+
+

पाउने भोट होइन, काट्ने भोटले तर्साउँछ पूर्णबहादुरलाई

यज्ञ खत्री यज्ञ खत्री
२०७९ भदौ २१ गते २०:५४

२१ भदौ, सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र, नेपाली कांग्रेसका उपसभापति, सत्ता गठबन्धनमा समन्वयकारी भूमिका र मुख्य प्रतिस्पर्धी नेकपा एमालेमा विभाजन । सुर्खेत १ बाट छैटौं पटक चुनाव लड्न लागेका पूर्णबहादुर खड्काका अनुकुलता यिनै हुन् ।

तर ३० वैशाखमा भएको स्थानीय चुनाव र ७ जेठमा भएको जिल्ला समन्वय समितिको तितो अनुभव छ । खड्का र हृदयराम थानीको सम्वादहीनताका कारण स्थानीय चुनावमा अपेक्षा गरिएजति जित निकाल्न नसकेको कांग्रेसले जिल्ला समन्वय समितिको नेतृत्व पनि गुमायो ।

त्यसैले खड्का निकट नेताहरुको निष्कर्ष छ, अन्तर्घात भएन र गठबन्धनका दलहरु इमान्दार भए चुनाव जितिन्छ । सुर्खेतका पूर्व जिल्ला सभापति नारायण दत्त पनि कांग्रेस एक भएर जाने हो भने यो पटक जिल्लाको दुबै क्षेत्रमा जित्न सकिने बताउँछन् ।

अन्तर्घात प्रमुख चुनौती

कांग्रेस उपसभापति खड्काका लागि कांग्रेसभित्रको गुटबन्दी र अन्तर्घात प्रमुख चुनौती छ । ३० वैशाखको स्थानीय निर्वाचनले त्यसको छनक दिइसकेको नेताहरु बताउँछन् ।

सुर्खेतमा संस्थापन पक्षको नेतृत्व खड्का र इतरको नेतृत्व हृदयराम थानीले गर्दै आएका छन् । कुनै समय दुबै कृष्णप्रसाद भट्टराई निकट मानिन्थे । जति सिँढी चढ्दै गए, जिल्लाको राजनीतिमा हावी हुन नेता कार्यकर्ता तानातानमा लागेपछि दुरी पनि बढ्दै गयो ।

निर्वाचन क्षेत्र पुनर्संरचनाअघि सुर्खेतमा ३ वटा क्षेत्र थिए । १ मा खड्का, २ मा थानी र ३ मा तप्तबहादुर बिष्ट । दुई नेता (खड्का र विष्ट) एक ठाउँमा आएपछि जिल्ला राजनीतिमा थानी किनारा परे । पछिल्लो समय पार्टी अधिवेशनका बेला दुई समूहबीच चर्को गुटबन्दी र तिक्तत्ता भयो । त्यसको असर स्थानीय चुनावमा देखिएको नेताहरु स्वीकार गर्छन् ।

२०७४ मा सुर्खेतका ९ मध्ये ६ वटा स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यो पटक गठबन्धन गर्दा पनि ४ वटा पालिका मात्र जित्यो । २०७४ मा जितेको खड्काकै निर्वाचन क्षेत्रमा पर्ने सिम्ता र चिङ्गाड गाउँपालिका तथा भेरीगंगा नगरपालिकामा कांग्रेसले पराजय व्यहो¥यो । वीरेन्द्रनगर नगरपालिकामा पनि खड्का पक्षका उम्मेदवार हारे । त्यसको प्रमुख कारण पार्टीभित्रकै अन्तर्घात भएको कांग्रेसको निष्कर्ष छ ।

अन्तर्घात गरेको भन्दै संस्थापन इतरका निवर्तमान जिल्ला सभापतिसहितका नेता कार्यकर्तालाई कार्वाही पत्र थमाइएको छ । त्यो कारबाही फिर्ता लिएर आगामी निर्वाचनमा समान तरिकाले टिकट नबाँडे बिद्रोह गर्ने इतर समूहको अडान छ । ‘दुईमा हस्ताक्षेप नहोस्, एकमा हामी गर्दैनौं’, थानीनिकट एक नेता भन्छन्, ‘बल्ल कुरा मिल्छ ।’

त्यसैले खड्काले लचकता नदेखाए हुने निर्वाचनमा अन्तर्घात रोक्न कठिन हुने नेताहरु बताउँछन् । उम्मेदवारहरुको नाम सिफारिस हेर्दा दुबैले एक अर्काको अस्तित्व स्वीकार नगरे चुनाव जित्न सकिन्न भन्ने महसुस गरेको देखिने एक नेता बताउँछन् । उनका अनुसार क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा खड्का सर्वसम्मत हुँदा प्रदेशमा इतर समूहका आकांक्षीहरुको नाम पनि समावेश गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा थानी सिफारिस हुँदा प्रदेशमा अर्को समूहको पनि नाम परेको छ । ‘चुनावमा एक भएर नजाने हो भने आफैंलाई गाह्रो हुन्छ भन्ने नेताहरुले बुझ्नु भएको होला,’ सुर्खेत कांग्रेसका अर्का एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरु मिलेर जाने हो भने सुर्खेत मात्र होइन, सिंगो कर्णालीमा तरंग आउँछ ।’

खड्काले छाड्दा कमलाको जित

२०४८ सालदेखि सुर्खेतमा चुनाव लड्दै आएका खड्काको प्रमुख प्रतिस्पर्धी एमाले नै हो । २०४८ को आम चुनावमा एमालेका हस्तबहादुर पुन उम्मेदवार थिए, खड्काले सहज चुनाव जिते ।

२०५१ र ०५६ मा ऋषिप्रसाद शर्मालाई हराएर सांसद बनेका खड्काले २०६४ को पहिलो संविधानसभामा समानुपातिकमा बसे । निर्वाचनका बेला एमाले उम्मेदवार शर्माको गोली हानेर हत्या भयो । एमालेले उनकी पत्नी कमलालाई उठायो र कांग्रेसका लालबहादुर घलेलाई ६ हजार ४६९ मतले हराएर सांसद बनिन् । दोस्रो संविधानसभा निर्वाचन ०७० मा खड्का प्रत्यक्ष चुनावमा होमिए, कमलालाई सहजै पराजित गरिन् ।

यो क्षेत्रमा एमाले र कांग्रेस हाराहारी शक्ति थियो । २०७४ मा एमालेले माओवादीसँग वाम गठबन्धन गरेपछि ध्रुवकुमार शाहीले खड्कालाई झण्डै ३ हजार मतान्तरले हराए ।

तर अहिले परिस्थिति फेरिएको छ । २०७४ मा शाहीलाई जिताउन भूमिका खेलेको माओवादी केन्द्र आज खड्काको साथमा छ । स्थानीय चुनावकै मतका आधारमा हेर्दा यो तेस्रो शक्ति हो । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको ठूलो प्रभाव त छैन, तर मतान्तर बढाउन यो पार्टीको मतको पनि अर्थ रहने कांग्रेस नेताहरु बताउँछन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?