+
+

सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति एमालेमा उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १९:५७

२१ भदौ, जनकपुरधाम । प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई नेकपा एमालेले सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका थिए । गिरिको केहि दिनअघि मात्रै निधन भएको छ ।

एमालेले यो क्षेत्रबाट रामशंकर यादवलाई प्रतिनिधि सभाका लागि एकल उमेदवार सिफारिस गरेको छ । उनी पार्टीका मधेश प्रदेश कमिटी सदस्य पनि हुन् ।

प्रहरी जवानको हत्या गरेको भन्दै सिरहा जिल्ला अदालतले उनीमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतले सजायको आदेश सुनाएपछि फरार रहेका उनलाई प्रहरीले २०६९ सालमा पक्राउ गरेर अदालतमा बुझाएपछि जेल चलान गरिएको थियो ।

तर उनलाई २०७६ सालमा मन्त्री परिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएकी थिइन् । र उनी संविधान दिवसको अवसरमा आम माफी पाएर रिहा भएका थिए ।

यस्तो थियो घट्ना ?

३ मंसिर २०५८ मा सिरहाको तत्कालीन भगवानपुर गाविस ४ मा दिनेश यादव र राजेन्द्र यादवको संयुक्त स्वामित्वमा रहेको यात्रुवाहक बसको बिषयलाई लिएर विवाद भएको थियो । विवाद भएपछि हातहतियारसहित आएका रामशंकर यादवका समूहले गोली चलाएका थिए । त्यस क्रममा सुरक्षार्थ खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको गोली लागेर ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न रहेको भन्दै सिरहा जिल्ला अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा ६ माघ २०६१ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

अदातलको फैसलापछि फरार रहेका यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महारागञ्जबाट खटिएको टोलीले ३ पुस २०६९ मा काठमाडौंको काँडाघारीबाट पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा बुझाउँदा फैसला कार्यान्वयनका लागि जेल चलान गरिएको थियो ।

२०७६ सालको संविधान दिवसका दिन उनलाई मन्त्री परिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि रिहा भएका उनी त्यसपछि राजनीतिमा आएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिएको छ ।

ऐनको दफा १३ को (ङ) मा संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिने उल्लेख छ । यो ऐन अनुसार यादवले राष्ट्रपतिबाट आम माफी पाएको ६ वर्ष पुगेको छैन् ।

एमाले सिरहाका सचिव उग्रनारायण यादवले मन्त्रीपरिषद् निर्णयको आधारमा राष्ट्रपतिले आम माफी दिएपछि उम्मेदवार बनाइएको बताए । ‘राजनीतिक मुद्दा भनेर ती मुद्दा खारेज गर्दै आम माफी दिएपछि उम्मेदवारमा सिफारिस गरिएको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?