+
+

युवतीको अनुभूति : जब पुरुषले नियालेर हेर्छन्

जब घरबाहिर हिंडडुल गर्दा महिलालाई पुरुषले नियालेर हेर्छन्, त्यसले महिलालाई मनोवैज्ञानिक रुपमा निकै कमजोर बनाउँछ । कुनै पुरुषले घुरेर हेर्न थालेपछि महिलालाई डर, ग्लानि र असुरक्षा भाव एकसाथ पैदा हुने युवतीहरुको अनुभव छ ।

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ २२ गते १७:४५

काठमाडौं । ‘राति अबेरसम्म घरबाहिर नबस्नू, एक्लै हिंडडुल नगर्नू, छोटो लुगा नलगाउनू, गाडी चढ्दा सचेत बन्नू ।’ हुर्कंदै गरेका छोरीचेलीलाई सतर्क गराउँदै अभिभावकहरु यसै भन्छन् ।

यसले छोरीचेलीमाथि अरुको कुदृष्टि नपरोस् भन्ने आशय व्यक्त गर्छ । हुनपनि हो, जब कुनै युवती घरबाहिर निस्कन्छन् ढुक्कले हिँडडुल गर्न असहज हुन्छ । चोक–गल्लीमा खासगरी पुरुषको जत्था छिचोलेर अगाडि बढ्न कठिन हुन्छ ।

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत सुस्मिता मगर आफ्नो अनुभव सुनाउँछिन्, ‘म अलि छोटो लुगा लगाएर हिंड्ने गर्छु, त्यसैले कसैले मलाई नियालेर हेर्दा प्रायः म वास्तै गर्दिनँ । तर कहिलेकाहीं त केही पुरुषले वास्ता गर्दिन भन्दा भन्दै पनि एकदमै असहज लाग्ने गरी हेरिरहेका हुन्छन् ।’

आफू एकसुरमा हिंडिरहेको बखत कतिपय पुरुषले कर्के आँखाले वा कतिले आँखा गाडेर हेर्छन् । उनको अनुभवमा धेरैजसो पुरुषको नजर छाती वा नितम्बमा हुन्छ । ‘आक्कलझुक्कल हेर्नु त ठीकै हो । तर खराब नियतले एकोहोरो हेर्दा चाहिं पारो तात्छ,’ मगर भन्छिन्, ‘त्यस्तो बेला प्रतिकार गरिहाल्न मन लाग्छ । तर कतिपय अवस्थामा प्रतिकार गर्न पनि गाह्रो हुन्छ ।’

करिब चार वर्षअघिको कुरा हो । सुस्मिता काठमाडौंको माछापोखरीस्थित आफन्तको घरमा गएकी थिइन् । त्यस रात त्यहीं बसेर उनी बिहानै लाजिम्पाटतर्फ फर्कंदै थिइन् । परबाट एउटा पुरुष उनलाई नियालेर आइरहेको देखिन् । ‘जानीजानी ऊ मतर्फ आयो र मलाई छुन खोज्यो,’ सुस्मिता भन्छिन्, ‘तर मैले तुरुन्तै उसलाई गाली गरें ।’

मनोविद् गोपाल ढकाल भन्छन्- राम्रो कुरामा नजर जानु स्वभाविक नै हो । तर गलत नियतले महिलालाई नै असहज हुने गरी हेर्नु भनेको त्यस्तो मान्छेको मनोवृत्ति नै खराब छ भन्ने हो । यो अपराध हो, भावनात्मक दुर्व्यवहार हो ।

धेरै पुरुषको प्रवृत्ति हो, महिलालाई नियालेर हेर्ने । महिलाको सुन्दरतालाई पारख गर्न भन्दा पनि कामुकता र कुष्ठाले भरिएर पुरुषहरु महिलाको शरीरमा आँखा लगाउने गरेको मनोविद् श्रेया गिरी बताउँछिन् ।

जब घरबाहिर हिंडडुल गर्दा महिलालाई पुरुषले नियालेर हेर्छन्, त्यसले महिलालाई मनोवैज्ञानिक रुपमा निकै कमजोर बनाउने उनको बुझाइ छ । ‘किन मलाई हेरेको होला भनेर द्विविधा हुन्छ,’ गिरी भन्छिन्, ‘लुगा नमिलेको हो कि, अनौठो देखिएको छु कि भन्ने लाग्छ । अनि आफूलाई त्यस्तो हेराइबाट कसरी बचाउने भन्ने ध्याउन्न हुन्छ ।’

कुनै पुरुषले घुरेर हेर्न थालेपछि महिलालाई डर, ग्लानि र असुरक्षा भाव एकसाथ पैदा हुने उनको अनुभव छ ।

आफ्नो जीवन भोगाइ सुनाउँदै गिरी भन्छिन्, ‘कलेज पढ्दा म धेरै पटक यस्तो अवस्थाबाट गुज्रिएकी छु । बाटोमा हिंड्दा केटाहरुले नियालेर हेर्दा निकै ग्लानि अनुभव हुन्थ्यो । त्यसैले उनीहरुको हेराइबाट बच्न कानमा इयरफोन लगाएर फटाफट हिंड्ने वा फोनमा कुराकानी गर्दै हिंड्ने गर्थें ।’

उनको अनुभवमा पुरुषले महिलाको छातीमा बढी आँखा गाडेर हेर्ने गर्छन् । त्यसपछि कपडाले नढाकेको शरीरको भागमा नियाल्छन् । ‘कसैले एकोहोरो हेरिरह्यो भने म सोझै गएर किन यसरी हेरेको भनेर सोध्छु,’ गिरी भन्छिन् ।

महिलाले छोटो लुगा लगाएमा मात्र पुरुषले नजर लगाउने भन्दै कतिपयले त्यस्तो लुगा नलगाउन समेत सुझाव दिएको पाइन्छ । तर समस्या महिलाको लुगामा होइन, पुरुषको मानसिकतामा भएको गिरी बताउँछिन् ।

‘केही समयअघि काम विशेषले भारत गएकी थिएँ । त्यहाँ जाँदा मैले फुल टिसर्ट, पाइन्ट, जुत्ता र मास्क लगाएको थिएँ । त्यसरी पूरा लुगा लगाउँदा पनि केही पुरुषहरूले आँखा, छातीमा नियालिरहेका थिए,’ गिरी सुनाउँछिन्, ‘त्यसैले छोटा लुगा लगाउने महिलालाई मात्र पुरुषले नियाल्छन् भन्ने सोचाइ गलत हो ।’

कक्षा १२ मा अध्ययनरत सुस्मिता लुइटेलले पनि पटकपटक यस्तो अवस्थाको सामना गरेकी छन् । ‘हिंडडुल गर्दा प्रायः केटाहरुले घुरेर हेर्छन्,’ सुस्मिता भन्छिन्, ‘धेरैजसो त वास्तै नगरी हिंड्छु । तर कहिलेकाहीं एकदमै असजिलो लाग्छ ।’

उनी एकदिन घरबाहिर कतै जाँदै थिइन् । बाटोमा एक पुरुषले आँखा झिमिक्क नगरी अनौठो तरिकाले हेरिरह्यो । उनको हेराइ निकै असहज बनाउने खालको थियो । त्यस्तो हेराइले उनी अगाडि बढ्नै सकिनन् । ‘मलाई अनौठो पो देखिएको छ जस्तो लाग्यो,’ उनले सुनाइन्, ‘अनि दौडिंदै घर फर्किएँ । ऐनामा हेरें । मेरो कपडा फाटेको छ कि, अनुहारमा केही दलिएको छ कि जस्तो लागेको थियो ।’

कलेज पढ्न जाँदा कतिपय पुरुषले आँखा गाडेर हेर्ने गरेको अनुभव सुनाउँछिन्, मेनुका छन्त्याल । त्यसबेला उनी निकै डराउँथिन् । आफ्नो शारीरिक बनावटको कारणले यसरी हेरेको होला भन्ने लागेर उनलाई ग्लानि महसुस हुन्थ्यो ।

‘अहिले चाहिं म सहेर बस्दिनँ,’ मेनुका भन्छिन्, ‘गएर सोध्छु वा प्रतिकार गरिहाल्छु ।’

पुरुषले किन नियालेर हेर्छन् महिलालाई ?

पुरुषले किन महिलालाई नियालेर वा एकोहोरिएर हेर्छन् ? यसमा एउटा मात्र कारण छैन । विपरीत लिंगप्रतिको स्वभाविक आकर्षणले पनि पुरुषले महिलामाथि नजर लगाउने गर्छन् । महिला कस्ती छिन्, उनको रुपरंग कस्तो छ, पहिरन शैली कति सुहाएको छ भनेर महिलालाई नियाल्छन् ।

यसैगरी महिलाको सुन्दरताबाट मोहित भएर पुरुषहरुले महिलामाथि दृष्टि लगाउँछन् । ‘कुनै सुन्दर कुरामाथि दृष्टि जानु स्वभाविक मानवीय स्वभाव हो,’ मनोविद् गोपाल ढकाल भन्छन्, ‘यसलाई अन्यथा लिनु उचित हुन्न ।’ राम्रो वा नराम्रो, अति सामान्य वा असामान्य कुरामा मान्छेको ध्यान तानिन्छ । यही मानवीय प्रवृत्तिले गर्दा पुरुषले महिलालाई हेर्न सक्छ ।

तर पुरुषको हेराइमा कामुकता र कुष्ठा मिसिएको छ भने त्यो चाहिं भावनात्मक दुर्व्यवहार हुने ढकाल बताउँछन् । ‘गलत नियतले महिलालाई नै असहज हुने गरी हेर्नु भनेको त्यस्तो मान्छेको मनोवृत्ति नै खराब छ भन्ने हो,’ उनी भन्छन्, ‘यो अपराध हो, भावनात्मक दुर्व्यवहार हो ।’

कस्ता पुरुषले यसरी हेर्छन् ?

उमेर, वर्ग, स्थान, नश्लको आधारमा कस्ता पुरुषले महिलालाई घुरेर हेर्छन् भन्ने कुराको वर्गीकरण गर्न सकिंदैन । विद्यालय पढ्ने उमेरका किशोरदेखि पाको उमेरकाले पनि महिलामाथि यस्तो दृष्टि लगाउने गर्छन् । किनभने यो एक किसिमको मनोविकार हो । यस्तो मनोविकार मान्छेको चेतना, संस्कारसँग जोडिएर आउने मनोविद् ढकाल बताउँछन् ।

‘यौनमा विचलित र कुण्ठित पुरुषले महिलालाई घुरेर हेर्छन्,’ मनोविद् ढकाल भन्छन्, ‘यसरी उनीहरु आफूलाई तृप्त बनाउन खोज्छन् । तर यसले उनीहरुमा अरु बढी यौन आशक्ति बढाइदिन्छ ।’

कतिपय महिलालाई भने पुरुषले नियालेर हेरिरहेको छ कि भन्ने भय यसै पनि उब्जिने गर्छ । ‘सोसल एन्जाइटी भएकाहरुलाई यस्तो हुन्छ,’ मनोविद् ढकाल भन्छन्, ‘म राम्री देखिएको छैन वा मेरो लुगा खराब देखियो कि भन्ने शंकाले उनीहरुलाई भयभित बनाइरहेको हुन्छ ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?