+
+

गौतमश्री सहकारीका अध्यक्षले मन्त्रालयमा बुझाए स्पष्टीकरण

गौतमको दावी छानविन गर्न मन्त्रालयले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १८:०८

१६ भदौ, काठमाडौं । बचकर्ताको रकम फिर्ता नगरेको भन्दै सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्पष्टीकरण बुझाएको छ ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सहकारीलाई मन्त्रालयले १ भदौमा १५ दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्ने स्रोत र कार्ययोजना सहित मन्त्रालयमा स्पष्टीकरण सहित उपस्थित हुन पत्राचार गरेको थियो ।

सहकारीका अध्यक्ष रामबहादुर गौतमसहितको सहकारी व्यवस्थापनले मन्त्रालयलाई स्पष्टीकरण पेश गरेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । १ भदौमा १५ दिनको अवधि दिएर बचकर्ताको रकम फिर्ता गर्ने भएर स्रोत र कार्ययोजना सहित उपस्थिति हुन पत्राचार गरेको थियो । समयमा चित्त बुझ्दो जवाफ नदिए आवश्यक प्रक्रिया अगाडि बढ्ने मन्त्रालयले निर्णय गरेको थियो ।

तर, सहकारीका अध्यक्ष गौतमले बचकर्ताको रकम फिर्ता गरेर सहकारी चलाउने भन्दै मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेको मन्त्रालयका प्रवक्ता जाशीले बताए ।

‘उसको दाबी सही छ कि छैन ?, तथ्यमा आधारित भएको छ कि छैन ? यसको दावीको वास्तविकता के हो भनेर छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ,’ मन्त्रालयका प्रवक्ता जोशीले भने, ‘उक्त समितिले पाँच दिनभित्र अध्ययन गरेर प्रतिवदन बुझाउँछ । सोही प्रतिवेदनको आधारमा समस्याग्रस्त घोषणा गर्न अथवा उसको दावीलाई मानेर के गर्ने भन्ने निर्णय हुन्छ ।’

एक महिना अगाडि सहकारीको बचतकर्ताबाट करिब साढे ७ अर्ब बचत परिचालन गरेको सहकारी सञ्चालक अध्यक्ष रामबहादुर गौतमसहित व्यवस्थापकहरु १२ साउनदेखि कार्यालय बन्द गरेर फरार भएपछि १३ साउनमा बचतकर्ता विभागमा उजुरी गर्न पुगेका थिए । १५ साउनदेखि बचतकर्ताको उजुरी लिएको विभागमा १ हजार २१० जना बचतकर्ताबाट १ अर्ब ८७ करोड बचत रकमको दावीसहित उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा सहकारी विभागले १८ साउनमा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । विभागले जिल्ला प्रशासन कार्यालायलाई पत्राचार गर्दै सहकारीका सञ्चालक तथा व्यवस्थापलाई विभागमका उपस्थित गराउन पत्राचार गर्नुको साथै सहकारीको सम्पूर्ण सम्पत्ति रोक्का राख्न भूमि व्यवस्था विभागलाई पत्राचार गरेर समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

यस्तै सहकारी विभागको अनुरोधमा संस्थाका अध्यक्ष गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, व्यवस्थापक रवीन्द्र विष्ट, सुपरभाइजर अनिल गौतम र लेखापाल सुनिता सिंहलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । रामबहादुर र निर्मलाको घरजग्गा रोक्का राख्न विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्र पठाएको थियो । साथै उनीहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पनि विभागले पत्राचार गरेको थियो ।

त्यसपछि १८ साउनमा सहस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा विभागले सिफारिस गरेको थियो । विभागले सहकारीको कार्यालय सिल गर्न र विभागको अनुमतिविना नखोल्न प्रहरीलाई पत्राचार गरेको थियो । सहकारीका सञ्चालक फरार भएपछि काठमाडौं कुलेश्वरस्थित सहकारीको कार्यालय र डिपार्टमेन्ट स्टोरमा एभरेस्ट बैंकले शिलबन्दी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?