मण्डल ४ मंसिरको निर्वाचनमा पनि गठबन्धन गरेरै जानुपर्ने बताउँछन् ।

नेता भण्डारी पनि सत्तारुढ गठबन्धनसँगै कुराकानी भइरहेको बताउँछन् । ‘यो गठबन्धनसँग धेरै कुरामा सहमत छौं । त्यही भएर गठबन्धन हुन्छ’ उनले भने । एमालेले नागरिकता विधेयकको विरोध गरेकाले उनीहरुसँग गठबन्धन हुने सम्भावना नभएको उनी बताउँछन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?