+
+
मोरङमा कांग्रेस उम्मेदवार सिफारिस :

शेखर कोइराला सर्वसम्मत भएनन्, अमृत अर्यालको नाम २ क्षेत्रमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १३:१५

१९ भदौ, विराटनगर । नेपाली कांग्रेसले मोरङका ६ वटै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरेको हो ।

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार क्षेत्र नम्बर १ बाट ४ जना, क्षेत्र नम्बर २ बाट दुई जना, क्षेत्र नम्बर ३ बाट सर्वसम्मत एक जना, क्षेत्र नम्बर ४ बाट पाँच जना र क्षेत्र नम्बर ६ बाट चार जनाको नाम सिफारिस भएको छ ।

मोरङ निवासी संस्थापनइतरका नेता डाक्टर शेखर कोइराला आफ्नो क्षेत्रबाट सर्वसम्मत हुन सकेनन् । उनको क्षेत्रनम्बर ६ बाट उनीसहित चार जना सिफारिस भएका छन् ।

यो क्षेत्रबाट कोइरालासँगै डाक्टर डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएर जिल्लामा आएको सचिव घिमिरेले जानकारी दिए ।

क्षेत्र नम्बर १ बाट कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बु, रामप्रसाद पोखरेल, आरती बराल, जयधर्म आचार्यको नाम सिफारिस भएको छ ।

२०७० सालको दोस्रो संविधानसभामा क्षेत्र नम्बर १ बाट निर्वाचित डिगबहादुर २०७४ सालको निर्वाचनमा वामगठबन्धन उम्मेदवार घनश्याम खतिवडासँग पराजित भएका थिए ।

मोरङ क्षेत्र नम्बर २ बाट डाक्टर मिनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस भएको छ । २०७४ सालको निर्वाचनमा मिनेन्द्रले वामगठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए ।

क्षेत्र नम्बर ३ बाट डाक्टर शुनिल शर्माको नाम सर्वसम्मत भएको छ । क्षेत्र नम्बर ३ बाट शर्माको एकल नाम सिफारिस भएको जिल्ला सचिव घिमिरेले बताए । शर्मा नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज काठमाडौंका सञ्चालक हुन् । २०७४ सालको निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ४ बाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलीप गच्छदारको नाम सिफारिस भएको छ । २०७४ सालको निर्वाचनमा आचार्य माओवादी उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ४ बाट सिफारिसमा परेका कांग्रेस केन्द्रीय सदस्य अर्याल क्षेत्र नम्बर ५ बाट पनि सिफारिस भएका छन् । क्षेत्र नम्बर ५ बाट अर्याल र हसन अन्सारीको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको छ ।

२०७४ सालको निर्वाचनमा क्षेत्र ५ बाट उम्मेदवार बनेका अर्याल माओवादी उम्मेदवार शिवकुमार मण्डलसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?