+
+

प्रधानमन्त्री बन्न ओलीको प्रस्तावमा प्रदीप गिरिको जवाफ

राज्य आफैंमा आदर्श हुँदैन। शासन गर्ने शासक असल भए त्यो राज्य आदर्श हुन्छ। प्रदीप गिरिको यही अभीष्ट थियो।

शालिक सुवेदी शालिक सुवेदी
२०७९ भदौ ११ गते १२:३५

नेपालको संविधान २०७२ को प्रस्तावनामै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने भन्ने उल्लेख छ। यति मात्र होइन संविधानको भाग १ को प्रारम्भिक खण्डमा नेपाल राज्य भन्ने शीर्षकै छ। त्यहाँ अर्थात् धारा ४ मा उल्लेख छ- नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतन्त्रात्मक गणतन्त्रात्मक राज्य हो। संविधानको प्रस्तावना र नेपाल राज्यको परिभाषामा पनि समाजवाद उन्मुख भन्ने शब्दको प्रयोग छ। यो समाजवादप्रतिको प्रतिबद्धता र समाजवाद उन्मुख राज्यको यो संवैधानिक अवधारणा मेरो सानो दिमागमा अटेन। अस्पष्ट भयो।

प्रसंग प्रदीप गिरिको हो। गिरिको निधनसँगै एउटा राजनीतिक समाजवादी चेतको अवसान भएको छ। सूर्यको ताप विनाको उज्यालो वा उज्यालो विनाको सूर्यको ताप जस्तै आज नेपाली लोकतान्त्रिक यात्राको पूर्ण गन्तव्यमा चिन्तनको अभाव देखिएको छ। प्रदीप गिरिसँग मेरो संगत छोटो हो तर स्मरण विशाल र अविस्मरणीय छ।

एक दिन उहाँले भन्नुभयो, ‘शालिकबाबु म, घनश्याम भूसाल र राम कार्की बीचको संवाद चलाउनुहोस्। यो समाजवादको विषयमा बडो संदिग्धता देखियो।’

मैले हुन्छ भनें। तर उहाँ जीवितै हुँदा उहाँले रहर गर्नुभएको संवाद चलाउन पाइनँ। प्रदीप दाइ मलाई माफ गर्नुहोला।

करिब ४ वर्षअघिको कुरा हो। प्रदीप गिरि भैंसेपाटीमा बस्नुहुन्थ्यो। कृष्ण खनालजीको फोन आयो। ‘प्रदीप गिरिले तपाईंलाई बोलाउनुभएको छ। भैंसेपाटी आउनुहोस्।’

म भैंसेपाटी पुगें। प्रदीप गिरि बैठक कोठाबाट बाहिर निस्कँदै भन्नुभयो, ‘आउनुहोस् सुवेदीजी।’ एउटा सामान्य मानिसलाई अर्को विशाल व्यक्तित्वको स्वागत थाम्न ग्राहो भयो। त्यो स्वागत नहुन पनि सक्छ। सायद सभ्यता होला। थामें।

लक्ष्मीप्रसाद देवकोटाको ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने पंक्ति सम्झिएँ। व्यवहार र ज्ञानको भिन्नता र संयोजन देवकोटाको पंक्तिसँग जोडें। सूर्य पुत्र कर्णको परिवर्तनको अभियान जात विरोधी कर्म पक्षीय चिन्तनलाई सम्झिएँ। मानिसलाई जातले होइन, कर्मले श्रेष्ठ बनाउँछ।

बीपी कोइरालालाई महात्मा गान्धीको सम्मान, जवाहरलाल नेहरूको सम्मान र इन्दिरा गान्धीको अपमानको व्यवहारलाई सम्झिएँ। लामो कुराकानी भयो। कुराकानी भन्दा पनि प्रदीप गिरिको कुरा सुनें। कृष्ण र अर्जुनको संवाद जस्तो अष्टावक्र र जनक संवाद जस्तै शुकरात र प्लेटोको संवाद जस्तै। प्रदीप गिरि त्यतिबेला भन्दै हुनुहुन्थ्यो। म, घनश्याम भूसाल र राम कार्कीबीच संवाद चलाउनुहोस्।

