+
+
Shares

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो : बेपत्ता सुरक्षागार्ड मृत भेटिए   

पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत्गृहमा सुरक्षागार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय दीपक बरुवाल (खेमराज) को कार्यस्थलमै शव भेटिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।    

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा आज बिहान खसेको सुक्खा पहिरोमा परी १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाका सुरक्षागार्ड ५५ वर्षीय दीपक बरुवालको मृत्यु भएको छ ।
  • पहिरोमा परी घाइते भएका ३१ वर्षीय इलेक्ट्रिकल ओभरसियर सुरेन्द्र विकको बेनी अस्पतालमा उपचार भइरहेको छ भने अर्का कर्मचारी सकुशल बाहिर निस्कन सफल भएका छन् ।
  • आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको छ र प्रहरीले घटनामा पुगेको क्षतिको विवरण संकलन गर्न सुरु गरेको छ ।

२६ साउन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा आज पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

विद्युत्गृहमा कार्यरत एक जना प्राविधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ ।

म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत्गृहमा सुरक्षागार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय दीपक बरुवाल (खेमराज) को कार्यस्थलमै शव भेटिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार बिहान ३:३५ को समयमा विद्युत्गृह माथिबाट खसेको ढुङ्गा माटोसहितको सुक्खा पहिरोमा पुरिएका बरुवालको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले डोजर परिचालन गरेर एक घण्टाको प्रयासमा निकालेर परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको छ ।

झ्यालबाट हाम फालेर ज्यान जोगाए

विद्युतगृहमा काम गरिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका इलेक्ट्रिकल ओभरसियर गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।

सिफ्ट इन्चार्जसमेत रहेका अर्का इलेक्ट्रिकल ओभरसियर पाल्पाको निस्दी गाउँपालिका–५ का २४ वर्षीय छविलाल अर्यालले विद्युत्गृहमा थुनिएको अवस्थामा रसिको सहायताले बाहिर निस्कन सफल भएको बताए ।

‘कन्ट्रोल रुममा डियुटी गरिरहेको अवस्थामा खस्याक्क गरेको आवाज आएपछि भुईतलामा रहेका सुरेन्द्रलाई खबर गरेर भाग्दा भाग्दै १० सेकेण्डले पहिरोबाट बचे,’ उनले भने, ‘झ्यालबाट हाम फालेर क्याम्पमा पुगेका सुरेन्द्रले साथी र सुरक्षाकर्मीलाई खबर गरेपछि बिहान ४ बजेतिर मलाई रसी दिएर बाहिर निकाल्नुभएको हो । चोटपटक नलागेपनि पहिरोले पुरिएको विद्युतगृहभित्र २०–२५ मिनेट के–भयो केही पत्तै पाइन, नयाँ जिवन पाएको महसुस गरेको छु ।’

आयोजना बन्द

पहाड काटेर बनाइएको विद्युतगृह भन्दा माथि रहेको पहाड भत्किएर पहिरो खसेको छ ।

अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमाना कुरिलाबगरमा बाँध रहेको आयोजनामा तीन हजार ५०० मिटर लामो सुरुङबाट ल्याइएको पानी ४८५ मिटर उचाईबाट एक हजार २०० मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिएको थियो ।

२०७४ सालदेखि निर्माण सुरु भई २०८० साल असार महिनादेखि विद्युत् उत्पादन थालेको आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम तयारीमा रहेको अवस्थामा प्राकृतिक विपद्का कारण क्षति ब्यहोर्नुपरेको हो ।

प्रहरी निरीक्षक तिमिल्सिनाले आयोजनामा पुगेको क्षतिको मूल्यांकन सुरु गरिएको र पूर्ण विवरण आउन केही समय लाग्ने बताए ।

पोखरेबगरवासी शोकमा

पोखरेबगरका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य अधिकृत समुन्द्र बरुवालले नसोचेको ठाउँबाट सक्खा पहिरो खसेर जनधनको क्षति पुगेको बताए ।

रातिको समयमा प्रवेशद्धारमा बसेर जिम्मेवारी निर्वाह गरिरहेका दीपकको भाग्दाभाग्दै ज्यान गएको घटनाले गाउँपालिकाको केन्द्र पोखरेबगर शोकमा डुबेको बताए ।

अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले सहयोगी र स्वदेशमै केही गरौं भन्ने भावनाले संघर्ष गरिरहेका एक जना वडावासीलाई गुमाउनुपर्दा दुःख लागेको प्रतिक्रिया दिए ।

आयोजना र मृतकका परिवारबीच क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि शव परीक्षणका लागि अस्पताल पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?