+
+
ब्लग :

न्यूनतम मानवीय जीवनबाट वञ्चितका कथा

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०७९ भदौ ८ गते १७:५२

गायक जेबी टुहुरेको एउटा प्रसिद्ध गीत छ ‘आमा दिदीबहिनी हो, कति बस्छौं दासी भै, सुखको सधैं प्यासी बनेर !

करिब ६ महिनाअघि रौतहटको राजपुर नगरपालिकाको वडा नं २ मा अवस्थित पतवा गाउँका महिलाहरूसँग अन्तरक्रिया कार्यक्रम थियो । त्यहाँ ४० को दशकमा लेखिएको उक्त गीत पनि अहिलेसम्म उत्तिकै सान्दर्भिक र मार्मिक भएको अनुभूति भयो ।

उक्त गीतले महिला उत्पीडनबारे बोले जस्तो परिस्थिति गणतान्त्रिक नेपालका महिलाले पनि भोग्नुपरिरहेको छ । अहिले पनि महिला शोषण, दमन र उत्पीडन भोग्न बाध्य छन् ।

भन्नलाई काठमाडौंको सिंहदरबार उनीहरूको गाउँमा आएको छ, तर दरबार मात्रै आएको छ, सुशासन र विकास आएको छैन । उक्त अन्तरक्रिया चलिरहँदा अनौठो अनुभूति भयो । सो गाउँका सुखाडी बैठा दलित समुदायको तर्फबाट नगरपालिकाको कार्यपालिका सदस्य रहेछन् ।

मुस्लिम बहुल वडा भएको हुँदा जनप्रतिनिधिहरू सबै मुस्लिम रहेछन् । यावत् परिवर्तनका बावजुद पनि ती महिलाहरूले अन्याय र उत्पीडनमा जीवन कटाइरहेको पाएँ ।

सो गाउँका मुस्लिम, दलित तथा अन्य सीमान्तकृत समुदायबाट आएका करिब १६ जना महिलासँग गरिएको करिब डेढ घण्टाको कुराकानीबाट उत्साहित हुने कुनै कुरा सुन्न पाइनँ । त्यहाँबाट बस चढेर जाँदा जिल्ला सदरमुकाम गौर ३० देखि ४५ मिनेटमै पुगिन्छ, तर त्यहाँ भएका अधिकांश महिला त्यहाँसम्म पनि पुगेका छैनन् ।

उनीहरूलाई उपचार, रोजगार, पर्यटन जस्ता कुनै कामको लागि पनि त्यहाँ जाने काम परेको छैन वा कसैले लगेको छैन । अर्थात् उनीहरूको संसार केवल त्यही फतुवा गाउँमा सीमित छ ।

अधिकांश महिला कुनै न कुनै प्रजनन् सम्बन्धी वा अन्य रोगबाट पीडित छन् । जिल्ला अस्पताल गौरमा रहेको छ, तर त्यहाँसम्म जाने पैसा पनि छैन । त्यहाँ गयो भने राम्रो उपचार पाइन्छ र जीवन थप सुखमय हुन्छ भन्ने चेतना पनि छैन ।

कहिलेकाहीं घुम्ती स्वास्थ्य शिविर गाउँमा आउने रहेछ, कतिपयले त्यसैबाट काम चलाएका छन् वा मौलवीबाट झारफुक विधिबाट उपचार गराएका छन् । सञ्चो भयो भने अति उत्तम, भएन भने जिन्दगी एकदिन यसै पनि मर्ने नै हो, भलै त्यो मरण अल्पायुमै किन नहोस् ।

भेटिएका अनुहार उमेरभन्दा धेरै चाउरिएको देख्दा उनीहरूले सुत्केरी वा अन्य बिरामी हुँदा कुनै राम्रो स्याहार र पोषण पाएका थिएनन् भन्ने थाहा पाउन कुनै स्वास्थ्यकर्मी हुनुपर्ने थिएन ।

भेटिएका १६ जना महिलाका चार जना पुरुष सदस्य वैदेशिक रोजगारको सिलसिलामा अरब र मलेशिया गएको भेटियो । तर ‘नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै’ भन्ने उखान यहाँ पनि लागू हुन्छ । करिब दुई देखि अढाइ लाख खर्च गरेर गएको रोजगारमा पनि कसैको पनि भविष्य सुनिश्चित देखिएन ।

कतिसम्म भने प्रभा बैठाको छोरा मलेशिया गएका थिए । धन कमाएर खुसी भित्र्याउने उनको सपना अलपत्र परेको छ किनकि उनी उतै बेपत्ता भए । उनी जिउँदो छन् कि मरिसके, उनको परिवारलाई केही खबर छैन । श्रीमती र दुई वटा छोरी घरमा भएतापनि उनीहरूको जिम्मेवारीबाट उनी बेखबर छन् । विचरी उसकी श्रीमती माइती र घर गर्दै समय कटाइरहेकी छिन् ।

उता वैदेशिक रोजगारमा गएको बेला लागेको ऋण पनि तिरेर सकिएको छैन, त्यसले थप पीडा दिइरहेको छ । उनीहरूको छोरा, श्रीमान् र बाबुलाई जिम्मेवारी बोध गराई देश फर्काउने कुनै माध्यम र प्रक्रिया देखिएन ।

नागरिकताको सवालमा राज्यविहीनताको समस्या भने रहेनछ । उमेर पुगेका सबैको नागरिकता भएको पाइयो । गाउँमा दलितहरूले ६० वर्ष उमेर पुगेपछि भत्ता पाइन्छ भन्ने जानकारी थिएन । त्यसैले सो उमेर समूहका कसैले पनि भत्ता पाएको देखिएन । ७० वर्ष उमेर समूहका वा विधवा भएकामध्ये ४÷५ जनाले भत्ता पाइरहेको देखियो ।

वडाअध्यक्ष तथा मेयरले महिलाहरूको हितका लागि केही नगरेको र भोजभतेर हुँदा भाँडाहरू समेत बाहिरबाट ल्याउनुपर्ने गुनासो गरे । स्वास्थ्यमा गम्भीर समस्या पर्दा एम्बुलेन्स पनि नआउने हुँदा निकै समस्या पर्ने बताए ।

वर्षाको समयमा बकैया खोला सबै गाउँमा पस्दोरहेछ, सो गाउँ डुबानमा पर्दा जिल्ला सदरमुकाम गौर पनि डुबानमा पर्दोरहेछ । त्यसको मतलब सो गाउँलाई डुबानबाट बचाउन सके गौरको डुबानलाई पनि कम गर्न सकिने रहेछ । यी सबै समस्या समाधान गर्न न त जनताले आवाज उठाउँछन्, न त जनप्रतिनिधिहरू नै अग्रसर भएको देखियो ।

मेयर मुस्लिम समुदायका भएको र उनी मुस्लिमहरूका कुनै न कुनै तवरले नातेदार पनि पर्ने भएको हुँदा खासगरी मुस्लिम समुदायले कुनै विरोध जनाउँदैनन् ।

अहिले पनि महिला शोषण, दमन र उत्पीडन भोग्न बाध्य छन् । भन्नलाई काठमाडौंको सिंहदरबार उनीहरूको गाउँमा आएको छ; तर दरबार मात्रै आएको छ, सुशासन र विकास आएको छैन ।

नेपालमा लघुवित्त कार्यक्रम नपुगेको गाउँ भेट्टाउन मुश्किल छ, तर आश्चर्यको कुरा यहाँ कुनै लघुवित्त कार्यक्रम पुगेको देखिएन । संभवतः धेरै गरिब भएकाले हुन सक्छ लघुवित्त संचालकहरूले पनि लगानी र असुलीको संभावना नदेखेर कार्यक्रम नचलाएका होलान् ।

नजिकैको हजमनिया टोलमा एउटा आरडीसी भन्ने गैरसरकारी संस्थाले काम गर्ने रहेछ । त्यहाँका वडाअध्यक्षले सो गैरसरकारी संस्थासँग राम्रो समन्वय गरेका छन् । त्यसैले त्यहाँ सबै कामहरू भएको देख्छन्, तर आफ्नो गाउँमा कुनै काम भएको ठान्दैनन् । पहिले गाविस हुँदा नै गाउँका केही बाटोहरू ढलान भएको रहेछ, तर अहिले नगरपालिका भएपछि भने कुनै काम भएको छैन ।

अझै पनि धेरै गाउँका सडक बनाउनुपर्ने तथा बाढीको निकासको लागि नाला तथा ढल बनाउनुपर्ने ठान्छन् । आर्थिक तथा सामाजिक हिसाबले मुस्लिम र दलितहरूको अवस्थामा खासै भिन्नता छैन ।

रोपाइँको समयमा महिलाहरूले धान रोप्ने तथा गोडमेल गर्ने काम पाउँदा रहेछन् र ज्याला दिनको रु.२५० । सो काम वर्षभरिमा जम्मा १५ दिन जति हुने रहेछ, अतः त्यसबाट हुने आम्दानीले कुनै गर्जो टर्ने देखिएन ।

सो क्षेत्रमा इँटाभट्टाहरू रहेको तर त्यसमा काम गर्न जाने परिवार भेटिएन । धेरैजसो परिवारको ५÷१० धुरमा घडेरी रहेछ, कसै–कसैको त त्यति जग्गा पनि नभएर भूमिहीन पनि रहेछन् । केही जग्गा हुनेमध्येको २÷३ कट्ठा जमिन रहेछ तर बाढीले असर गर्ने हुँदा खेती पनि राम्रो नहुने रहेछ ।

कोही–कोही भारतमा पनि गएर रोजगार गर्ने रहेछन् भने कसैले भैंसी पालेर राम्रै पनि गरेको देखियो । दूध बेच्नको लागि कुनै समस्या रहेनछ । अतः गरिब घरपरिवारलाई एक–एक वटा भैंसी पाल्न दियो भने पनि उनीहरूलाई गरिबीबाट मुक्त गर्न सकिने देखियो ।

छुवाछूत र भेदभाव सो गाउँमा त्यति नभएको देखियो, तर मुस्लिम र हिन्दु बस्ने हुँदा साम्प्रदायिक हिसाबले कसै–कसैले व्यवहार गर्ने बताए, तर त्यो त्यति ठूलो समस्याको रूपमा नभएको देखियो । अर्थात् समान आर्थिक हैसियत तथा बाँच्नैका लागि धेरै संघर्ष गर्नुपर्ने भएको हुँदा यस्ता विषयमा उनीहरूलाई सोच्ने फुर्सद पनि नभएको देखियो । दुवै समुदाय शोषित र उत्पीडित भएको हुँदा एउटा शोषितले अर्को शोषित माथि के टिप्पणी र वैरभाव राख्नु !

तीन तहको सरकार भएतापनि केन्द्र र प्रदेश सरकारबारे ती महिलाहरूलाई कुनै जानकारी थिएन । उनीहरूले मन्त्री जोगेन्द्र यादव १ नं क्षेत्रका सांसद हुन् भन्ने सुनेका रहेछन् ।

त्यस्तै चर्चित मधेशी नेता तथा मन्त्री अनिल झाकी श्रीमती डिम्पल झा, माओवादीबाट जितेका प्रभु साहबारे पनि सुनेका रहेछन् । तर उनीहरूले सो क्षेत्र तथा गाउँको विकासको लागि के काम गरे भन्ने कुनै जानकारी राखेका रहेनछन् । अन्यसँग बुझ्दा पनि यी नेता तथा जनप्रतिनिधिहरूले ती अमानवीय जीवन बाँचिरहेका महिलाहरूलाई प्रत्यक्ष लाभ हुने कुनै काम गरेको देखिएन ।

मुस्लिम बहुल क्षेत्रमा बहुविवाह, बालविवाह र तलाक ठूलो समस्याको रूपमा रहेको छ । किनभने छोरीहरूको विवाह ८÷९ वर्षको उमेरमा हुने, १८÷१९ वर्षको उमेरमा गौना हुने र मन नपर्दा तलाक हुने रहेछ । अतः सानै उमेरमा हुने विवाहलाई विभिन्न अभियानबाट रोक्नुपर्ने देखियो ।

यो आलेख तयार गर्दा पहिलो स्थानीय तह आफ्नो अन्तिम कार्यकालमा थियो, अहिले पूर्व मन्त्री महमद अफताब आलमका युवा पुत्र डा. राजिक आलम मेयर छन् ।

उनको पारिवारिक विरासत जे भए पनि उनले यी गाउँका दलित तथा मुस्लिम महिलाहरूको जीवनमा खुसी ल्याउने सानोभन्दा सानो काम गरे भने पनि धन्यवादका पात्र हुनेछन् !

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?