+
+
ब्लग :

नयाँ परिभाषा कुरिरहेको बदलिंदो विद्यार्थी आन्दोलन

समिक बडाल समिक बडाल
२०७९ भदौ १६ गते १२:२४

विद्यार्थी आन्दोलनको इतिहास निकै पुरानो छ र यसको सान्दर्भिकता निकै पछिसम्म रहनेछ। बदलिंदो सन्दर्भमा विद्यार्थी आन्दोलनको बारेमा कुरा गर्दा तीन विषयहरू प्रमुख रूपमा अगाडि आउँछन्। पहिलो, विद्यार्थी आन्दोलनलाई परिभाषित गर्ने दृष्टिकोण, दोस्रो यसको चरित्र र तेस्रो यसले उठान गर्ने मुद्दाहरू। प्रस्तुत लेखमा यिनै तीन विषयवस्तुको वरिपरि रहेर विद्यार्थी आन्दोलनको बारेमा चर्चा गरिनेछ।

सर्वप्रथम, विद्यार्थी आन्दोलनलाई दुई रूपमा बुझ्नुपर्ने हुन्छ- आन्दोलन र अभियान। आन्दोलन जे को रिक्तता छ त्यो प्राप्त गर्नको लागि हुने या ओगटेर बसेको पक्षसँग माग अघि सार्ने र संघर्ष गर्ने कुरा हो भने अभियान सोको प्राप्तिका लागि सिर्जनात्मक ढंगले आफैं परिचालित हुने कुरा हो। नेपालको विद्यार्थी आन्दोलनले आन्दोलनको आयामलाई ज्यादा अंगीकार गरेको पाइन्छ भने अभियानको रूपमा यसको परिचय स्थापित हुनसकिरहेको छैन।

स्वयं विद्यार्थीको बीचमा पनि यसलाई अभियानको रूपमा भन्दा आन्दोलनको रूपमा मात्र बुझ्ने मनोवृत्ति हावी भएको छ। यसले विद्यार्थी आन्दोलनको सिर्जनात्मक पुनर्जागरण भन्दा पनि माग पक्षलाई महत्व दिन्छ। त्यसकारण बदलिंदो सन्दर्भमा विद्यार्थीलाई मागको उठान गर्ने कर्ता मात्र होइन सोको प्राप्तिमा अर्थपूर्ण रूपमा सहभागी हुने सरोकारवालाको रूपमा उभ्याउन विद्यार्थी आन्दोलनलाई अभियानको रूपमा समेत बुझ्नु र बुझाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ।

दोस्रो महत्वपूर्ण पक्ष भनेको विद्यार्थी आन्दोलनले समेट्ने मुद्दाको दायरा सम्बन्धी विषय हो। यस विषयलाई दुई तरिकाले बुझ्न आवश्यक देखिन्छ। पहिलो, हालको विद्यार्थी आन्दोलनले विगतदेखि उठाउँदै आएका शैक्षिक तथा राजनीतिक मुद्दाहरूमा आफूलाई इमानदार ढंगले प्रस्तुत गरिरहेको छ वा छैन भन्ने कुराको आत्मबोध र दोस्रो, समयको गतिसँगै थपिएका नयाँ सवालहरूलाई विद्यार्थी आन्दोलनको दायराभित्र ल्याउन पर्याप्त ध्यान दिइएको छ कि छैन भन्ने बुझाइ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क पाउने हक प्रत्याभूत गरेको छ। शैक्षिक सत्र २०७८ मा प्राथमिक तह (कक्षा १-५), आधारभूत तह (कक्षा १-८) र माध्यमिक तह (कक्षा ९-१२) को भर्नादर क्रमशः ९६.९ प्रतिशत, ९५.१ प्रतिशत र ५४.३ प्रतिशत पुगेको छ। तर कक्षा ८ सम्मको टिकाउ दर ८५.१ प्रतिशत, कक्षा १० सम्मको ६६.१ प्रतिशत र कक्षा १२ सम्मको ३३.१ प्रतिशत रहेको छ।

यसबाट के देखिन्छ भने अझै पनि धेरै बालबालिकाले विद्यालयको मुख देख्न पाएका छैनन् भने विद्यालय भर्ना हुनेको ठूलो हिस्साले आफ्नो पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन्। यसको पछाडि देशमा व्याप्त गरिबी, शिक्षण विधि, शिक्षा क्षेत्रमा रहेको संरचनागत समस्या लगायत विषय जिम्मेवार हुन सक्छन्।

सरकारले यस सम्बन्धमा गम्भीर ढंगले अध्ययन गर्न जरुरी छ। नेपालले समेत अंगीकार गरेको दिगो विकास लक्ष्य २०३० को मूल मर्म अवसरबाट कोही पनि पछाडि नपरुन् भन्ने हो। एक जना बालबालिका पनि शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु भनेको हाम्रो लागि असफलता हो भन्ने ध्येयका साथ राज्य र सरकारले काम गर्न जरुरी छ।

नेपालको शिक्षा प्रणालीमा रहेको अर्को सबैभन्दा ठूलो समस्या धनी र गरिबबीच शिक्षामाथिको असमानता हो। कुनै बालबालिका आधारभूत शैक्षिक पूर्वाधार समेत नभएको विद्यालयमा अध्ययन गर्न बाध्य छन् भने कुनै बालबालिका महिनामा हजारौं शुल्क तिरेर पूर्वाधार सम्पन्न विद्यालयमा अध्ययन गर्न पाइरहेका छन्। यो कुनै व्यक्तिको आर्थिक हैसियत र क्षमतासँग मात्र जोडिएको विषय होइन।

‘आन्दोलन’ शब्दलाई अवरोध, हडताल एवम् तोडफोडको रूपमा व्याख्या गर्ने भाष्यको निर्माण हुँदै गरेको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई नयाँ ढंगले पुनर्परिभाषित गर्न आवश्यक छ।

यो राज्यको स्रोत र सुविधाको असमान एवम् अन्यायपूर्ण वितरणको कारण सिर्जित समस्याको द्योतक पनि हो। समाजमा धनी र गरिब वर्गको निर्माण मूलतः उत्पादनका साधनहरूको असमान स्वामित्व, श्रमको शोषण, लाभको अनुचित वितरणलगायत कारणबाट हुने गर्दछ। धनीहरूले गरिबहरूको भागमा पर्ने उत्पादनका साधनको एकपक्षीय उपभोगबाट प्रशस्त धन आर्जन गर्ने, गरिबहरूकै श्रमको शोषण गरेर धनी बन्ने र सोही धनको परिचालन गरेर राज्यमा उपलब्ध आधुनिक र महँगा सुविधा उपभोग गर्ने चक्र लामो समयदेखि चलिआएको छ।

यो चक्रको निरन्तरता थप अन्यायपूर्ण छ। यसको अन्त्यका लागि द्वैध शिक्षा प्रणालीको अन्त्य हुन जरूरी छ। धनीका बच्चा र गरिबका बच्चाले पढ्ने किताबको गुणस्तरमा समेत द्वैधता रहनु समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा अगाडि सरेको राज्यका लागि लज्जाको विषय हुनुपर्ने हो। यसको अन्त्यका लागि विद्यार्थी आन्दोलन थप स्पातिलो बन्न जरुरी छ।

अर्कोतर्फ, विगतका विद्यार्थी आन्दोलन शैक्षिक तथा राजनीतिक मुद्दाहरूमा ज्यादा केन्द्रित भएको पाइन्छ। तर हाल शासनको परिभाषाभित्र राजनीतिक अधिकारका अलावा सामाजिक, आर्थिक, प्राविधिक तथा वातावरणीय पक्षहरू समेत समावेश हुँदै यसको क्षेत्र बृहत् बन्न पुगेको छ।

यस सन्दर्भमा विद्यार्थी आन्दोलन भित्र सामाजिक न्यायका बहुआयामिक मुद्दा (जस्तैः लैंगिक मुद्दा, सीमान्तकृत वर्ग र समुदायका चाहना आदि), पर्यावरणीय मुद्दा, प्रविधि सम्बद्ध विषय समेत बहस र छलफलका विषय बन्न आवश्यक छ।

उदाहरणको लागि अमेरिकामा ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा र विश्वभर जलवायु परिवर्तनको कारण वातावरणमा परेको असरको सम्बन्धमा विद्यार्थीले खेलेको भूमिका आदिबाट नेपालको विद्यार्थी आन्दोलनले थुप्रै प्रेरणा लिन सक्छ। सामाजिक, आर्थिक, पर्यावरणीय एवम् प्रविधिजन्य विषयमा विद्यार्थी संगठनको धारणा तथा उनीहरूले खेल्ने भूमिका के हो भन्ने बारेमा खासै छलफल भएको पाइँदैन।

