+

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

२०८२ चैत  १२ गते १३:३३ २०८२ चैत १२ गते १३:३३
Shares
किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिंगमा उत्तेजना नहुने समस्या यौनसम्पर्कका लागि लिंग पर्याप्त कडा नहुने वा लामो समय टिक्न नसक्ने अवस्थालाई जनाउँछ।
  • विश्वव्यापी अध्ययनअनुसार ४० वर्ष नाघेका आधाभन्दा बढी पुरुषले कहिलेकाहीँ यो समस्या भोग्छन् र २५–४० वर्ष उमेर समूहमा पनि बढ्दै गएको छ।

लिंगमा उत्तेजना नै नहुनु ।

यो समस्या पहिले विशेषत वृद्ध उमेरमा देखिन्थ्यो, तर अहिले कम उमेरका युवाहरूमा पनि यस्तो समस्या देखिँदै आएको छ । लामो समय काममा बिताउने, मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग, अनियमित खानपान, निद्राको कमी र व्यायाम नगर्ने बानीले पुरुषहरूमा लिंग उत्तेजनासम्बन्धी समस्या बढ्दै गएको छ । हेर्दा सामान्य लागे पनि यो समस्याले दैनिकीलाई गम्भीर असर पारिरहेको हुन्छ ।

लिंग उत्तेजना नहुने समस्या भनेको के हो ?

लिंग उत्तेजना नहुने समस्या भनेको यौनसम्पर्कका लागि लिंग पर्याप्त कडा नहुने वा कडा भए पनि लामो समय टिक्न नसक्ने अवस्था हो । कहिलेकाहीँ थकान, तनाव वा मदिराको प्रभावले एक–दुई पटक यस्तो हुनु सामान्य हो । तर यदि यो समस्या पटक–पटक दोहोरिन्छ, नियमित बन्छ र यौन जीवनमा बाधा पुर्‍याउँछ भने यो समस्या हो भन्ने बुझ्नुपर्छ ।

यो अवस्थामा लिंगमा रगतको प्रवाह राम्रोसँग नहुने वा स्नायु प्रणालीमा समस्या हुने गर्छ । यसले यौन इच्छामा पनि कमी ल्याउन सक्छ ।

यो समस्या कति सामान्य हो ?

यो समस्या सामान्य छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । विश्वव्यापी अध्ययनअनुसार ४० वर्ष नाघेका आधाभन्दा बढी पुरुषले कहिलेकाहीँ यो समस्या भोग्छन् । तर अचम्मको कुरा के छ भने अहिले २५–४० वर्ष उमेर समूहमा पनि यो उल्लेखनीय रूपमा बढ्दै गएको छ । तनाव, डिजिटल लत, निष्क्रिय जीवनशैली र असन्तुलित खानपान मुख्य कारण बनेका छन् ।

नेपालमा यस्तो तथ्यांक सार्वजनिक नभए पनि यो समस्या लिएर अस्पताल र क्लिनिक धाउने युवाको संख्या बढ्दो छ । यो समस्या कुनै खास वर्ग, जाति वा ठाउँमा सीमित छैन । धनी-गरिब, शहर-गाउँ सबैलाई प्रभावित पार्न सक्छ ।

उमेर बढ्दै जाँदा जोखिम बढ्छ तर युवावस्थामा देखिनुले जीवनशैलीको गलत प्रभाव स्पष्ट देखाउँछ ।

स्वास्थ्यसँग जोडिएको मुख्य जड

यो समस्याको ठूलो हिस्सा शारीरिक कारणले हुन्छ । मधुमेहका कारण लामो समयसम्म रगतमा चिनीको मात्रा उच्च रहँदा नसा र रक्तनलीलाई क्षति पुर्‍याउँछ, जसले लिंगमा रगत पुग्न गाह्रो हुन्छ ।

उच्च रक्तचाप र मुटुरोगले रक्तनली साँघुरो बनाउँछ । मोटोपनले हार्मोन सन्तुलन बिगार्छ र रक्तप्रवाह घटाउँछ ।

टेस्टोस्टेरोनको कमीले यौन इच्छा र उत्तेजना दुवै प्रभावित गर्छ । धूम्रपानले रक्तनलीलाई कडा बनाउँछ, मदिरा र लागूपदार्थले स्नायु प्रणाली कमजोर पार्छ ।

केही औषधि (उच्च रक्तचाप वा डिप्रेसनका)ले पनि यो समस्या निम्त्याउछ । यी शारीरिक कारणहरू प्रायः एकअर्कासँग जोडिएका हुन्छन् । नियमित जाँच र जीवनशैली सुधारले यिनलाई नियन्त्रण गर्न सकिन्छ ।

मानसिक कारण

मानसिक कारणहरू पनि उत्तिकै महत्वपूर्ण छन् । निरन्तर कामको दबाब, तनाव र चिन्ताले यौन प्रतिक्रिया प्रणालीलाई नै प्रभावित गर्छ । डिप्रेसनले आत्मविश्वास घटाउँछ र यौन इच्छा हराउँछ ।

सम्बन्धमा भावनात्मक दूरी वा झगडाले पनि असर पार्छ । एकपटक समस्या आएपछि फेरि असफल हुने डरले अझ बढी तनाव सिर्जना गर्छ जसलाई ‘प्रदर्शन चिन्ता’ भनिन्छ ।
यी मानसिक कारणहरूले शारीरिक समस्या पनि निम्त्याउन सक्छन् । काउन्सेलिङ, ध्यान, योग र पार्टनरसँग खुला कुराकानीले यस्ता कारणहरू हटाउन सकिन्छ । मानसिक स्वास्थ्य बलियो भएपछि शारीरिक सुधार छिटो हुन्छ ।

समस्या कसरी चिन्ने ?

मुख्य लक्षणहरू यस प्रकार छन्

– लिंग पर्याप्त कडा नहुनु

– कडा भए पनि यौनसम्पर्कको समयसम्म नटिक्नु

– यौन इच्छा घट्नु

– यौन विचारले डर वा असुरक्षा महसुस हुनु ।

यी लक्षण एक–दुई पटक देखिनु सामान्य हो तर, बारम्बार र नियमित भएमा विशेषज्ञसँग जाँच गर्नुपर्छ ।

जीवनमा पार्ने गहिरो असर

यो समस्या यौन जीवनमा मात्र सीमित हुँदैन । आत्मविश्वास घट्छ, पुरुषत्वमाथि शंका जाग्छ । वैवाहिक सम्बन्धमा तनाव बढ्छ, पार्टनरसँग दूरी आउनसक्छ । मानसिक स्वास्थ्य बिग्रन्छ, चिन्ता, डिप्रेसन र निराशा बढ्छ । यसलाई बेवास्ता गर्नु हुँदैन, किनकि यसले समग्र जीवनको गुणस्तर घटाउँछ ।

के उपचार सम्भव छ ?

उपचार धेरै तरिकाबाट सम्भव छ । पहिले जीवनशैली सुधार गर्नु आवश्यक छ ।

त्यसका लागि नियमित व्यायाम, सन्तुलित खाना, राम्रो निद्रा र धूम्रपान–मदिरा छोड्नु उचित हुन्छ ।

चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्न सकिन्छ, जसले रगत प्रवाह सुधार गर्छ । मानसिक कारण भए काउन्सिल प्रभावकारी हुन्छ । हार्मोनको कमीमा थेरापी र गम्भीर
अवस्थामा शल्यक्रिया विकल्प छन् । सबै उपचार समयमै गर्दा सफलता दर उच्च हुन्छ ।

के गर्नु हुँदैन ?

समस्या लुकाउनु, इन्टरनेटतिर हेरेको भरमा औषधि किनेर खानु, झारफुक वा अप्रमाणित उपचारमा भर पर्नु खतरनाक हुन्छ । यस्ता गल्तीले स्वास्थ्य बिगार्न सक्छ ।

पुरुष लिंग उत्तेजना
डा. अनिलपुकार साह
लेखक
डा. अनिलपुकार साह
कन्सल्टेन्ट युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : १६१५१ एमबीबीएस (गोल्ड मेडलिस्ट), एफसीपीएस हाल वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय