+
+

घनश्याम भूसाललाई एउटा मात्रै क्षेत्रबाट सिफारिस गराउन जिल्ला नेतृत्वलाई दबाव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते ८:५५

२१ भदौ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि त्यसलाई सच्याउन जिल्ला नेतृत्वलाई दबाब परेको छ ।

जिल्लाको क्षेत्र नम्बर १ र ३ बाट भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भई जिल्ला कमिटीमा पुगेको छ । भूसालको घर क्षेत्र नं. १ मा पर्ने भए पनि अघिल्लो चुनावमा उनी निर्वाचित भएको क्षेत्र नम्बर ३ बाट नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट भूसालसँगै स्थानीय नेताहरु बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्वसांसद यज्ञजित शाहको नाम सिफारिस भएको छ ।

अघिल्लो चुनावमा क्षेत्र नम्बर ३ बाट टिकट पाएका भूसालले तत्कालीन स्वास्थ्यमन्त्री एवम् राप्रपाका नेता दीपक बोहोरालाई हराएका थिए ।

जिल्लाका केही नेताहरुले भूसालको नाम फेरि पनि क्षेत्र नम्बर ३ बाट मात्रै सिफारिस गर्ने गरि छलफल अगाडि बढाएपछि विवाद भएको छ । गृहक्षेत्रका स्थानीय नेता-कार्यकर्ताहरूले भूसाललाई १ नम्बर क्षेत्रमै उठाउनुपर्ने अडान लिएका छन् ।

यो विषयमा रुपन्देही जिल्ला कमिटीमा सोमबार भएको छलफल निष्कर्षविहीन भयो । आज (मंगलबार) बिहान १० बजे फेरि बस्ने गरि बैठक स्थगित गरिएको छ ।

स्थानीय नेता कार्यकर्ताले भुसाललाई क्षेत्र नम्बर १ बाट चुनावमा उठाउनुपर्ने भन्दै छविलाल विश्वकर्मासँगै उनको नाम पनि सिफारिस गरेपछि यतिबेला जिल्ला कमिटी अप्ठ्यारोमा परेको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र नम्बर २, खिमलाल भट्टराईको क्षेत्र नम्बर ५ र पार्टीका सचिव तथा प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्माको नाम क्षेत्र नम्बर १ बाट मात्रै उम्मेदवार सिफारिस भएको छ । तर पार्टीभित्र सधैं प्रतिपक्षको भूमिकामा रहेका नेता भूसाललाई दबाबमा राख्न पार्टीको एउटा खेमाले उनको नाम रुपन्देहीका दुईवटा क्षेत्रबाट सिफारिस गराएको उनी निकट एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?