सन् २०१५ देखि विश्वराजनीति एवम् विकास दिगो विकास लक्ष्यहरूको वरिपरि घुमिरहेको छ। दिगो विकास लक्ष्यले अंगीकार गरेका मूल्य प्रणाली, लक्ष्य एवम् उद्देश्य तथा सूचकहरूप्रति विद्यार्थी संगठनको बुझाइ के छ ? तिनलाई नेपालमा कसरी आन्तरिकीकरण गर्नुपर्छ ? तिनको प्राप्तिमा विद्यार्थी तथा विद्यार्थी आन्दोलनले खेल्न सक्ने भूमिका के हो ? भन्ने बारेमा अध्ययन एवम् विश्लेषण गर्दै उपयुक्त कार्ययोजना तय गर्न आवश्यक छ।

यस्ता आयामहरूमा बृहत् छलफल गर्ने, अनुसन्धान तथा विकासमा संलग्न व्यक्तिहरूलाई विद्यार्थी आन्दोलनसँग जोड्ने एवम् “आन्दोलन” शब्दको परिभाषामा नयाँ भाष्यको निर्माण गर्ने कार्यमा विद्यार्थी संगठनहरू लाग्न जरुरी छ। ‘आन्दोलन’ शब्दलाई अवरोध, हडताल एवम् तोडफोडको रूपमा व्याख्या गर्ने भाष्यको निर्माण हुँदै गरेको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई नयाँ ढंगले पुनर्परिभाषित गर्न आवश्यक छ।

विद्यार्थी आन्दोलनमा विद्यार्थीको सरकार, समाज, शिक्षण संस्था तथा परिवारसँगको सम्बन्ध प्रतिबिम्बित हुन्छ। हाल पनि विद्यार्थी र शिक्षण संस्था बीचको सम्बन्ध ‘इन लोको प्यारेन्टिस’ सिद्धान्तको आधारमा निर्देशित रहेको पाइन्छ।

शिक्षण संस्थाहरूले विद्यार्थीलाई अभिभावकीय व्यवहार देखाउने नाममा कठोर प्रशासकीय दायराभित्र राख्ने गरेको पाइन्छ। यस्तो अभ्यास निजी शिक्षण संस्थाहरूमा अझ बढी हुने गरेको छ। यसले विद्यार्थीको स्वतन्त्रतामाथि आघात पुग्ने मात्र होइन उनीहरूको व्यक्तित्व विकासमा समेत अवरोध गरिरहेको हुन्छ।

अर्कोतर्फ नेपाली समाज हाल एक प्रकारको संक्रमणमा छ। पुरानो पुस्ता र नयाँ पुस्ताका सोच, विचार, अनुभव एवम् भावी योजनाका बीच ठूलो खाडल छ। पुरानो पुस्ताले नयाँ पुस्ताका इच्छाहरूलाई सजिलै बुझ्न नसकिरहेको पनि पाइन्छ।

अर्कोतर्फ समाज तथा राज्यका विविध संरचनागत कमजोरीहरूको कारण धेरै विद्यार्थी डिप्रेसनमा समेत गएको पाइन्छ। तथापि विद्यार्थी आन्दोलनले यस प्रकारका समस्यालाई आफ्नो अभियानको अंश बनाउने, परामर्श दिने, साथीत्वको भावना विकास गर्नेतर्फ खासै ध्यान दिनसकेको छैन।
यसकारण विद्यार्थी आन्दोलनले विद्यार्थीको मनोवैज्ञानिक आयामलाई समेत सम्बोधन गर्ने गरी कार्यक्रमहरू अगाडि ल्याउन आवश्यक छ।

तेस्रो, महत्वपूर्ण विषय भनेको आन्दोलनको चरित्रसँग जोडिएको विषय हो। विगतमा राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारहरू कुण्ठित गरिएको अवस्थामा विद्यार्थी आन्दोलन ज्यादा प्रतिक्रियात्मक हुनुपर्ने बाध्यतामा थियो। राज्यले पनि शिक्षण संस्थाहरूलाई राजा र सरकारको स्तुतिगान गाउन लगाउने स्थलको रूपमा प्रयोग गर्थे। उनीहरूप्रति अनुदार शिक्षक तथा विद्यार्थीलाई कारबाही गर्ने एवम् यातना दिने कार्यहरू गरिन्थे।