लोकतान्त्रिक समाजवाद र वाम समाजवाद

प्रदीप गिरिलाई मेरो जिज्ञाशा थियो, ‘कांग्रेसको समाजवाद, एमालेको समाजवाद र माओवादीको समाजवादको भिन्नता के हो ? अझ यसलाई दार्शनिक दृष्टिकोणबाट भनौं, प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद र २१ शताब्दीको जनवादमा के भिन्नता छ ? पार्टी फरक छ। के पार्टी पिच्छे समाजवादको अर्थ फरक हुन्छ ?’ यो विषयमा प्रदीप गिरिले संवाद चलाउन भन्नुभयो। मैले सकिनँ। नेपालको वर्तमान संविधानमा लेखिएको समाजवादप्रति प्रदीप गिरि खुसी हुनुहुन्नथ्यो। संविधानमा लेखिएको अमूर्त समाजवाद उन्मुख शब्द नागरिक झुक्याउने षड्यन्त्र हो। जुन नागरिकको विश्वासको साझा मन्दिर संविधानसभाले बनाएको संविधान तिनै नागरिकलाई झुक्याउन लेखिने भ्रम नागरिक माथिको अपमान हो। प्रदीप गिरिको यही भनाइ थियो।

यो त केवल भ्रमको आगोमा षड्यन्त्रको रोटी सेक्ने अभीष्ट मात्र हो। प्रदीप गिरिसँगका औपचारिक टेलिभिजन अन्तर्वार्ता र अनौपचारिक व्यक्तिगत भेटघाटमा समाजवादको विषयमा भएका कुराहरू अन्य लेखहरूमा लेख्दै जाउँला।

सन् १९१७ को अक्टोबर क्रान्ति वा बोल्सेभिक क्रान्तिपछिको समाजवाद सन् १९९१ मा सोभियत संघको विघटनपछि स्वत: इतिहास बन्यो। विश्वमा अहिले समाजवादको नाममा चीन, रुस, उत्तरकोरिया, भियतनाम लगायत केही मुलुकमा भइरहेको नागरिक स्वतन्त्रता माथिको हनन् र समाजवादको अपव्याख्या बारे अन्य लेखमा लेखौंला तर आज प्रदीप गिरिको ज्ञानको आलोक र अपारतासँग आफ्नो बुझाइ लेख्दैछु।

प्लेटो र प्रदीप

पश्चिमी राजनीतिशास्त्रका जनक मानिन्छन् प्लेटो। प्लेटो शुकरातका विद्यार्थी र अनुयायी पनि हुन्। त्यस्तै लाग्छ- गिरि बीपीको। प्लेटोलाई पश्चिमाहरूले राजनीतिक चिन्तनका पिता मान्छन्। जसरी आज देशले गिरिलाई समाजवादी चिन्तनका अभिभावक मानेको छ।

प्लेटो सुन्दर, हृष्टपुष्ट, विचारमा अटल र व्यवहारमा स्पष्ट थिए। संभ्रान्त परिवारका प्लेटो राजनीतिक विरासत बोकेका महत्वाकांक्षी व्यक्तित्व थिए। प्लेटो किताब लेख्ने कुराको विरोधी थिए। प्लेटो राजनीतिज्ञ हुन् र नेता हुन चाहन्थे तर नेतृत्व लिन पाएनन्। प्लेटोले समाजका खण्ड–खण्डमा आदर्श राज्य, न्याय, व्यक्तिको स्वतन्त्रता र राज्य शक्तिको विषयमा मानव जीवनको सम्पूर्ण दर्शन दिएका छन्। किताब लेख्न नचाहने प्लेटोले पछि ३० वटा जति किताब लेखे।

