+
+

माफ गर्नु ल जेबी दाइ, हामीले सकेनौं !

सुरेन्द्र बस्नेत सुरेन्द्र बस्नेत
२०७९ भदौ ९ गते ८:५६

‘दाइ बुवालाई एक्कासी स्ट्रोक भयो । वयोधामा ल्याएको छ । छिटो आउनु न !’ ०७८ सालको भदौ १ गते दिउँसो अलि आत्तिएको स्वरमा निर्भिका टुहुरेको मोबाइलबाट यस्तो आवाज गुञ्जियो । ‘नआत्तिनु हामी आउँदैछौं’ भनेर मैले फोन राखें । मित्र रञ्जितजीलाई फोन गरें । ढिला नगरी हामी दुवै जना वयोधा अस्पताल तर्फ लाग्यौं । थरर.. शरीर कमाउँदै बल्खुस्थित वयोधा अस्पतालको तेस्रो तलामा पुग्यौं । निर्भिकाहरु पुरै अत्तालिएका थिए । त्यसपछि रञ्जितजी र म पालैपालो निलो एप्रोन लगाएर जेबी दाइलाई भेट्न पुग्यौं । म भित्र पस्नासाथ जेबी दाइले भन्नुभयो ‘सुरेन्द्र भाइ मलाई बचाउनु है, म केही समय बाँच्न चाहन्छु । मेरो केही काम बाँकी छ ।’

यसो भनिरहंदा जेबी दाइ निकै छट्पटाइ रहनुभएको थियोे । यो देख्दा मलाई एकसाथ दुई खालको अनुभूति भयो । एक मनले यति मजाले दोहोरो संवाद गर्ने जेबी दाइलाई तत्काल केही हुँदैन, उहाँ यो पटक पनि विगतमा जस्तै सजिलै घर र्फकनु हुन्छ जस्तो लाग्यो । अर्को मनले स्ट्रोक भएका ७८ वषर्ीय जेबी दाइ संकटमा हुनुहुन्छ भन्ने पनि लाग्यो ।

भारी मनले जेबी दाइको उत्साह बढाउने कोशिस गर्दै मैले भनें- ‘जेबी दाइ हामी तपाईंलाई जसरी पनि बचाउँछौं । चिन्ता नगर्नुहोस्, सब ठिक हुन्छ ।’

तर आज मलाई भन्न मन छ- ‘सरी जेबी दाइ, हामीले तपाईंलाई बचाउन सकेनौं । बचाउँछौं भनेर शायद हामीले तपाईंलाई ढाँट्यौं ।’ भदौ १० गते १२ः३० बजे त्यही सीसीयू कक्षमा जेबी दाइले अन्तिम श्वास फेर्दा हामी निरीह भएर हेरिरह्यौं, मात्र हेरिरह्यौं ।

जेबी दाइले नै उठाएका र जगाएका लाखौंलाख आमा, दिदी-बहिनीहरु र शुभेच्छुकहरुको पुकारलाई न त मेडिकल साइन्सले बुझ्न सक्यो न त निष्ठुरी नियतिले नै ।

उमेरले बुवा समान भए पनि हामी जेबी टुहुरेलाई ‘जेबी दाइ’ भनेर बोलाउँथ्यौं । मिति २०७५ साल चैतमा कलंकीस्थित जेबी दाइको निवासमा म, वीरेन्द्र बस्नेत र रञ्जित तामाङ पुगेका थियौं ।

आधा शताब्दीसम्म नेपाली जनवादी गीत संगीत मार्फत् विशिष्ट योगदान पुर्याउनु भएका जेबी टुहुरेको नाममा उहाँ जीवित हुँदै फाउण्डेसन स्थापना गर्ने प्रस्ताव लिएर हामी गएका थियौं । त्यसअघि पूर्व भ्रमणमा रहेको बेला विराटनगरमा वीरेन्द्रले जेबी दाइलाई उक्त प्रस्ताव राखेका रहेछन् । त्यही दिन जेबी टुहुरे फाउण्डेसनको जग तयार गरियो ।

