+
+

ललितपुरको दाबी : २ महिना खोज्यौं, प्रयोजन मिचिएका भूमिगत पार्किङ भेटेनौं 

नियम मिचेको भेटिए कानुनअनुसार कारबाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १९:३३
फाइल तस्वीर

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका लागि नक्सा पास भएका संरचना अन्य प्रयोजनमा प्रयोग भएपछि धमाधम खाली गराउँदैछ, यही बेला ललितपुरमा पनि माग उठेको छ, ‘यता पनि यस्तो अभियान थाल्नु पर्‍यो ।’

तर, ललितपुर महानगरपालिकाले भने नगर क्षेत्रमा अहिलेसम्म यस्तो भूमिगत पार्किङलाई अन्य प्रयोजनमा लगाएको भवन नभेटिएको दाबी गर्छ । ललितपुरका नगर प्रहरी प्रमुख सिताराम हाछेथु २ महिनादेखि आफूहरुले यस्ता भूमिगत पार्किङ भएका भवनको निगरानी गरेको बताउँछन् ।

‘६ असारमै हामीले ट्राफिक व्यवस्थापनबारे मेयरसा’बले २१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, त्यसको १५ नम्बर बुँदामा हामीले सपिङ मल र व्यवसायिक भवनमा रहेका पार्किङ प्रयोजन अनुसार छ क छैन भनेर अनगुगन गर्ने योजना बनाएका थियौं,’ अनलाइनखबरसँग कुरा गर्दै हाछेथुले भने,’त्यसअनुसार हामीले २ महिनादेखि पार्किङको सहज व्यवस्थापनका लागि अनुगमन गरेर काम गरिरहेका छौं ।’

ललितपुरले ६ असारमा सार्वजनिक गरेको कार्ययोजना

त्यतिबेलै सपिङ मल र व्यवसायिक भवनहरुको नक्साअनुसार पार्किङ नराखिएको पाइए तत्काल राख्न लगाउने निर्णय महानगरले गरेको थियो । हाछेथुका अनुसार ललितपुरमा ३ ठूला होटलहरु र कर्मचारी सञ्चयकोषको भवन मात्रै ठूला र पार्किङ रहेका भवन हुन् ।

अन्य व्यवसायिक प्रयोजनका ठूला भवनले भूमिगत पार्किङ प्रयोग गरे/नगरेकोबारे हामीले नियमित अनुगमन भइरहेको नगर प्रहरी बलका प्रमुख हाछेथुले बताए ।

नियमविपरीत गरिएका कामलाई विगतबाटै महानगरले निस्तेज गरेकाले काठमाडौंमा जस्तो समस्या ललितपुरमा नरहेको नगर प्रहरी प्रमुख हाछेथुले दाबी गरे ।

‘अहिले पनि हामी कतै त्यस्तो भवनमा पार्किङ छन् कि भनेर हेरिरहेका छौं, थप ध्यान दिन मेयरसा’बको निर्देशन छ, ‘ उनले भने,’हामी एकसाथ २१ वटा कार्ययोजनामा ट्राफिक व्यवस्थापनका लागि काम गरिरहेका छौं ।’

कार्ययोजना अनुसार महानगरपालिकाले ५ स्थानमा ट्राफिक लाइट तत्काल जडान गर्नेछ ।   साइकल लेनमा सवारी पार्किङ गर्न नदिन महानगरले कडाइको नीति लिने पनि बताएको छ । यस्तै पाटनदरबार क्षेत्रभित्र सवारी निषेध गर्ने निर्णय पनि महानगरले गरेको थियो ।

ललितपुर महानगरले लगनखेल बसपार्क अब ‘बस स्टप’को रुपमा परिणत गर्ने योजना ल्याएको थियो ।  लगनखेल बसपार्कबाट विहान र बेलुका छुट्ने सवारीको समय निश्चित गर्ने योजना पनि महानगरले ल्याएको थियो ।

लगनखेल क्षेत्रमा राति कुनैपनि सवारी पार्किङ गरेर राख्न नपाइने कार्ययोजनामा छ । ललितपुर महानगरले ट्राफिक व्यवस्थापनको लागि लगनखेल र जावलाखेलमा बहुतल्ले पार्किर्ङ निर्माण गर्ने योजना अगाडि सारेको छ ।

निषेधित क्षेत्रमा पार्किङ गरे स्थलगत कारवाही गर्ने, चोक-चोकमा ट्याक्सी पार्किङको व्यवस्था गर्ने लगायतका ट्राफिक व्यवस्थापनको कार्ययोजना पनि महानगरले ल्याएको छ ।

थापाथली पुलदेखि कानदेवतास्थानसम्म दुर्घटना हुनसक्ने गरी राखिएको सिमेन्टको ब्लक हटाएर प्लाष्टिकको डिभाइडर राख्ने निर्णय महानगरले कार्यान्वयन गरिसकेको छ । यस्तै अस्पताल र स्कुल अगाडिको जेब्राक्रसिङमा संकेत बत्ती राख्ने योजना पनि महानगरले अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?