News Summary
Generated by OK AI. Editorially reviewed.- साहित्यकार भवानी अधिकारी र निर्देशक नवीन सुब्बालाई यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ प्रदान गरिएको छ।
२६ साउन, काठमाडौँ । साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ ।
दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ ले सोमबार आयोजना गरेको एक समारोहका बीच पुरस्कार प्रदान गरिएको हो ।
साहित्यकार, पूर्वमन्त्री एवं संविधानसभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र दाहाल यज्ञनिधि सुधा सदनकी अध्यक्ष सुधा दाहालले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कारको राशी एक लाख ५० हजार रहेको छ ।
अधिकारीका ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायतका कृति प्रकाशित छन् । उनले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’, ‘मरुभूमि’ लगायतका कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेका छन्।
त्यसैगरी, विसं २०४० को दशकदेखि पत्रकारिता र सिनेमा समीक्षा हुँदै निर्देशनमा प्रवेश गरेका नवीन सुब्बा नेपाली मौलिक चलचित्र निर्माणका अग्रणी व्यक्तित्व हुन् । उनले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ तथा ‘गाउँ आएको बाटो’जस्ता बहुचर्चित चलचित्र तथा शृङ्खलाको निर्देशन गरिसकेका छन् । उनी हाल ‘लाहुरे जुत्ता’ नामक नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।
विसं २०१० साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र सञ्चार क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उनका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), दाहाल यज्ञनिधिको जीवन चर्चा र कृति चर्चा ‘जदौ’ (२०६९), दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) लगायत जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन् ।
दाहालका नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा ५१ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ ।
दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)को कक्षा ८ बाट उत्तीर्ण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रछात्रालाई प्रदान गरिन्छ । उक्त पुरस्कार यसवर्ष आराध्या सिंह, प्रतिक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपसना बज्राचार्य र सफलबहादुर खड्कालाई प्रदान गरिएको छ ।
सो पुरस्कारको राशि २० हजार नगद र प्रमाणपत्र रहेको छ ।
प्रतिक्रिया 4