+
+

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको म्याद एक वर्ष थपिंदै

सुवास पण्डित सुवास पण्डित
२०७९ भदौ १४ गते ९:४५
नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत बर्दघाट नजिकको सडकको अवस्था ।

१४ भदौ, चितवन । नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नुपर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष म्याद थपिदिने तयारी गरेको छ ।

११३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन २२ गते भित्र काम सकिसक्नु पर्नेमा जम्मा १८.४४ प्रतिशत मात्रै काम सकेको छ । सोही कम्पनीलाई ठेक्काको म्याद १ वर्ष थप्ने प्रक्रिया सुरु भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

‘ठेकेदारले काम त गरेको छैन थाहा छ, तर यो ठेक्का तोडेर अर्को ठेक्काको प्रक्रियामा जाँदा पनि समय लाग्छ,’ महानिर्देशक थापाले अनलाइनखबरसँग भने, ‘बरु यही कम्पनीले एक वर्ष भित्र काम गरिसक्छु भनेर प्रतिबद्धतासहित आएकाले म्याद थप गरेर जाँदा नै ठिक होला भन्ने हो ।’

ठेक्काको अवधि सकिएपछि चिनियाँ कम्पनीका ८ जना उच्च अधिकारी नेपाल आएर बाँकी सडक विस्तारको काम एक वर्ष भित्र नै गरिसक्ने प्रतिवद्धता जनाएको थापाले जानकारी दिए । उनका अनुसार आगामी बर्खाभन्दा अगाडिसम्म ६० किलोमिटरभन्दा बढी पिचको काम सक्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ ।

उनीहरुले देखाएको विश्वास र प्रतिवद्धतालाई मानेर एक वर्ष म्याद थपको प्रक्रियामा गएको महानिर्देशक थापाले बताए । ‘म्याद थप अवधि एक वर्ष भने पनि हामीले हरेक दुई–दुई महिनामा उनीहरुले दिएको कार्यतालिका अनुसार काम भए/नभएको हेर्न सक्छौं, त्यो कमिटमेन्ट पनि पूरा नभए हामीले ठेक्का बीचमा पनि तोड्न सक्छौं’ महानिर्देशक थापाले भने, ‘तर अब कुनै पनि बहानामा ढिलाइ स्वीकार्य छैन ।’

दशैंभन्दा अगाडि नै कामको गति देखिने दाबी

भौतिक पूर्वाधारमन्त्री, प्रतिनिधिसभा अन्तर्गतको विकास समिति र एसियाली विकास बैंक (एडीबी) को टोलीले समेत नारायणगढ–बुटवल खण्ड विस्तारको अवस्थाबारे स्थलगत निरीक्षण गरका थिए । चीनबाट आएको ठेकेदार कम्पनीको उच्चस्तरीय टोलीले पनि भदौ अन्तिमसम्म बसेर सडकको अवस्था र त्यहाँका स्थानीय समस्याबारे अध्ययन गर्नेछ । त्यसपछि सो टोलीले प्रतिवद्धतासहित काम अगाडि बढाउने सडक विभागका महानिर्देशक थापा बताउँछन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापा

सुरुमा विद्युतका पोल सार्ने, रूख काट्नुपर्ने र कोरोना महामारी लगायतका कारणले काममा ढिलासुस्ती भएको थियो । तर त्यसपछि पनि काम गर्ने जाँगर ठेकेदारले नदेखाएको सडक विभागका अधिकारीहरु बताउँछन् ।

ठेकेदार कम्पनीको म्याद सकिएपछि अहिले सडक आयोजना अलपत्र छ । तर दशैंभन्दा अगाडि नै फिल्डमा कामको गति देखिने महानिर्देशक थापा बताउँछन् । ‘धेरै ठाउँमा पुल र कल्भर्टको काम त भएको छ, पिचको काममा जान थालेपछि प्रगति पनि बढेर आउँछ,’ थापाले भने ।

कोरियाली अन्तर्राष्ट्रिय परामर्शदाता केईसीसी–केडीईसीले पनि म्याद थप्नुपर्ने प्रस्ताव गरेको थियो । नारायणगढ-बुटवल सडक आयोजनाका प्रमुख रमेश दृष्टिले चिनियाँ ठेकेदार कम्पनीको लोकल म्यानेजमेन्टको कमजोरीले काम हुन नसकेको बताए । उनले आगामी दिनमा विगतका कमी कमजोरी हटाएर सच्याए मात्रै काम अगाडि बढ्ने बताए । उनले चिनियाँ कम्पनीले नै त्यसको सुक्ष्म अध्ययन गरेको हुनसक्ने बताए ।

नारायणगढ–बुटवल सडकखण्डको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ पश्चिम खण्ड बनाएर सडक विस्तारको काम थालिएको थियो ।

ठेकेदारले सडक भत्काएर अलपत्र छाड्दा सो सडकखण्डमा दुर्घटना हुनेदेखि यात्रा गर्न निकै सास्ती भोग्नुपरेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ । गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ । २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?