+
+
Shares

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको फैसला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरियाको अदालतले युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको छ।
  • अदालतले असदका नातेदार तथा पूर्व सुरक्षा प्रमुख आतेफ नजीबलाई पनि बालबालिकाको हत्या र यातना दिएको अभियोगमा मृत्युदण्डको सजाय तोकेको छ।
  • सन् २०११ मा दाराबाट सुरु भएको सरकारविरोधी विद्रोहका कारण उत्पन्न गृहयुद्धमा लाखौँ मानिसले ज्यान गुमाएका थिए।

२६ साउन, काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

डिसेम्बर २०२४ मा आफ्नो शासन ढलेपछि असद परिवारसहित दमास्कसबाट भागेर मस्को पुगेका थिए। यससँगै उनको परिवारको पाँच दशक लामो सत्तामाथिको पकड अन्त्य भएको थियो।

यसै मुद्दामा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्व प्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ। न्यायाधीशले फैसला सुनाउँदा उनी अदालतभित्र एउटा पिँजडामा राखिएका थिए।

दारालाई असद शासनविरुद्धको विद्रोह सुरु भएको स्थानका रूपमा लिइन्छ।

सन् २०११ को मार्चमा सरकारविरोधी भित्ते लेख लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिइएको घटनाले दारा सहरमा विरोध प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरेको थियो।

त्यसको प्रतिक्रियाले देशभर फैलिएको प्रदर्शनलाई थप चर्काउन मद्दत गर्‍यो र यो अन्ततः गृहयुद्धमा परिणत भयो । उक्त युद्धमा लाखौँ मानिस मारिएका थिए।

५ दशकभन्दा बढी समय सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको सुरुदेखि मुद्दा चलाउन थालेको हो।

नजीब मुद्दा चलाइएका उच्च तहका अधिकारीमध्ये एक हुन्।

उनलाई ५ वर्षभन्दा कम उमेरका बालबालिकाको जानाजानी हत्या र मृत्यु हुने गरी यातना दिएको लगायतका अपराधमा दोषी ठहर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?