कृष्णले एक अक्षर लेखेनन्। बुद्धले लेखेनन्। शुकरातले लेखेनन्। मलाई लाग्छ ओशोले पनि लेखेनन्। प्रदीप गिरि किताब लेख्न उति रुचाउनुहुन्नथ्यो। लेख र किताब पढ्ने मान्छे कम छन् भन्ने बुझाइ उहाँको थियो। लेखेर भन्दा टेलिभिजन संवादले धेरै मानिसमा विचार पुग्छ भन्नुहुन्थ्यो उहाँ।

प्रदीप दाइ सधैं चिटिक्क पर्नुहुन्थ्यो। सेतो पाइजामा, सेतो सुरुवाल। कहिले सेतै बर्को ओढेको अवस्थामा त कहिले सेतै इस्टकोटमा देखिनुहुन्थ्यो। मुखमा कान्ति, ऊर्जाशील प्रेरक, पुस्तक प्रेमी, युवासँग बढी बुढासँग कम संगत गर्ने चाहना। गगन, विश्व, प्रदीप र कल्याणको निकै कुरा गर्नुहुन्थ्यो। सार्वजनिक समारोहमा यी भाइहरूको पटक–पटक नाम लिनुहुन्थ्यो।

भविष्यको नेपालका आशाको रूपमा उनीहरूप्रति उहाँको विश्वास थियो। राजनीति पढ्ने, पढाउने अनि गर्ने राजनीतिज्ञ हुने तर नेतृत्व नलिने स्वभाव प्रदीप गिरिको थियो। लोकतान्त्रिक संसदको सम्पूर्ण ध्यान संसदमा प्रदीप बोल्दा हुन्थ्यो। सांसदहरू पर्खिएर बस्थे। एक सार्वजनिक सन्नाटाको अद्भुत आकर्षण हुनुहुन्थ्यो।

शब्द शब्दमा शिक्षा, चेतना, सुझाव र प्रेरणा सांसदहरूलाई पनि दिनुहुन्थ्यो। उहाँले संसदमा पछिल्लो पटक गरेको संबोधन अहिले सर्वाधिक चर्चामा छ। आफ्ना मित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनेकोमा संसदबाट शुभकामना र सुझाव दिंदै जनताको सपनालाई पूरा गर्ने गरी काम गर्न आग्रह गर्नुभएको थियो।

प्लेटोको पोलिटिक्स भन्ने पुस्तकमा आदर्श राज्यको अवधारणा उल्लेख छ। त्यो राज्य जहाँ अमूर्त राज्य आदर्श हुने होइन। अमूर्त राज्यको मूर्त सरकार वा शासक वा राजा वा प्रधानमन्त्री आदर्श हुने हो। प्रदीप गिरिको आशय पनि प्रधामन्त्री शेरबहादुर देउवालाई आदर्श बन्न प्रेरित गर्नु थियो। अयोध्या आदर्श थिएन। राम आदर्श थिए। त्यसैले रामको राज्य रामराज्य भयो। राज्य आफैंमा आदर्श हुँदैन। राज्यलाई शासन गर्ने शासक आदर्श भए त्यो राज्य आदर्श हुन्छ। प्रदीप गिरिको यही अभीष्ट थियो।

प्लेटोका पुस्तकका सम्पादक रहेका बेलायती दार्शनिक वर्टन रसेलले भारतका दोस्रो राष्ट्रपति डाक्टर राधाकृष्णनलाई प्लेटोको आदर्श राज्यको शासक भनेका छन्। पूर्वीय र पाश्चात्य दर्शनलाई जोड्ने पुल मानिन्छन् डाक्टर राधाकृष्णन्। आफैं पनि एक दार्शनिक नेता हुन् उनी।

प्रदीप गिरि पनि पूर्वीय र पश्चिमा चिन्तनलाई जोड्न चाहनुहुन्थ्यो। केही जोड्नु पनि भयो। पश्चिमी स्वतन्त्रता र पूर्वीय मूल्यमान्यताको संयोजनले समाजलाई अनुशासित र सभ्य बनाउँछ। खुसी र सुखी बनाउँछ। कविला समाजवाद र वर्तमान सूचनाप्रविधि युगको समाजवादलाई प्रदीप दाइ यसरी नै व्याख्या गर्नुहुन्थ्यो।

