+
+

पार्लर धाउँछन् पुरुष पनि

अंगद सिंह अंगद सिंह
२०७९ भदौ १५ गते १५:४९

काठमाडौं । समाजमा पुरातन धारणा छ, ‘महिलाहरु पार्लर धाउँछन् ।’ तर पार्लरतर्फ पाइला लम्काउने सेवाग्राहीको पंक्तिमा पुरुषको उपस्थिति पनि बढ्दो छ । बदलिंदो जीवनशैली र बढ्दो क्रय क्षमतासँगै ‘बजारको माग’ अनुरुप पुरुषमा सौन्दर्य चेत र मोह जाग्दो छ ।

कपाल काट्न, दाह्री मिलाउन मात्र होइन, अनुहारको चमक बढाउन, हातगोडाका नङ सफा गर्नसम्म पुरुषहरु पार्लर धाउँछन् । त्यो पनि नियमितजसो ।

‘पहिले पहिले कपाल काट्न मात्र आउँथे,’ अनानेकी ब्युटी सलुन एण्ड स्पाका सञ्चालक सुरविन बान्तवा भन्छन्, ‘अहिले फेसियल, स्क्रब, मेनिक्योर–पेडिक्योर गराउन थालेका छन् ।’

उनका अनुसार पार्लर धाउने महिला र पुरुषको संख्या अनुपात खासै फराकिलो छैन, सराबरी नै पार्लर धाउन थालेका छन् । ‘महिलामा जस्तै अहिलेका पुरुषमा पनि सुन्दर देखिने मोह बढेको छ,’ बान्तवा भन्छन्, ‘यो अहिलेको बजारको माग पनि हो ।’

उनका अनुसार ३० देखि ५० वर्षसम्मका पुरुषहरु बढी पार्लर धाउने गरेका छन् । उनीहरु आक्कलझुक्कल होइन, नियमित रुपमै पार्लर जान्छन् । अक्सर पुरुषहरु महिनामा दुई पटकसम्म पार्लरमा गएर रुपरंगको स्याहारसम्भार गर्ने बान्तवा बताउँछन् । ‘कोही भने हप्तैपिच्छे पनि आउँछन्, तर यस्ता पुरुषको संख्या अलि कम छ,’ उनी भन्छन् ।

उनको सैलुन अनानेकीमा दाह्रीजुँगा मिलाएको लगभग एक हजार रुपैयाँ लाग्छ । कपालमा रंग गरेको कम्तीमा १५ सय रुपैयाँ लाग्छ । कपालमा कलर हाइलाइट गरेको १० हजार रुपैयाँसम्म लाग्छ ।

पार्लरमा अधिकांशले कपाल काट्ने, दाह्री मिलाउने भए पनि हेयर कलर, फेसियल गर्न आउनेहरुको संख्या कम नभएको नील डेभिड युनिसेक्स हेयर सलुनका सन्तोष उपाध्याय बताउँछन् ।

‘किशोर एवं युवाहरु कपाल काट्न र कुनै पेसा व्यवसायमा आवद्ध पुरुषहरु अन्य सेवा लिन आउने गर्छन्,’ उपाध्याय भन्छन्, ‘जे होस् सबैमा सुन्दर देखिनुपर्छ भन्ने चेत छ ।’ त्यसो त प्रौढ उमेरकाहरु पनि पार्लर धाउने उनी बताउँछन् ।

नील डेभड युनिसेक्स हेयर सलुनमा दाह्री काटेको तीन सय रुपैयाँसम्म लाग्छ । कपाल काटेको ५५० रुपैयाँबाट सुरु हुन्छ । रुबाब सैलुन अफ हेयर ब्युटी मेकअप एण्ड एकेडेमीका सञ्चालक अञ्जन श्रेष्ठ भन्छन्, ‘अहिले सैलुनले कैंची र काइयो भन्दा माथि उठेर काम गरिरहेका छन् भने सर्वसाधारणमा सुन्दरताप्रतिको लगाव बढ्दै गएको छ ।’

त्यसो त यसमा सुन्दर मात्र नभएर सफासुग्घर, स्टाइलिस देखिने मनोविज्ञान पनि रहेको उनी बताउँछन् । रुबाब सैलुनमा कपाल काटेको पाँच सय रुपैयाँ लाग्छ भने दाह्री काटेको कम्तीमा दुई सय रुपैयाँ लाग्छ ।

आइरिस सैलुन अफ हेयर एण्ड ब्युटीका रोजन बज्राचार्यका अनुसार पार्लर धाउने पुरुषमा वयस्क एवं प्रौढको संख्या पनि बढिरहेको छ ।

‘दाह्री, कपाल काट्न तथा मिलाउन, कलर गर्न, स्टे«ट गर्न, फेसियल गर्न नै युवाहरु पार्लर आउँछन्,’ उनी भन्छन्, ‘उनीहरु महिनामा दुई पटकसम्म आउने गरेका छन् ।’

स्टाइल अनुसार कपाल, दाह्री काटेको सेवा शुल्कमा फरक पर्ने उनी बताउँछन् । आइरिसमा कपाल काटेको सामान्य १५० रुपैयाँदेखि सुरु भएर ४०० सम्म पर्छ भने दाह्री काटेको दुई सयसम्म पर्छ ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?