कान्छी छोरी निर्भिकालाई अध्यक्ष बनाउने प्रस्ताव गर्यौं । अनि पटक-पटकको छलफलपछि सरल सहयात्री, सुरेन्द्र बस्नेत, रञ्जित तामाङ, वीरेन्द्र बस्नेत, सुवोध गौतम, राधिका ओझा, मधु गुरुङ, खेम नेपाली, उदय श्रेष्ठ, राजेस थापा, डा.अनुपम घिमिरे रहने गरी फाउण्डेसनको टिम निर्माण गरियो । आफू जीवित हुँंदै आफ्नै नाममा फाउण्डेसन स्थापना हुँदा जेबी दाइ अत्यन्तै खुसी र उत्साहित हुनुहुन्थ्यो ।

सुरेन्द्र बस्नेत

जेबी दाइसँग अनेकानेक सम्झनाहरु रहेका छन् । स्कुले जीवनमै हुँदा हाम्रो घरमा जेबी टुहुरेको गीत नगुञ्जिएको दिन विरलै हुन्थ्यो । जति सुने पनि नअघाइने उहाँका गीतहरु कालजयी, अजर, अमर थिए र छन् । उहाँको अन्तस्करणबाटै निस्कने कम्पनयुक्त आवाजले हृदयलाई सिधै तरङ्गति र उद्देलित पार्दथ्यो ।

बचपनमा मेरा लागि जेबी टुहुरे एक मिथक जस्तै हुनुहुन्थ्यो । त्यतिबेला उहाँ जस्तो महान गायकसँग भेट होला, चिनजान होला, सहकार्य होला भन्ने कल्पना भन्दा बाहिरको कुरा थियोे ।

दमकमा एकजना राम विष्ट भन्ने दाइले बेलाबेलामा जेबी टुहुरेको गीतमा आफूले मादल बजाएको प्रसंग सुनाउनु हुन्थ्यो । जेबी टुहुरेको गीतमा मादल बजाउने भन्ने सुनेरै मेरो उहाँप्रति उच्च सम्मान थियोे र उहाँलाई भेट्दा म निकै प्रफुल्लित हुन्थें । त्यसबाहेक हाजिरीजवाफ प्रतियोगितामा जेबी टहुरेको वास्तविक नाम के हो ? भनेर पटक-पटक दोहोरिरहने प्रश्नमा जुरुक्क उठेर शानपूर्वक ‘ जुठबहादुर खड्गी’ भनेको झलझली आउँछ ।

तर एसएलसी सकेर झापाबाट काठमाडौं आएपछि भने ती मेरा निम्ति मिथक जस्तै बनेका टुहुरेसँग विभिन्न कार्यक्रममा भेट हुन थाल्यो । उहाँलाई पछ्याउँदै गएपछि उहाँले पनि राम्रोसँग चिन्न थाल्नु भयो । पाएसम्म, भेटेसम्म र भ्याएसम्म उहाँका लाइभ कार्यक्रम छुटाइएन । काठमाडौंका खुलामञ्चदेखि राष्ट्रिय सभागृहसम्म, राष्ट्रिय नाचघरदेखि प्रज्ञा प्रतिष्ठानसम्म, त्रिभुवन विश्वविद्यालयदेखि आरआर क्याम्पससम्म टुहुरेलाई मैले पछ्याइरहें ।

