+
+

बालबालिकालाई असल संस्कार सिकाउदै म्याथ्यु रिचार्ड

अनलाइन संस्कार कक्षालय शुभारम्भ

रासस रासस
२०७९ भदौ १९ गते १६:५७

१९ भदौ, काठमाडौं । बालबालिकालाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’ को शुभारम्भ गरिएको छ । सुसंस्कार र योगका अभियन्ता डा राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रान्सेली लेखक एवं विश्वकै खुसी व्यक्ति डा म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो ।

अबदेखि हरेक शनिबार र आइतबार बिहान ७:३० देखि ९:३० बजेसम्म र दिउँसो २:३० देखि ४:३० बजेसम्म अनलाइनमार्फत बालबालिकाका लागि संस्कार कक्षालय सञ्चालन हुनेछ । आजको शुभारम्भ कार्यक्रममा डा. रिचार्डले शिक्षा लिनुको मुख्य उद्देश्य नै असल मानव बन्नुरहेको भन्दै असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्दत पुग्ने बताए ।

उनले आफ्ना मानिस र आफ्नै स्वार्थका लागि मात्र सोच्ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै अरुको खुसीमा आफ्नो खुसी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने बताए ।

अरुलाई दुःखी बनाउने भन्दा पनि कसरी अरुको राम्रो गर्न सकिन्छ भन्नेमा आफ्नो समय खर्चिनुपर्ने उनको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागू गरेर मात्र संस्कार सिकेको अर्थ रहने बताए ।

संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सधैँका लागि अत्यावश्यक रहेको भन्दै डा. महतोले संस्कार कक्षालयबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै सुरु हुनुपर्ने बताइन् ।

शनिबारबाट सुरु भएको संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल–योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरु, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी व्यवहारलगायत विषयहरु समेटिने डा अधिकारीले बताए ।

आधुनिक शिक्षा प्रणालीले कुनै पनि व्यक्तिलाई पेशागत सफलतामा पुर्‍याए पनि सुसंस्कार सिकाउन नसक्दा मानवीय मूल्य–मान्यताहरु नै सङ्कटग्रस्त बन्दै गएको उनको भनाइ छ ।

अभिभावकले आफ्ना छोराछोरीहरुलाई सानै उमेरदेखि असल संस्कार दिलाउन आवश्यक रहेको र त्यसका लागि संस्कार कक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । संस्कार प्रशिक्षक विमल कोइरालाले विषयगत ज्ञानले दिमागलाई शिक्षित गर्ने र संस्कारयुक्त ज्ञानले हृदयलाइ प्रशिक्षित गर्ने बताए ।

पहिलो चरणमा पाँचदेखि नौ वर्षसम्म, नौ वर्षदेखि १२ वर्षसम्म र १२ वर्षभन्दा माथिका गरी तीन समूहमा विभाजन गरी संस्कार शिक्षा, योग विज्ञान, जीवन व्यवस्थापन तथा वैज्ञानिक आध्यात्मिकता जस्ता विषयका विषेशज्ञहरुमार्फत नेपाली भाषी बालबालिकालाई अनलाइनबाट संस्कार कक्षा प्रदान गरिनेछ । यस कक्षालयमा विश्वका जुनसुकै स्थानमा वसोबास गर्ने नेपालीभाषी बालबालिकालाई अनलाइन कक्षामा समेटिने छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?