यस्तो अवस्थामा विद्यार्थी आन्दोलनले पनि क्रियाको प्रतिक्रिया सोही रूपमा दिने गर्दथ्यो। तर हाल विभिन्न राजनीतिक परिवर्तनको कारण नागरिक एवम् विद्यार्थीलाई बृहत् राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारहरू उपलब्ध छन्।

यस सन्दर्भमा विद्यार्थी आन्दोलनको चरित्र र शैलीमा समयानुकूल परिमार्जन हुन जरुरी छ। तर, विद्यार्थी आन्दोलनको नाममा शिक्षक तथा प्राध्यापकहरू माथि आक्रमण हुने, शैक्षिक संस्थामा तोडफोड हुने, फरक आस्थाका विद्यार्थी माथि आक्रमण हुने लगायतका हिंस्रक एवम् अराजनीतिक गतिविधिले निरन्तरता पाइरहेका छन्।

विगत लामो समय त्रिभुवन विश्वविद्यालयमा तालाबन्दीको कारण प्रशासनिक गतिविधिहरू ठप्प हुन पुगे भने शैक्षिक वातावरणमा गम्भीर असर पर्यो। विश्वविद्यालय परिसरमा नै उपप्राध्यापक माथि मरणासन्न हुने गरी आक्रमण भएको धेरै भएको छैन।

अहिले पनि यो वा त्यो नाममा विश्वविद्यालयको शैक्षिक वातावरण विथोल्ने प्रयासहरू जारी छन्। शिक्षण संस्थाहरूमा अराजकता मच्चाउने अनि त्यसलाई विद्यार्थी आन्दोलनको नाम दिएर उन्मुक्ति लिन खोज्ने प्रवृत्ति ज्यूँका ज्यूँ छ। यसको अन्त्य कहिले हुने ?

लोकतन्त्रको आधारभूत मान्यतासँग जोडेर आम विद्यार्थीको अभिमतबाट स्वतन्त्र विद्यार्थीको नेतृत्व स्थापित गर्ने विश्वविद्यालयको स्ववियु आज निर्वाचन समयमै नहुँदा कोमामा पुगेको छ। कोमामा पुगेको स्ववियुलाई पुनर्जागरण गर्ने कहिले हो? निर्वाचन नहुनुको मुख्य दोषी को हो? यो प्रश्नको उत्तर दिन सक्ने नैतिक धरातल सम्पूर्ण विद्यार्थी आन्दोलनका हस्तीहरूले निर्माण गर्न सक्नुपर्दछ।

विद्यार्थी नेताहरूले देखाउने यस प्रकारका हर्कतको साइनो र सम्बन्ध पढ्न नपाएका बालबालिका/किशोरकिशोरी एवम् ऋण काढेर शहरमा पढ्न बसेका विद्यार्थीको हितसँग कहाँनेर जोडिन्छ ? यसकारण विद्यार्थी संगठनहरूबीच सिर्जनात्मकता प्रदर्शनमा प्रतिस्पर्धा हुन आवश्यक छ।

अतः बदलिएको घरेलु राजनीति, विश्व व्यवस्था एवम् समयको पदचाप सँगै विद्यार्थी आन्दोलनलाई पुनर्जागृत, पुनःसंरचित एवम् परिष्कृत गर्न विद्यार्थी संगठनहरूले भूमिका खेल्न सक्नुपर्दछ। विद्यार्थी आन्दोलनलाई विद्यार्थी राजनीतिको नामबाट समेत परिभाषित गर्ने गरिएको छ। सैद्धान्तिक दृष्टिले विद्यार्थी राजनीति विद्यार्थीको हकहितको लागि परिचालित हुने आन्दोलनको नाम हो। तर यसभित्रका गलत प्रवृत्तिको कारण विद्यार्थी राजनीति एवम् आन्दोलनको नै भ्रष्टीकरण हुने खतरा देखिन थालेको छ। विद्यार्थी संगठनहरू विद्यार्थी समुदायका राजनीतीकरणका औजार पनि हुन्।

राजनीतीकरण राजनीतिक चेतना निर्माणको प्रकृया हो। राजनीतिक चेतना विना आलोचनात्मक राजनीतिक संस्कारको विकास हुनसक्दैन, जुन लोकतान्त्रिक एवम् सभ्य राजनीतिक संस्कृतिको संस्थागत विकासका लागि अपरिहार्य छ।

(लेखक अनेरास्ववियुका महासचिव हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?