जेबी टुहुरे इतिहासदेखि वर्तमानसम्म, झुपडीदेखि महलसम्म, गाउँदेखि शहरसम्म, वृद्धदेखि वयस्कसम्म, महिलादेखि बच्चासम्म, किसानदेखि मजदुरसम्म उत्तिकै प्रिय र सम्मानित हुनुहुन्थ्यो । उहाँ गाउँबस्तीहरुका उत्पीडित जनताको मात्र हैन, शहरका ठूलठूला महलभित्र पिँजडा सरहको सामाजिक बन्धनमा थुनिएका तमाम आमा, दिदी-बहिनीहरुको ढुकढुकी हुनुहुन्थ्यो । मदन भण्डारीदेखि प्रचण्डसम्म, माधव नेपालदखि झलनाथ खनालसम्म, केपी ओलीदेखि बाबुराम भट्टराईसम्म आखिर जेबी दाइको ‘फ्यान’ नबनेका को चाहिँ थिए होला र ! मञ्चमा जेबी दाइ उभिएपछि के नेता, के कार्यकर्ता, के जनता सबैथोक बिर्सिएर मन्त्रमुग्ध हुन्थे । हजारौं हजारलाई एकसाथ नचाउने जादुमयी स्वर र अपिल हुन्थ्यो उहाँको गीतमा ।

२००१ साल कार्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनुभएका टुहुरेेले २०२४ सालदेखि गीत रेकर्ड गराउन थाल्नुभएको थियो । वि.सं.२०२५ सालबाट पूर्व कोशी प्रान्तीय कमिटी मार्फत् कम्युनिष्ट पार्टीको सदस्यता लिएका टुहुरेले आफ्नो सिंगो जीवन कम्युनिष्ट आन्दोलनमा बिताउनुभयो ।

वि.सं. २०३४ सालमा रेकर्ड भएको उहाँको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको जागरण गीत अत्यन्तै चर्चित छ । टुहुरेले गीत संगीतका माध्यमबाट तत्कालीन पञ्चायती कालरात्रीका विरुद्ध जनतालाई जागृत गर्न र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रही उल्लेखनीय योगदान पुर्याउनुभयो ।

टुहुरे २०५२ देखि २०५९ सम्म राष्ट्रिय जनसांस्कृतिक मञ्चको अध्यक्ष, सांस्कृतिक संस्थानको अध्यक्ष हुँदै २०७० सालमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट संविधानसभाको सदस्य बन्नुभएको थियोे । त्यसबखत उहाँले व्यवस्थापिका संसदको श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । त्यसपछि टुहुरे लगातार नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा हुनुहुन्थ्यो । टुहुरेकी श्रीमती सतिदेवी, एक छोरा भ्रमण र चार छोरीहरु शोभा, भूमिका, श्रमिका र निर्भिका हुनुहुन्छ ।

जेबी टुहुरेको जीवनका आखिरी वर्षहरूमा मैले धेरै नजिक भएर सहयात्रा गर्न पाएँ । झण्डै आधा शताब्दी भन्दा बढी कम्युनिस्ट आन्दोलनमा अथक संघर्ष र योगदान गर्नुभएका टुहुरेलाई उहाँका धेरै सहयात्रीहरुले झण्डै बिर्सन थालेका थिए । २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकको सूचीमा राखेर माओवादीले उहाँलाई ७० वर्षको उमेरमा संविधानसभा सदस्य बनाएको थियो । टुहुरे जीवनको अन्तिम क्षणसम्म माओवादी पार्टी र अध्यक्ष प्रचण्डप्रति अत्यन्तै आभारी हुनुहुन्थ्यो । एकदिन मसंग जेबी दाइले भन्नुभयो ‘सुरेन्द्र भाइ संविधानसभाबाट संविधान जारी गर्न सकिएकोमा निकै खुसी लागेको छ ।’

उमेरले हामी बाबु-छोरा जस्तो भएपनि एकदम मिल्ने साथी जस्तै थियौं । मैले भनेको थिएँ, ‘तपाईं त अब इतिहास लेखिनुभयो । भोलि तपाईं नरहे पनि तपाईंले हस्ताक्षर गरेको संविधान युगयुग रहिरहनेछ ।’

