+
+

खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’को आवरण सार्वजनिक, भन्छन्- यो कुकुरको आत्मकथा हो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १८:२२

काठमाडौं । लेखक एवं अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’को आवरण सार्वजनिक भएको छ । फेसबुक लाइभमार्फत उनले सोमबार आवरण सार्वजनिक गरेका हुन् ।

लेखकको रुपमा परिचय बनाएका उनले पहिलो उपन्यास ल्याउन लागेका हुन् । यो पुस्तकले कुकुर र मान्छेबीचको सम्बन्धको कथा भन्छ ।

‘वास्तवमा यो कुकुरको आत्मकथा हो । फुर्के नामक गरेको कुकुरले मान्छेलाई कसरी हेर्छ भन्ने कथावस्तु यसमा छ,’ खगेन्द्रले अनलाइनखबरसँग भने, ‘मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास फुर्केमा प्रस्तुत गर्ने कोशिश गरेको छु ।’

चार वर्षअघि यो उपन्यास लेखन थालेका खगेन्द्रले कोरोनाकालमै यसलाई मूर्त रुप दिएका थिए । ‘फिल्ममा लागेपछि लेखनमा सुस्तता आएको थियो । फिल्म पानीफोटो रिलिज भएपछि फुर्सदमा भएकाले यतिबेलै उपन्यास ल्याउनुपर्छ भन्ने लाग्यो,’ उनले भने ।

तर पुस्तकलाई फिल्म आकारमा ल्याउनेबारेमा अहिल्यै नसोचिएको उनले स्पष्ट पारे ।

‘फुर्के’ उपन्यासलाई बुकहिलले प्रकाशन गर्ने भएको छ । ‘संसारमा बढी पढिने मान्छेबाहेकका आख्यानमा कुकुरको कथा रहेको तथा कुकुरको विषयमा बनाइएका सिनेमाहरू सर्वाधिक रुचाइएको पाइन्छ । खगेन्द्र लामिछानेको यो उपन्यासलाई पनि पाठकले मन पराउनेमा हामी विश्वस्त छौं,’ बुकहिलले वक्तव्यमा भनेको छ ।

हार्डव्याक संस्करणमा मात्रै प्रकाशन हुने उपन्यासले कुकुरको सचित्र कथा भन्नेछ । उपन्यासको आवरण स्केच समित श्रेष्ठ, आवरण डिजाइन सचिन यगोल श्रेष्ठ र लेआउट उमेश काफ्लेले गरेका हुन् ।

बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्ने उपन्यासको मूल्य ५०० रुपैयाँ राखिएको छ । विशेष कार्यक्रमको आयोजना गरी उपन्यास भदौ अन्तिम साता सार्वजनिक गरिनेछ ।

यसअघि खगेन्द्र लामिछानेका ’फूलानी’ कथा संग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’ पुस्तक प्रकाशित छन् । उनीद्वारा लिखित, अभिनित तथा निर्देशित फिल्म ‘पानीफोटो’ अघिल्लो महिना प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?