राजनीति गर्ने नेतृत्व नलिने। सांसद हुने मन्त्री नहुने यो उहाँको स्वभाव हो या चाहना तर वास्तविकता यही हो। प्लेटोबाट पनि प्रभावित हुनुहुन्थ्यो प्रदीप दाइ। उहाँका चिन्तन र व्यवहारले यही बुझाउँछ।

एक दिन मैले सोधें– प्रदीप दाइ तपाईं किन मन्त्री, प्रधानमन्त्री बन्नुहुन्न ? नबनाएर नबन्नु भएको हो या आफ्नै अनिच्छा हो। यो प्रसंगमा प्रदीप गिरिले विगत र वर्तमानको यथार्थ सुनाउनुभयो।

रामले किष्किन्धा जिते। सुग्रीवले रामलाई नै राजा बन्न आग्रह गरे। राम मानेनन्। मित्र सुग्रीवलाई नै राजा बनाए। रामले लंका जिते। विभीषणले रामलाई नै राजा बन्न आग्रह गरे। लक्ष्मणले त जोड नै गरे। तर राम मानेनन्। विभीषणलाई राजा बनाए। हिन्दुस्थानमा सन् १९४७ अगष्ट १५ पछि सबै नेताहरूले महात्मा गान्धीलाई सरकारको नेतृत्व गर्न आग्रह गरे। गान्धी मानेनन्। जवाहरलाल नेहरूलाई प्रधानमन्त्री बनाए।

नेपालमा २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापनापछि तत्कालीन राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरे। गणेशमानजी मन्नुभएन। आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनुभयो। आफू सर्वोच्च नेता बन्नुभयो।

रामले किष्किन्धा छोडे। गान्धीले भारतको प्रधानमन्त्री छोडे। गणेशमानले नेपालको प्रधानमन्त्री त्यागे। नेता त्यागी हुनुपर्छ तब मात्र कार्यकर्ता त्यागी बन्छ। तब मात्र समाजमा सहिष्णुता स्थापित हुन्छ। प्रदीप दाइ नेपाली अकण्टक समाजको संकण्टक दीप हो। पद होइन परिवर्तनको पक्षपाती हो। शक्ति र सत्ता होइन स्वतन्त्रताको पुजारी हो।

प्रधानमन्त्री को बन्ने–बनाउने विषयमा प्रदीप दाइले कांग्रेसभित्र कसैले पनि प्रधानमन्त्रीको अफर नगरेको तर एक पटक एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बन्न आग्रह गरेको स्मरण सुनाउनुभयो। तर त्यो आग्रहलाई प्रदीप दाइले अस्वीकार गर्नुभयो।

प्रदीप दाइ बिमारी हुनुभयो। भारतमा उपचार गराइरहनुभयो। स्वास्थ्य अवस्थाका बारेमा मन्दिप भारतीसँग निरन्तर बुझिरहन्थें। मन्दिपजी जानकारी दिइरहनुहुन्थ्यो। नेपाली कांग्रेसको १४औं महाधिवेशनको समयमा प्रदीप दाइ काठमाडौं आउनुभयो। एक–दुई दिन बस्नुभयो। भोट हाल्नुभयो। फेरि उपचारका लागि भारत फर्किनुभयो। मैले भेट्न पाइनँ। मन्दिपजीले पनि भेटाउनुभएन। मन्दिपजीलाई गाली गरें।

अस्वस्थ प्रदीप दाइ नेपाल आउनुभयो। मेडिसिटी अस्पतालमा इन्तु न चिन्तुको अवस्थामा रहेको खबर पाएँ। मन्दिपजीसँग कुरा गरें। दाइ जानुभयो। हामी सबैलाई छाडेर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?