News Summary
Generated by OK AI. Editorially reviewed.- माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ २६ भदौदेखि प्रदर्शनमा आउँदै छ ।
- निर्देशक गुरुङले फिल्ममा गुरुङ समाज, लाहुरे जीवन, परिवार, प्रेम, त्याग र सामाजिक संरचनाको कथा प्रस्तुत गरेको बताएका छन् ।
- उनले दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, सुनिल थापा, बुद्धि तामाङ र विल्सनविक्रम राईको अभिनय फिल्मको बलियो पक्ष भएको बताएका छन् ।
काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ २६ भदौदेखि प्रदर्शन तयारीमा छ । ‘दयारानी’पछि गुरुङको यो दोस्रो निर्देशकीय फिल्म हो । गुरुङ भाषाका दर्जनभन्दा धेरै फिल्म निर्देशन गरेका माओत्सेले पछिल्लो निर्देशकीय प्रोजेक्टमा पनि गुरुङको समाज र संस्कृतिकै कथा पेश गरेका छन् ।
अन्य समुदायका दर्शकलाई पनि यो कथा सुनाउन र देखाउन जरुरी रहेकाले मूलधारमा कथा ल्याएको उनको भनाइ छ ।
‘गुरुङ भाषा सबैले नबुझ्न पनि सक्नुहुन्छ । अब त्यही मौलिक कथा, भेषभूषा, संस्कार, संस्कृति र परिवेशलाई मूलधारका कथासँग मिसाएर सबै नेपालीसहित विदेशी दर्शकलाई समेत देखाउनुपर्छ भन्ने सोचले म मूलधारको चलचित्रमा आएको हुँ’ उनी भन्छन् ।
फिल्मले मुलुकको पर्यटन प्रवर्धन गर्ने आशा पनि निर्देशक गुरुङको छ । अघिल्लो फिल्म ‘दयारानी’ लाई युट्युबमा अहिलेसम्म १ करोड पटक हेर्न लागिएको जनाउँदै गुरुङले यस फिल्ममार्फत लाहुरे जीवनसँग जोडिएको घटनाक्रमको कथा सुनाउन जरुरी लागेको र उत्साहित रहेको बताउँछन् ।
‘दयारानी सफल भएपछि त्यसैको जगमा अर्को मौलिक कथा लिएर आएको छु । त्यो कारणले पनि फिल्म दर्शकले रुचाउनुहुन्छ भन्ने लागेको छ’ उनले भने ।
शीर्षक ‘पेन्सन’ भएपनि यो फिल्म पेन्सनको कथामा नभएको उनी बताउँछन् । ‘केवल पेन्सनको कथा होइन । पेन्सन पट्टालाई केन्द्रमा राखेर एउटा परिवारको विगत, सम्बन्ध, प्रेम, त्याग, पहिचान र सामाजिक संरचनाको कथा भन्न खोजेका छौँ’ उनी भन्छन् ।
निर्देशक गुरुङ लाहुरे जीवनसँग नेपाली समाजको लामो इतिहास जोडिएको बताउँछन् । विशेषगरी ३०/४० वर्षअघिको समाजमा लाहुरेको पेन्सन परिवारका लागि ठूलो कुरा थियो । एउटा व्यक्तिले विदेशमा गएर कमाएको पैसाले मात्र होइन, उसको अनुपस्थिति, परिवारको प्रतीक्षा र उसले छोडेर गएको सम्बन्धले पनि एउटा पुस्ताको जीवन निर्माण गरेको उनको बुझाइ छ ।
‘त्यही लाहुरे जीवनका सुख–दुःख र सम्बन्धका तहहरूलाई कथामा ल्याउन मन लागेको हो’ उनी भन्छन् ।
उनले दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सनविक्रम राई लगायतको मनछुने अभिनय फिल्म हेर्नुपर्ने कारण रहेको बताए । ‘कलाकारको केमेस्ट्री, नयाँ कथा, फरक प्रस्तुति, ग्रामीण परिवेशका मनोरम दृश्य र नेपाली समाजलाई सुहाउने विषय बलिया पक्ष हुन्’ उनी भन्छन् ।
अहिले मुलुक भोटेकोशी बाढीको पीडामा छ । दुःख पर्दा आत्तिने बानी नेपालको नरहेको उनी बताउँछन् । ‘शोकलाई शक्तिमा बदल्दै हामी नयाँ गन्तव्यतर्फ लाग्नुपर्छ’ उनी भन्छन् । ‘हामीले पीडालाई बेवास्ता गरेर फिल्म प्रदर्शन गर्न खोजेका होइनौँ । अहिलेको परिस्थितिप्रति हामी पनि गम्भीर र संवेदनशील छौँ’ उनी भन्छन् ।
उनी यस फिल्मलाई केवल फिल्मको रुपमा मात्र बुझ्न नहुने बताउँछन् । ‘यो हाम्रो समाज, हाम्रो परिवार र हाम्रो विगतसँग जोडिएको कथा हो । नेपाली माटो, नेपाली परिवेश र नेपाली समाजको कथा हो’ उनी भन्छन् ।
प्रतिक्रिया 4