+
+

दाङ-१ बाट कांग्रेसका चौधरीसहित ४ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १८:४४

१६ भदौ, दाङ । नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा केन्द्रीय सदस्यद्वय योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे, अनुराग खड्का र प्रदीप थापा छन् ।

आज बसेको दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको बैठकले चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको पूर्व सांसदसमेत रहेका योगेन्द्र चौधरीले जानकारी दिए । अब यही सिफारिसको आधारमा जिल्ला, प्रदेश हुँदै केन्द्रबाट टिकट कसलाई दिने भन्ने निर्णय हुनेछ ।

सिफारिसमा परेका चारै जना संस्थापन पक्षका हुन् । तीमध्ये चौधरी सबैभन्दा बरिष्ठ नेता हुन् । चौधरी लगातार दोस्रो कार्यकाल केन्द्रीय सदस्य छन् ।

घिमिरे १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका हुन् । स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए भने प्रदीप थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

चौधरीले प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि आफ्नो सशक्त दाबेदारी रहेको बताए ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट तत्कालीन नेकपाका मेटमणी चौधरी विजयी भएका थिए । हाल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेका मेटमणी शहरी विकास मन्त्रीसमेत छन् ।

मेटमणी यसपटक पनि दाङ १ बाट दोहोरिन चाहेका छन् । तर गत स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादी निकै कमजोर देखिएको थियो । गाउँपालिका अध्यक्ष माओवादी केन्द्रले जित्दा उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्ती चौधरी नेपाली कांग्रेसकी शारदा चौधरीसँग पराजित भएकी थिइन् । एकीकृत समाजवादीले वडा सदस्यसमेत जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?