+

नाम्चेमा पहिलोपटक मानसिक स्वास्थ्यसम्बन्धी निःशुल्क क्लिनिक

२०८२ चैत  ११ गते १२:५२ २०८२ चैत ११ गते १२:५२
नाम्चेमा पहिलोपटक मानसिक स्वास्थ्यसम्बन्धी निःशुल्क क्लिनिक

११ चैत, काठमाडौं । मनोचिकित्सक तथा अनुसन्धाता डा. ऋषभ कोइरालाको नेतृत्वमा उच्च हिमाली क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन तथा सेवा सुरु गरिएको छ । सोलुखुम्बुको नाम्चे बजारमा मंगलबार एकदिने निःशुल्क क्लिनिकमार्फत स्थानीय बासिन्दामा देखिएका मानसिक स्वास्थ्य समस्याबारे प्रारम्भिक तथ्य संकलन गरिएको हो ।

डा. कोइरालाका अनुसार टोली एभरेस्ट बेस क्याम्प जाने क्रममा अनुसन्धानको सम्भावना खोज्दै नाम्चेमा रोकिएको थियो ।

‘उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आफ्नै किसिमको जीवनशैली र चुनौती हुन्छ । त्यसमाथि जलवायु परिवर्तनको असर पनि यहाँ सबैभन्दा पहिले देखिन्छ,’ डा. कोइरालाले भने, ‘ यही सन्दर्भमा मानसिक स्वास्थ्य र जलवायु परिवर्तनबीचको सम्बन्धबारे अध्ययन गर्ने उद्देश्यले हामी आएका हौं ।’

कोइरालाका अनुसार उक्त कार्यक्रम ब्रेन एण्ड न्यूरोसाइन्स सेन्टर नेपाल, युनिभर्सिटी अफ अस्लोको मनोचिकित्सा विभाग र स्थानीय माउन्टेन मेडिसिन इन्स्टिच्युट सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

टोलीमा डा. कोइरालासँगै अर्का मनोचिकित्सक डा. सुरुज बहादुर थापा पनि सहभागी थिए ।

एकदिने क्लिनिकमा २३ जनाले सेवा लिएका थिए । क्लिनिकबाट प्राप्त प्रारम्भिक तथ्यांकले माइग्रेन, चिन्ता (एन्जाइटी) र (डिप्रेसन) समस्या देखिएको पाइएको डा. कोइरालाले बताए ।

‘कतिपय व्यक्तिमा अत्याधिक रक्सीको सेवन गर्ने पाइयो । तर त्यसको उपचार क्लिनिकमा मात्रै सम्भव हुँदैन, समुदाय र घरपरिवारसँग जोडिएको दीर्घकालीन प्रयास चाहिन्छ,’ कोइराललो भने ।

डा. ऋषभ कोइराला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय