+
+

धमाधम डेंगु संक्रमित हुँदै सेलिब्रिटी, अस्पताल बसेर फर्किए पुष्प खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १४:१४
अभिनेता पुष्प खड्का । फाइल तस्वीर

काठमाडौं । राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न भागमा अहिले डेंगु संक्रमण बढिरहेको छ । संक्रमणबाट सर्वसाधारण मात्र होइन, सेलिब्रिटी पनि प्रभावित भइरहेका छन् ।

डेंगु संक्रमणका कारण छायांकन, फिल्म निर्माणदेखि दैनिक तालिका समेत प्रभावित बनिरहेको छ । क्यूएफएक्सका निर्देशक नकिम उद्दिन, गोपीकृष्ण हलका सञ्चालक तथा राप्रपा नेता उद्धव पौडेल समेत डेंगुबाट संक्रमित भइसकेर अहिले निको भइसके ।

अभिनेता पुष्प खड्का पनि अहिले डेंगु संक्रमित भएका छन् । फिल्म ‘कृष्णलीला’पछि केही म्युजिक भिडियोमा व्यस्त हुँदै गर्दा उनलाई डेंगु संक्रमणले नराम्रोसँग थला पार्‍यो । उनले अस्पतालमा समेत बस्नुपर्‍यो, केही निको भएपछि अहिले घर फर्किएका छन् ।

‘संक्रमणको सुरुको चार दिन त आधा मरेजस्तै भयो । उच्च ज्वरो, टाउको र आँखा दुख्ने अनि बोमिट भयो । ब्लड प्रेसर लो पनि भयो,’ अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका पुष्पले अनलाइनखबरलाई सुनाए, ‘अहिले ममात्र होइन, घरमै बहिनी र ज्वाइँ पनि संक्रमित हुनुभएको छ ।’

जीउ पूरै गलेकोदेखि शरीरबाट बल हराएजस्तो भएको अनुभव उनले सुनाए । दुई-दुईवटा पारासिटामोल खानुपरेको समेत उनले बताए । पुष्प बिहीबार दिनभर भरोसा अस्पतालमा बसेर घर फर्किएका हुन् ।

संक्रमणबाट स्वास्थ्यलाभको प्रयासमा रहेका पुष्प घरभित्र सरसफाइ गर्न र लामखुट्टेबाट जोगिन सुझाव दिन्छन् । ‘घरभित्र फोहोर जम्मा गर्ने र पानी जम्मा हुने ठाउँ पुर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ,’ उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समय दिनहुँ डेंगु संक्रमितको संख्या उकालो लागिरहेको छ । डेंगु संक्रमण कीटजन्य रोगअन्तर्गत पर्छ । एडिस जातको लामखुट्टेमार्फत डेंगु संक्रमण फैलिने गर्छ । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुका सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसबेला संक्रमण बढी सार्ने चिकित्सक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?