+
+

दशैंमा किन खुलेन गाडी, मोटरसाइकल, फोन र मदिरा आयात ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते २१:३९

१४ भदौ, काठमाडौं । सरकारले पाँच महिना लामो प्रतिबन्धपछि ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध मंगलबारबाट हटायो । कुुरकुरे, हिरा, सबै प्रकारका खेलौना, तास, चुरोट र सुर्तीजन्य वस्तु तथा ३२ इन्च भन्दा माथिका टिभी माथिको प्रतिबन्ध हट्दा प्रमुख चार प्रकारका विलासी वस्तुको आयात प्रतिबन्धलाई कायम रह्यो ।

दशैंअघि नै खोल्न तीब्र लबिइङ भएको मदिरा, ३०० डलरभन्दा महँगा स्मार्ट फोेन, महँगा चारपाँग्रे सवारी साधन र १५० सीसीभन्दा माथिका मोटरसाइकलको प्रतिबन्ध सरकारले २८ असोजसम्म लम्ब्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय मंगलबार राजपत्रमा प्रकाशित भइसकेको छ ।

प्रतिबन्ध कायमै राखिएपछि अटोमोबिल, मोबाइल, मदिराका आपूर्ति र्ता र व्यवसायी सरकारसँग रुष्ट बनेका छन् । ३१ असारमा थपिएको आयात प्रतिबन्धको समय अवधि सकिनै लाग्दा व्यापारीहरुले सबै प्रकारका वस्तु आयात खुलाउन माग गरिरहेका थिए ।

गाडीलाई रोकेर अन्य बिलासी वस्तुको आयात खोल्नु गलत हुने कुरा आफूहरुले गम्भीर रुपमा उठाएको नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालले जनाएको छ । कुल आयातको १ प्रतिशत मात्रै हिस्सा गाडीको भए पनि कुल राजस्वमा ९ प्रतिशत योगदान हुने एसोसिएसनका अध्यक्ष ध्रुब थापाले बताए । ‘हामीलाई रोकेर अन्यलाई खुलाउनु हुन्न भनेर हामीले भनेकै हौं’ उनले थपे,’अर्को पटकमा यी वस्तुको आयात खुल्ने कुरा छ ।’

तर, सरकारी अधिकारीहरु धेरै डलर बाहिरिने वस्तुको आयातलाई केही समय रोक्ने निष्कर्षमा पुगेर यस्तो निर्णय भएको बताउँछन् । नेपालमा असारसम्म विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर छ । उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पुग्छ ।

आयात प्रतिबन्धपछि सञ्चितिमा सुधार देखिएको छ । रेमिट्यान्सको आप्रवाह पनि सुस्त रुपमा बढिरहेका दशैंअघि आयात खोल्दा अर्थतन्त्रको वाह्य क्षेत्रको दबाव नघट्ने निष्कर्ष निकालेर सरकारले यस्तो कदम चालेको अधिकारीहरु बताउँछन् ।

व्यवसायीको दवाबका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि आयात प्रतिबन्धको आवश्यकताबारे वस्तुगत अध्ययन गरेको थियो । एक अधिकारीकाअनुसार मन्त्रालयले गाडी र १५० सीसीसम्मको मोटरसाइकल बाहेकका वस्तुको आयात खोल्नु पर्ने निष्कर्ष निकालेको थियो ।

तर, व्यवसायीहरु नै आयात प्रतिबन्धको निर्णय प्रभावित गर्ने दाउमा लाग्दा मन्त्रालयको अध्ययनको निष्कर्षअनुसार निर्णय हुने अवस्था बनेन ।

स्रोतका अनुसार केही अटोमोबिल व्यवसायीहरुले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र राष्ट्र बैंकमार्फत गाडी र मोटरसाइकलको पनि प्रतिबन्ध खोल्न दबाव दिएका थिए । प्रतिबन्ध खुल्दा सबै वस्तुहरुको खुल्नुपर्ने उनीहरुको माग थियो ।

‘यो दबाब थेग्न नसेकपछि मन्त्रालयले अध्ययनका आधारमा दशैंअघि कुनैपनि वस्तुको आयात नखोल्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो, मदिरा र मोबाइलको आयात खुलाउन सकिने आधार भने थिए,’ ती अधिकारी भन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउबाले मदिरा र मोबाइलको आयात खोल्दा राम्रो सूचना प्रवाह नहुने बताएर मदिरा, स्मार्ट फोेन, चार पांग्रे गाडी र मोटरसाइकल माथिको प्रतिबन्ध कायमै राख्नुपर्ने निष्कर्ष सुनाएका थिए ।

त्यसकै आधारमा मन्त्रिपरिषदबाट निर्णय भएर प्रतिबन्धको सूचना संशोधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?