+
+

९ हजार मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सम्भावना छ : पुन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १९:१८
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि वातावरण बन्दै गएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई बिहीबार भिजिटिङ प्रोफेसरका रुपमा कक्षा लिने क्रममा उनले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताए ।

विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उनको भनाइ थियो । सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिंदै उनले निकट भविष्यमै बंगलादेशको बजारसमेत नेपालका लागि खुल्ने विश्वास व्यक्त गरे । उनले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव (जीएमआर) ले उत्पादन गर्नेमध्येको पाँच सय मेगावाट बराबरको बिजुली बंगलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताए ।

जीएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उनले बंगलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको स्पष्ट गरे ।

विश्वव्यापी बोलपत्रका माध्यमबाट जीएमआरले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो । आयोजनाको म्याद पटकपटक थप भए पनि थप प्रगति हुन सकेको छैन । पछिल्लोपटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ । जीएमआरले पाँच सय मेगावाट बिजुली बंगलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ ।

उपमहासचिव पुनले भारतको अर्को कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत् निकासीका लागि थप वातावरण बनाउने भएकाले सरकारले दीर्घकालीन हितका साथ काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?