जेबी दाइ जीवित हुँदै उहाँलाई नै साक्षी राखेर हामीले उहाँको नाममा फाउन्डेसन मात्र स्थापना मात्र गरेनौं, ठुल्ठूला सांगीतिक कार्यक्रम समेत गर्यौं । प्रज्ञा भवनमा पूर्व प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा जेबी टुहुरेको एकल साँझ आयोजना गर्यौं । त्यतिबेला एमाले र माओवादी मिलेर बनेको नेकपा एउटै पार्टी थियोे । जेबी दाइको जीवनको आखिरी समयतिर आयोजना भएको त्यस कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली पनि आइदिए हुन्थ्यो भन्ने जेबी दाइको असाध्यै ठूलो चाहना थियोे । उहाँको चाहना पूरा गराउने उद्देश्यले बालुवाटारको ढोका धेरै नै ढक्ढक्यायौं, तर जेबी दाइको त्यो चाहना पुरा गर्न सकेनौं । खै किन हो कार्यक्रममा केपी ओली आउनु भएन ।

फाउण्डेसनकै आयोजनामा सर्लाहीमा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा पनि भव्य कार्यक्रम भयो । विराटनगरमा मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा त्यस्तै भव्य कार्यक्रम आयोजना गरियो । यो सबै देखेर जेबी दाइ मसँग बेलाबेला भन्नुहुन्थ्यो, ‘भाइ फाउण्डेसन स्थापनापछि त मैले नयाँ जीवन पाएजस्तै भएको छ ।’

अस्पतालमा वाक्य बस्नु अघि जेबी दाइले मसँग भनेजस्तो उहाँको भौतिक शरीर त हामीले बचाउन सकेनौं । तर एउटा श्रष्टा र युग द्रष्टा आफ्ना सृजनाहरुमा नै युगयुग बाँचिरहन्छ । जेबी टुहुरेलाई उहाँका योगदानलाई समाजमा स्थापित गर्ने र अधुरा सपनाहरु पुरा गरेर नै बचाइरहन सकिन्छ जस्तो लाग्छ । हामी त्यही अभियानमा छौं । नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको महाअभियानमा टुहुरेले पुर्‍याउनु भएको विशिष्ट योगदान सदा स्मरणीय रहनेछ ।

भदौ १० गते प्रथम स्मृति दिवसको सन्दर्भमा टुहुरेको जन्मभूमि धरानमा ‘जेबी टुहुरे स्मृति सन्ध्या र श्रष्टा सम्मान’ कार्यक्रम हुँदैछ । टुहुरेका चर्चित र कालजयी गीतहरु डेढ दर्जन राष्ट्रिय स्तरका ख्यातिप्राप्त गायकहरुले गाउनेछन् । टुहुरेको स्मृतिमा स्थापित रु.एक लाख राशीको श्रष्टा सम्मान पुरस्कारबाट ‘बसाईं हिँड्नेको ताँतीले..’ गीतका रचनाकार लव प्रधान सम्मानित हुनुहुनेछ ।

जेबी दाइ ! तपाईं जिन्दगीभर जनताको व्यवस्थाको लागि लड्नुभयो । सदैव न्याय, समानता र स्वतन्त्रताको ध्वजा उठाइरहनुभयो । आज तपाईंको समेत हस्ताक्षरमा मुलुकमा संघीय गणतन्त्रको नयाँ संविधान जारी भएको छ । तपाईंले जगाएका आमा दिदी-बहिनीहरु राष्ट्रप्रमुख, संसद प्रमुखदेखि न्यायालय प्रमुखसम्म बनिसकेका छन् । तपाईं यी सबै परिवर्तनको एउटा संवाहक मात्र नभएर, जीवित साक्षी समेत बन्नु पाउनुभयो । तपाईंले भनेजस्तै जनताको सुदिन भने अझै आइसकेको छैन । हामी भुल्ने छैनौं तपाईंका सपनाहरु ! तपाईंले बालेको दियो हामी निभ्न दिने छैनौं !

अन्तिममा जेबी दाइको गीत जेबी दाइकै सम्झनामा –

मृत्यु पनि मान्छे पिच्छे फरक हुँदोरहेछ !

जनताको छोरो मर्दा देशै रुँदो रहेछ !!

(जेबी टुहुरे फाउण्डेसनका संस्थापक सदस्य समेत रहेका बस्नेत हाल राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?