+
+

साढे ४ वर्षीय बालकले खोले सहनाज हत्याको रहस्य

श्रीमानले हत्या गरे, जेठाबनीले ढाकछोप

सुरेश बिडारी सुरेश बिडारी
२०७९ भदौ १७ गते २०:०६
पक्राउ परेकी अप्सना खातुन र सैमोदिन अंसारी।

१७ भदौ, वीरगञ्ज । बिहीबार बिहानै बारा महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको शंकास्पद मृत्युको खबर प्रहरीलाई आयो । यो खबर प्रहरीलाई घर पक्षले नभई माइती पक्षले दिएका थिए । तत्काल प्रहरी टोली घटना स्थल पुग्यो ।

मृतकको शव ओछ्यानमै थियो । बायाँ आँखामाथि चोट लागेर रगत बगेको जस्तो देखियो । जबकी सहनाजको श्रीमान २७ वर्षीय सैमोदिन अंसारीले राति श्रीमतीसँगै सुतेको र उनको मृत्यु प्राकृतिक भएको दाबी गरिरहेका थिए । मृतकको जेठानी २५ वर्षीया अप्सना खातुन पनि दुई छोरासहित सोही घरमा बस्थिन् । अप्सनाले देवरको दाबीमा हो मा हो मिलाइन् ।

साढे ४ वर्षको बालकसँग सोधपुछ गरेपछि भने सैमोदिनले ढाँटेको प्रहरीलाई पत्ता लगायो । प्रहरीले रितपूर्वक सोधपुछ गर्दा उनले काका आफूहरुसँगै सुतेको बताए । त्यसपछि प्रहरीले तत्कालै सैमोदिनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न शुरु गरेको थियो ।

साढे ४ वर्षीय बालकले नै अनुसन्धानका लागि बाटो खोलिदिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बोगटी बताउँछन् । ‘प्राकृतिक रुपमै मृत्यु भएको भन्दै छरछिमेक बोलाएर सदगदको तयारी गर्दै रहेछन् ।

मृतकको ससुराली पक्षले शंका लागेर प्रहरीमा खबर गरेका थिए,’ उनले भने ‘आँखा माथि चोट पनि थियो । सोधपुछको क्रममा साढे ४ वर्षको बच्चाले काका हामीसँगै सुतेको भनेर क्लू दियो । त्यसैको आधारमा सैमुदिनलाई पक्राउ गर्‍यौं । त्यसपछि मात्रै उनले घटनाबारे मुख खोले ।’

श्रीमानले हत्या गरे, जेठानीले ढाकछोप

सैमुदिन वैदेशिक रोजगारीका क्रममा मलेशियामा ६ वर्ष बसेर ६ महिना पहिले मात्रै नेपाल आएका थिए ।

छिमेकी गाउँकै सहनाजसँग उनको विवाह भयो । विवाहपछि उनीहरुबीच नियमित जस्तै झै–झगडा हुने गरेको थियो । सहनाजले देवर भाउजुको सम्बन्धमा शंका गर्ने गरेकी थिइन् ।

भदौ १५ गते बुधबार दिनभरी भारततिर डुलेर फर्केका थिए । रातिको १० बजे खाना खाएपछि सुत्न गएको र शारीरिक सम्बन्धका लागि प्रस्ताव राख्दा अप्सनाले अस्वीकार गरेको सैमुदिनले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

भाउजुसँगको सम्बन्धलाई लिएर झगडा गरेपछि श्रीमतीलाई लछार पछार गरे । सहनाजको टाउको भित्तामा ठोक्कियो । त्सपछि सलले घाँटी बेर्नुको साथै तौलियाले नाकमुख थुनेर हत्या गरेको सैमुदिनले प्रहरीलाई बताएका छन् ।

उनको मृत्यु भएपछि सैमुदिनले भाउजुलाई गएर बताएका थिए । दुवै मिलेर हत्यालाई प्राकृतिक मृत्यु देखाउन हरसम्भव प्रयास गरेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।

सैमुदिनको बयानपछि प्रहरीले बिहीबार नै अप्सनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । अप्सनाको श्रीमान कैमोदिन डेढ वर्षदेखि रोजगारीका क्रममा दुवईमा छन् भने ३ र साढे ४ वर्षका दुई छोरासँगै घरमा बस्दै आएकी थिईन् ।

सहनाजको शव पोष्टमार्टमका लागि त्रि.वि.शिक्षण अस्पताल, महाराजगञ्ज, पठाइएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?